धुलिखेल/नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता नारायणकाजी श्रेष्ठले नयाँ नेपाल निर्माणको अभियानमा अझै एउटा फलामे ढोका चिर्न बाँकी रहेको बताएका छन् ।
‘सामन्तबाद, निरकुंशता सकिएर शान्ति प्रकृयाको महत्वपूर्ण काम सम्पन्न भए पनि मुलुक सम्वृद्धका लागि फलामे ढोका चिर्नु छ’–उनले भने ।
नेकपा धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले अब भाषणमा भन्दा पनि ब्यवहारमा नयाँ नेपाल निर्माण गर्ने बेला भएको बताए । ‘यतिखेर सरकारलाई काम गर्न नदिने र पार्टी एकिकरणलाई भत्काउने प्रयास भईरहेको छ’–प्रवक्ता श्रेष्ठले भने–‘राजनीतिक स्थिरता कायम भयो विकास र सम्वृद्धको विकल्प छैन ।’ भ्रष्टाचार चिर्ने फलामे ढोका नफुटाउँदा समेत मुलुकले गति लिन नसक्ने बताउँदै प्रवक्ता श्रेष्ठले अझै पनि कामका लागि भनसुन, चाकडी र घुस खुवाउने पर्ने प्रचलन रहेकाले त्यसको अन्त्य नभई मुलुक नयाँ गतिमा अगाडी बढ्न नसक्ने बताए ।
‘भ्रष्टाचार र कुशासनको महारोगलाई छिचोल्न सक्नु पर्छ’–उनले भने–‘भ्रष्टाचारको कुन पार्टी, जात र लिङ्ग हुँदैन ।’ भ्रष्टाचार विरुद्ध अभियान छेड्न सरकार र पार्टी लाग्नु पर्ने बताउँदै उनले सरकारलाई असफल हुने छुट नभएको स्पष्ट पारे । ‘अहिले प्रधानमन्त्री र मन्त्रीका ब्यक्तिगत असफलतासँग मुलुक जोडिएको छै्रन’–प्रवक्ता श्रेष्ठले भने–‘आर्थिक क्रान्तिको महाअभियान मार्फत मुलुकले सम्वृद्ध प्राप्त गर्ने छ । अपेक्षा धेरै छन तर पनि सरकारको मुल्यांकन गर्ने समय भई सकेको छैन ।’ सरकारले विशेषगरी तीनवटा क्षेत्रमा सफलता हासिल गरिसकेको बताउँदै श्रेष्ठले परराष्ट्र नीतिमा स्वतन्त्रता, संविधानले ब्यवस्था गरेका अधिकारहरुको मौलिक कानुन निर्माण र संघ, प्रदेश र स्थानीय सरकारको कानुन निर्माणमा सरकारले सफलता प्राप्त गरेको बताए ।
पार्टी र सरकारको ध्यान विकास र सम्वृद्ध तर्फ रहेकाले संघियतासँगै भ्रष्टाचारको समेत विकेन्द्रिकरण हुने तर्फ सचेत गराउँदै श्रेष्ठले स्थानीय, प्रदेश र केन्द्र सरकारले ह्वात्तै जनताको काम अगाडी बढाउन पार्टीका सबै संगठनहरुको एकता र कृयाशिलता तिहार पछि बस्ने स्थायी कमिटीको बैठक पछि हुने बताए । सांगठनिक एकिकरण, सरकारलाई सफल बनाउने अभियान र पार्टीलाई विधी विधान र पद्दतीबाट संचालन गर्न पार्टीको बैचारिक बहस मार्फत महाधिबेशन र नयाँ नेतृत्व सहितको पार्टी निर्माण अबको प्रमुख कार्यभार रहेको बताए । ‘एकता समयमै सम्पन्न नहुँदा पार्टी भित्र असन्तोष र कार्यकर्तामा निराशा पैदा भएको छ’–उनले भने–‘समयमै हामी उक्त कार्य सम्पन्न गर्ने तर्फ अगाडी बढेका छौं । ढिला हुनु र भएकोमा त्यसको दोषी हामी आफै हौ ।’
नगर कमिटीको कार्यक्रममा नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले स्थानीय सरकारहरुले कार्य गरिरहे पनि कतिपय अवस्थामा कानुन र कर्मचारी अभावका कारण सोचे जस्तो गतिविधि हुन नसकेको बताए । पार्टी जिल्ला कमिटीमा समेत रहेका ब्याञ्जुले तत्काल पार्टी एकताको स्पिरिडलाई अगाडी बढाउन अनुरोध गरे । रामगोपाल चौलागाई, निराजन जंगम लगायतले पार्टी कार्यकर्ता र सरकार बीचको सम्वन्धलाई अगाडी बढाउनु पर्ने बताए ।









