2026 June 06/ 08:40: 06am

विकास तिमल्सिना
मेलम्ची, सिन्धुपाल्चोक

    राजधानी काठमाडौं पुग्न जति समय लाग्छ, मेलम्ची नगरपालिकाको केन्द्र पुग्न पनि उति नै समय लाग्ने दुर्गम स्थानमा अवस्थित छ थानाभन्ज्याङ्ग आधारभूत विद्यालय । सीमित स्रोत–साधन र भौगोलिक कठिनाइका बीच पनि विद्यालयले गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू शतप्रतिशत तामाङ समुदायका छन्, जहाँ एमजीएमएल (मल्टिग्रेड मल्टिलेभल) शिक्षण पद्धतिले उल्लेखनीय परिवर्तन ल्याएको छ ।
    विद्यालयकी एमजीएमएल शिक्षिका तथा स्थानीय अभिभावक समेत रहेकी फुलमाया तामाङ समुदाय र विद्यालयबीचको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण सेतु बनेकी छन् । उनका अनुसार सुरुवाती चरणमा अभिभावकहरू विद्यालय आउन, शिक्षकसँग संवाद गर्न वा बालबालिकाको शिक्षाबारे चासो व्यक्त गर्न समेत संकोच मान्थे । चेतनाको अभाव र सामाजिक पछौटेपनका कारण विद्यालयसँगको सम्बन्ध कमजोर थियो । ‘हामीले भाषा र संस्कार पनि सिकाइरहेका छौं । शिक्षकलाई सहजीकरण गर्न अभिभावकहरूले निकै सहयोग गर्नुभएको छ’– शिक्षिका फुलमाया तामाङले भनिन्– ‘एमजीएमएल कार्यक्रम सुरु भएपछि अभिभावकको सहभागिता बढ्यो, आमा समूह गठन भयो र विद्यालयप्रति अपनत्व विकास हुन थाल्यो ।’
    विद्यालयले अभिभावकहरूलाई आय–आर्जनसँग जोड्न बीउ–विजन वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गरेको छ । अभिभावकहरूले उत्पादन गरेको तरकारी विद्यालयले नै खरिद गरी दिवा खाजामा प्रयोग गर्ने गरिएको छ । यसले अभिभावकको सक्रियता बढाउनुका साथै विद्यालय र समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाएको छ । यही सक्रिय सहभागिता र एमजीएमएल पद्दतिको प्रभावका कारण विद्यालयले २०८२ सालको कक्षा ८ को नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजासहित उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल भयो । विद्यालयमा स्थानीय स्रोत–साधनको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । अभिभावकहरूले घरमै बुनेका मकैको खोस्टाको चकटी, साना डोका लगायत सामग्री विद्यालयमा पठाउन थालेपछि विद्यार्थी–केन्द्रित शैक्षिक सामग्री पर्याप्त मात्रामा उपलब्ध हुन थाले । ती सामग्रीलाई व्यवस्थापन, अभिलेखीकरण र संस्थागत विकासमा शिक्षिका आस्था नेपाल र फुलमाया तामाङको महत्वपूर्ण भूमिका रहेको विद्यालयले जनाएको छ । 
    विद्यालय प्रशासनले पनि सिकाई विधिलाई प्राथमिकताका साथ कार्यान्वयन गरेपछि एमजीएमएल विद्यालयको गुणस्तर सुधारको प्रमुख आधार बनेको छ । यही प्रभावकारी अभ्यासलाई अध्ययन गर्न मेलम्ची नगरपालिका र धुलिखेल नगरपालिका बीचको समन्वयमा शैक्षिक सशक्तिकरण केन्द्रले शैक्षिक अवलोकन भ्रमण आयोजना गरेको थियो । धुलिखेल नगरपालिकाका विभिन्न विद्यालयका ३० जना शिक्षक सहभागी उक्त भ्रमणको उद्देश्य एमजीएमएल पद्धतिको सफल अभ्यास, बालमैत्री शिक्षण प्रणाली र स्थानीय स्रोत–साधनको उपयोगबारे अध्ययन गर्नु थियो । शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्काले एमजीएमएल पद्दतिले विद्यालयमा ल्याएको परिवर्तनबारे जानकारी दिँदै कक्षा कोठा व्यवस्थापन, शिक्षक क्षमता अभिवृद्धि र बालकेन्द्रित शिक्षणका कारण विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । उनका अनुसार विद्यालयले सिकाईलाई व्यवहारिक र जीवनोपयोगी बनाउने प्रयास निरन्तर गरिरहेको छ ।
    विद्यालयका शिक्षकद्वय आस्था नेपाल र फुलमाया तामाङले स्थानीय स्रोत–साधनको प्रयोगमार्फत कक्षा शिक्षणलाई प्रभावकारी बनाइएको, शिक्षक–अभिभावक सम्बन्ध बलियो भएको तथा त्यसको सकारात्मक प्रभाव विद्यार्थीको आत्मविश्वासमा देखिएको बताए । विद्यालयका शिक्षक शंकर अधिकारीका अनुसार एमजीएमएल पद्दतिले बालबालिकाको सिकाई उपलब्धि, व्यवहारिक क्षमता र आत्मविश्वासमा उल्लेखनीय सुधार ल्याएको छ । नियमित अभिभावक समन्वयले विद्यार्थीको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । अवलोकन भ्रमणका क्रममा सहभागी शिक्षकहरूले कक्षा अवलोकनसँगै अन्तरक्रियात्मक छलफल गरेका थिए । धुलिखेलबाट पुगेका शिक्षकहरू सुभद्रा चौलागाई, टिकानारायण श्रेष्ठ, कुमारी लामा, गंगालक्ष्मी गोच्छे, मिनाकुमारी चौलागाई लगायतले विद्यालयका असल अभ्यास आफ्ना विद्यालयमा समेत लागू गर्ने प्रतिबद्धता जनाए ।
    धुलिखेल नगरपालिकाका अधिकृत भोजकुमार ठकुरीले विद्यालयमा स्थानीय स्रोत–सामग्री प्रयोग गरी निर्माण गरिएका शैक्षिक सामग्री अत्यन्त प्रभावकारी रहेको बताए । उनले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र सिकाई शैलीबाट आफू प्रभावित भएको उल्लेख गर्दै धुलिखेलका विद्यालयहरूले यहाँबाट धेरै कुरा सिक्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले एमजीएमएल पद्दति पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिएको शिक्षण प्रणाली भएको बताए । विद्यालयले अभिभावकलाई सक्रिय बनाउन बीउ–विजन उपलब्ध गराउने तथा उत्पादन गरिएको तरकारी खरिद गरिदिने अभ्यासले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध अझ बलियो बनेको उनको भनाइ थियो । 
    कार्यक्रममा धुलिखेल नगरपालिकाका आलेप शाखा प्रमुख तारानाथ बञ्जारा, शैक्षिक सशक्तिकरण केन्द्रका अध्यक्ष उमेश कार्की, राजेन्द्र कर्माचार्य र नारायण न्यौपाने लगायतको सहभागिता रहेको थियो । सीमित स्रोत–साधनका बीच पनि प्रभावकारी नेतृत्व, शिक्षकको सक्रियता, अभिभावकको सहभागिता र बालकेन्द्रित शिक्षण पद्धतिको माध्यमबाट उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण थानाभन्ज्याङ्ग आधारभूत विद्यालयले प्रस्तुत गरेको छ ।