2026 June 06/ 04:48: 18am

    बनेपा/कैलालीको टिकापुरकी उर्मिला विश्वकर्मा जन्मिँदै दुवै खुट्टा बाङ्गो लिएर संसारमा आइन् । बाल्यकालदेखि नै उनले हिँड्डुलमा कठिनाई भोग्दै आइरहेकी थिइन् । परिवारलाई पनि लामो समयसम्म यस्तो अवस्थाको उपचार सम्भव हुन्छ भन्ने जानकारी थिएन । जब अभिभावकले उपचार सम्भव भएको थाहा पाए, उनीहरू उर्मिलालाई बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रमा लिएर आए ।
    तर अस्पताल आउँदै गर्दा उर्मिलाको मनमा एउटा ठूलो चिन्ता थियो–उपचार गर्ने कि पढाईलाई निरन्तरता दिने ? उपचारका लागि केही महिना अस्पतालमै बस्नुपर्ने चिकित्सकको सुझावपछि उनी झन् चिन्तित भइन् । विद्यालय छुट्ने हो कि भन्ने पीडाले उनलाई सताइरहेको थियो । तर त्यो चिन्ता धेरै दिन टिकेन । अस्पतालले सञ्चालन गरेको विद्यालयले उनको जीवनमा नयाँ आशा जगायो । अहिले उर्मिला उपचार पनि गरिरहेकी छन् र नियमित रूपमा पढाई पनि । उनका हातमा किताब छन्, खुट्टामा सहयोगी सामग्री छन् र आँखामा भविष्यका सपना । उर्मिलाजस्तै ३० भन्दा बढी बालबालिका अहिले अस्पतालभित्र सञ्चालित विद्यालयमा अध्ययन गरिरहेका छन् । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि यहाँ पढाइको व्यवस्था गरिएको छ । तीनजना शिक्षकले मल्टिग्रेड शिक्षण विधिमार्फत नियमित कक्षा सञ्चालन गरिरहेका छन् । विद्यार्थीको आवश्यकता र उपचार अवधिअनुसार पढाईको व्यवस्था मिलाइएको छ । कोही एक हप्ता अस्पताल बस्छन्, कोही एक महिना, त कोही नौ महिनासम्म उपचारका क्रममा यही विद्यालयमा अध्ययन गर्छन् । कतिपय विद्यार्थीले आफ्नै विद्यालयसँग समन्वय गरी यहीँबाट वार्षिक परीक्षा समेत दिएका छन् ।
    विद्यालयकी शिक्षिका नारायणी अधिकारीका अनुसार अस्पतालको उद्देश्य उपचार मात्र उपलब्ध गराउनु होइन, उपचारका कारण बालबालिकाको शिक्षा अवरुद्ध हुन नदिनु पनि हो । ‘उपचारका लागि आएका बालबालिकाको पढ्ने बानी नछुटोस्, उनीहरू विद्यालय जाने अवसरबाट वञ्चित नहून् भन्ने सोचका साथ विद्यालय सञ्चालन गरिएको हो’–उनले भनिन्–‘यहाँ उपचार र शिक्षालाई सँगसँगै अगाडि बढाइएको छ ।’ सन् २०१३ मा अस्पतालका संस्थापक डा. अशोककुमार बास्कोटा, डा. विवेक बास्कोटा लगायतको टोलीले उपचारसँगै शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने अवधारणाका साथ विद्यालय स्थापना गरेका थिए । अपाङ्गतामैत्री कक्षाकोठा, आवश्यक शैक्षिक सामग्री र विशेष शिक्षण विधिका माध्यमबाट बालबालिकालाई सहज वातावरणमा पढाइ भइरहेको छ । अस्पतालका अनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बालबालिकाले उपचारसँगै शिक्षाको अवसर प्राप्त गर्दै आएका छन् । भूकम्प, कोरोना महामारी तथा अन्य विपत्तिका समयमा समेत विद्यालय सञ्चालनलाई निरन्तरता दिइएको थियो ।
    उदयपुरको कटारीकी रजिना श्रेष्ठ अस्पतालको यो प्रयासबाट निकै प्रभावित छिन् । उनी भन्छिन् – ‘यदि यहाँ विद्यालय नभएको भए मेरो पढाई धेरै पछाडि पथ्र्यो । कि अर्को वर्ष दोहोर्याएर पढ्नुपथ्र्यो, कि छुटेका पाठ सम्हाल्न धेरै संघर्ष गर्नुपथ्र्यो । अस्पतालले उपचारसँगै पढाईको अवसर दिएकोमा निकै खुसी छु ।’ पछिल्लो १३ वर्षमा यस विद्यालयबाट ९ हजार ३ सय ९० बालबालिकाले शिक्षा प्राप्त गरिसकेका छन् । तीमध्ये ४ हजार १ सय ५० छात्रा र ५ हजार २ सय ४० छात्र रहेका छन् । विद्यालयमा दृष्टिविहीन बालक कविराज नेपालीजस्ता विद्यार्थी पनि अध्ययनरत छन् । साना कक्षाका बालबालिकाका लागि चित्रकला, सङ्गीतमूलक सिकाइ तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरिन्छ । अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । शिक्षक मानबहादुर राईका अनुसार बालबालिकालाई सहज रूपमा सिक्न सक्ने वातावरण निर्माण गरिएको छ । विद्यालयमा वादविवाद, निबन्ध लेखन, हाजिरीजवाफ र अन्य शैक्षिक प्रतियोगितासमेत सञ्चालन गरिन्छ । 
    विद्यालयले विद्यार्थी अध्ययनरत विद्यालयका शिक्षकहरूसँग नियमित समन्वय गरेर पाठ्यक्रम र पाठ्यपुस्तकअनुसार अध्यापन गरिरहेको छ । बिहान १० बजेदेखि सुरु हुने कक्षा दिउँसो ४ बजेसम्म सञ्चालन हुन्छ । बीचमा खाजा, खाना, थेरापी, ड्रेसिङ र अन्य उपचारका कार्यक्रम पनि समायोजन गरिएका हुन्छन् । उपचार पाएर बालबालिका खुसी त छन् नै, तर त्योभन्दा बढी खुसी उनीहरू पढाइ नछुटेकोमा छन् । अभिभावकहरू पनि आफ्ना छोराछोरीले उपचारसँगै शिक्षा पाएकोमा अस्पतालप्रति कृतज्ञ छन् ।
    धेरै अस्पतालहरू उपचारमा मात्र सीमित छन्, बनेपाको यो अस्पतालले एउटा सन्देश दिएको छ, बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै अधिकार हुन्, र दुवैलाई सँगसँगै सुनिश्चित गर्न सकिन्छ । अस्पतालको बेडमा रहेका विरामीहरुका लागि पनि त्यहि पुगेर पढ्न र लेख्न सिकाउने गरिएको शिक्षिका नारायणी अधिकारीले बताईन् । कक्षा कोठामा सहयोगी सामाग्री मार्फत उपस्थित हुन नसक्ने बालबालिकाहरुलाई उनिहरु उपचारार्थ बेडमा नै पुगेर समेत पढाउने गरिएको छ ।