2026 June 21/ 01:27: 28am

धुलिखेल/ग्लोबल एक्सन मञ्च, दिगो विकासका लागि नेपाल युवा सञ्जाल, सिविस लगायतका संस्थाहरुको संयोजनमा जर्मन सरकारको सहयोगमा स्थानीय तहमा युवामैत्री स्थानीय शासन र सामान्य टिप्पणीमा सरोकारवाला बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश रोक्काले युवाहरुका विषयमा भएका नीतिगत, कानूनी, ब्यवहारका विषयमा जानकारी गराउँदै काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय सरकारले गरेको अभ्यासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । स्थानीयबाट विश्वब्यापी परियोजना, स्वच्छ, स्वस्थ वातावरणको अधिकारका लागि युवा नेतृत्वका गतिविधिहरुको सुदृढीकरण, नेटवर्किङ्ग र क्षमता निर्णयका विषयमा स्थानीय सरकारमा भएका गतिविधिहरुका सन्र्दभमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गर्ने उत्प्रेरणा संयोजक सञ्जिव न्यौपानेले बताए । 
    युवामैत्री स्थानीय शासनको अवधारणा, स्थानीय तह सम्वनधी कानूनी र नीतिगत ब्यवस्था, स्थानीय शासन कार्यान्वयनको अवस्था, स्थानीय शासन स्थापनाको पद्धती तथा मुल्यांकन विधी, संस्थागत अभ्यास र काभ्रको अभ्यासका बारेमा कार्यक्रममा छलफल गरिएको थियो । विश्वमै सबै भन्दा धेरै युवाहरुको संख्या नेपालमा भएको जानकारी गराउँदै जिल्ला युवा समितिका अध्यक्ष प्रकाश रोक्काले जनगणना २०७८ को तथ्यांकले समेत ४२ प्रतिशत युवाहरु नेपालमा रहेको देखाएको बताए । रोक्काले जिल्लाको धुलिखेल र नमोबुद्ध नगरपालिकाले युवा परिषद् गठन गरेका छन् भने पनौतीमा ऐन बने पनि परिषद गठन भएको छैन । त्यस्तै नमोबुद्ध, धुलिखेल, पनौती, तेमालमा नमुना युवा संसद अभ्यास गरिएको छ भने नमोबुद्ध, धुलिखेल, पनौती र तेमालमा वडा स्तरीय युवा क्लवहरु गठन तथा परिचालन भएका छन् । अन्य स्थानीय तहमा समेत युवाहरुका सन्र्दभमा भएका ब्यवस्था, बजेट, नीतिगत तथा कानूनी विषयमा अन्र्तक्रिया गर्ने उत्प्रेरणा सयोजक न्यौपानेले बताए । 
    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले जिल्लाका सबै पालिकाहरुमा युवाहरुका सन्र्दभमा नीतिगत र कानूनी ब्यवस्था गर्न सहजिकरण गर्ने बताए । जिल्ला समन्वय समितिले सार्वजनिक गरेको कार्यक्रममा युवा लक्षित कार्यक्रम समावेश गरेको बताए । कार्यक्रममा युवा परिषद धुलिखेलका उपाध्यक्ष सिवी लामा, पुर्व उपाध्यक्ष नमोबुद्ध नगरपालिकाका अशोक खनाल, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ लगायतले युवाको सहभागिताका बारेमा धारणा राखेका थिए ।