धुलिखेल/जिल्लाकै नमुना र प्रदेशमै उत्कृष्ट रहेको धुलिखेल नगरपालिका २ रविओपीको सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १८ औ सभा प्रदेश नम्वर ३ का योजना तथा आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अध्यक्ष चर्तृभुज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री कैलाश ढुङ्गेलले दुग्ध उत्पादन गरी गुणस्तरीय दुग्ध विक्री गर्न कहलिएको सेतिदेवीले आफ्नै उद्योग स्थापना गरी प्याकेट दुग्ध विक्री गर्न तथा अन्य परिकारहरुको उत्पादन गरी विक्री गर्न सुझाव दिए । प्रदेश सरकारले उक्त कार्यका लागि सहकारी मार्फत कृषकहरुलाई सहयोग पु¥याउने मन्त्री ढुङ्गेलले बताए । कार्यक्रममा विशिष्ठ अतिथी धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई कृषि तथा पर्यटनका हिसावले सम्वृद्ध बनाउन पशुपालन क्षेत्रमा विशेष सहयोग गर्ने बताए । गत वर्ष ६ लाख ५० हजार अनुदान उपलब्ध गराएको नगरपालिकाले चालु वर्षमा पनि सहयोग पु¥याउने नगर प्रमुख ब्याञ्जुले बताए । गुणस्तरीय उत्पादन र गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन अनुृदान उपलब्ध गराएको नगरपालिकाबाट प्राप्त रकमले सहकारीले पदालीमा १५ लाख रुपैयामा दुग्ध चिस्यान भ्याट निर्माण गरेको छ । सोहि अवसरमा प्रमुख अतिथी मन्त्री ढुंगेल र विशिष्ठ अतिथी नगर प्रमुख ब्याञ्जुले उक्त भ्याटको उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला भेटेनरी अस्पतालका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. नारायणबहादुर श्रेष्ठ, केन्द्रिय दुग्ध उत्पादक सहकारी सघ लिमिटेडका सचिव एवं संस्थाका सल्लाहकार संयोजक टिकाबल्धव सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, जिल्ला दुग्ध सहकारी संघका सदस्य रघुनाथ गौतम, साना किसान कृषि सहकारीका अध्यक्ष देवप्रसाद कोईराला, वडा अध्यक्ष धुलिखेल नगरपालिका वडा नम्वर १ का रमेश घोरसाईने, वडा नम्वर २ का अर्जुन न्यौपाने लगायतले मन्तब्य राखेका थिए । सभामा सहायक प्रवन्धक दिपक ढोडारी स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष चर्तुभुज तिमल्सिनाले संस्थाको बार्षिक योजना तथा गतिविधि, सचिव सुनिता सापकोटाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रवन्धक हरिहर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा प्रतिवेदन लेखा संयोजक कृष्णबहादुर ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संचालक निरन्जन गेलालले संचालन गरेको कार्यक्रममा उत्कृष्ट कृषक सितामाया तामाङलाई सम्मान गरिएको थियो । उनले वर्षभरीमा १४ हजार ८ लिटर दुग्ध विक्री गरेकी थिईन् । त्यस्तै ७० वर्ष नाघेका जेष्ठ शेयर सदस्यहरु ८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जगन्नाथ न्यौपाने, लोकबहादुर धिताल, गंगामाया घोरसाईने, इन्द्रप्रसाद घोरसाईने, बालकृष्ण गौतम, भुपतिप्रसाद गौतम, तिलरुपा चौलागाई, लक्ष्मी पराजुली रहेका छन् । संस्थाले हरेक वर्ष शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्टलाई सम्मान गर्ने गरेको छ । सम्मानित हुनेहरुमा सुदिप गेलाल, समिक्षा तिमल्सिना र स्वस्ती दंगाल रहेका छन् ।
सहकारीको शेयर पुँजी १ करोड १५ लाख ८६ हजार ४ सय, बचत ५ करोड ४४ लाख ४२ हजार ४९ रुपैया रहेको छ भने ऋण लगानी ६ करोड २७ लाख ६ हजार ५ सय ५२ रुपैया रहेको छ । संस्थाले खुद मुनाफा ७ लाख ५० हजार २ सय २९ गरेको छ । कृषकहरुबाट ७ करोड ५० लाख ८ हजार १ सय ९२ रुपैयाको दुग्ध खरिद गरी ७ करोड ५८ लाख ५२ हजार ९ सय ५० को विक्री गरेको छ । संस्थाले प्रमुख अतिथी मन्त्री ढुंगेल, नगर प्रमुख ब्याञ्जु र जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख नारायणबहादुर श्रेष्ठलाई सम्मान गरेको थियो ।









