2026 August 17/ 07:48: 28am

धुलिखेल÷नेपालको पहिलो दक्षिण एशियामा दोश्रो स्वस्थ शहर घोषणा भएको धुलिखेल नगरपालिका आर्थिक वर्ष २०८२/०८३ मा पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा भएको छ । सोहि अवसरमा आर्थिक वर्ष २०८३/०८४ को साउन १ गते देखि शुरु गर्ने गरी वातानुकुलित खोप केन्द्र शुभारम्भ गरिएको छ । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख एवं खोप समन्वय समितिका संयोजक दिपकुमार गौतमले धुलिखेल नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्दै कार्यवाहक नगर प्रमुख निराजन जंगमलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रमाणपत्र प्रदानसँगै गौतम, जंगम लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले धुलिखेल नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुले प्रदान गरिरहेका सेवा, खोप केन्द्र, खोप लगाउने बालबालिकाहरुको अवस्था तथा स्वस्थ शहरका बारेमा भएका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । 
    स्वास्थ्य शाखाका सरोज थापाले संचालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, जनस्वास्थ्य कार्यालयका अधिकृत अर्जुन खड्का, नगरपालिका सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य लगायतले धुलिखेल नगरपालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवाका बारेमा धारणा राखेका थिए । बक्ताहरुले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर बनाउन नगर प्रमुख अशोक ब्याञ्जुले खेलेको भूमिकाको स्मरण गरेका थिए ।