बनेपा÷नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारी नेकपाको एकता पछिको जिल्ला कमिटीमा रहने पदाधिकारीहरुको नामावली घोषणा गरिएको छ ।
पुर्व माआवादीले प्राप्त गरेको जिल्लामा सचिव पुर्व नेकपा एमालेको रहने र पुर्व एमालेले अध्यक्ष प्राप्त गरेको जिल्लामा नेकपा माओवादीका अध्यक्ष सचिव रहने ब्यवस्था अनुसार जिल्ला कमिटीको घोषणा गरिएको हो । जिल्लामा लामो समय पार्टी राजनीतिमा सक्रिय पुर्व माओवादीको तर्फबाट अध्यक्षमा रुकु चौलागाई ‘रचना’ ले अध्यक्षको जिम्मेवारी प्राप्त गरेकी छिन् भने नेकपा एमालेका अध्यक्ष टोकबहादुर वाईवाले सचिवको जिम्मेवारी प्राप्त गरेका छन् । नगरपालिकाका प्रमुख समेत रहेका वाईवा नेकपा एमालेमा रहँदा दुई पटक सचिव भईसकेका थिए । अध्यक्ष र सचिवसँगै यस अघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिस गरिएका जिल्ला सदस्यहरु स्वत जिल्ला कमिटी सदस्य भएका छन् । अब बस्ने जिल्ला कमिटीको बैठकबाट १० प्रतिशत नेताहरुलाई जिल्ला कमिटीमा मनोनित गर्न सक्ने ब्यवस्था छ । पार्टीमा पदाधिकारीहरुको रुपमा दुबै पार्टीमा पदाधिकारी रहेका ब्यक्तिहरु बढीमा ७ जनासम्म रहने गरी गठन हुनेछ । जिल्ला कमिटीले क्षेत्र, नगर, गाउँ तथा वडा कमिटीहरु गठन गर्नेछ र एक वर्ष भित्रमा अधिबेशन सम्पन्न गरिसक्नु पर्नेछ । एकता पछि कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।
नेकपाको तर्फबाट जिल्लामा तीनवटा स्थानीय सरकार बाहेक १० वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा विजय हासिल गरेको छ । प्रदेश तहका चारवटै क्षेत्र र संघिय तहका दुई वटै क्षेत्रमा विजय हासिल गरेको छ । आगामी निर्वाचनमा शतप्रतिशत स्थानमा विजय हासिल गर्ने उदेश्यले जनप्रतिनिधि र पार्टीकामलाई जोड्ने गरी कार्यक्रम लैजाने अध्यक्ष रुकु चौलागाईले बताईन् । ‘सबै नेता कार्यकर्ताहरुलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्नेछ’–चौलागाईले भनिन–‘सबै नेता कार्यकर्तालाई समान जिम्मेवारी सम्भव छैन, पार्टीले क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्ने तयारी गरेको छ ।’ छिट्टै सबै कमिटीहरु, पार्टीका विभाग तथा जनवर्गिय संगठनहरु निर्माण हुने अध्यक्ष चौलागाईले बताईन् ।
चौलागाई को हुन् ?
४५ बर्षिय रुकु चौलागाई रचनाको स्थायी घर काभ्रेको कोशिपारी हो । प्रभा माविबाट अध्ययन शुरु गरेकी चौलागाई २०३६ सालको विद्यार्थी आन्दोलनमा बहुदल तर्फ हात उठाउँदा शिक्षकहरुको कारवाहीमा परेकी थिईन् । बसाई सराई पाँचखाल आए पछि सर्वमंगलामा भर्ना भएकी चौलगाई विद्यार्थी संगठनमा रहेर काम गरिन् । २०४७ सालमा पार्टीको जिल्ला अधिबेशनमा सहभागि भएकी चौलगाई भातृ संगठन अनेमसंघको संस्थापक अध्यक्ष भईन् । एकता केन्द्र र मसाल एकिकरण पछि उनले सक्रिय राजनीतिमा आफुलाई उभ्याएकी थिईन् ।
ल क्याम्पसमा भर्ना भई अध्ययन गर्दा विद्यार्थी राजनीतिमा सक्रिय उनी गाउँ फर्किएर शिक्षक भईन् । शिक्षक रहँदै गर्दा पार्टीको भातृ संगठन शिक्षक संगठनमा २०५०÷०५१ मा आवद्ध भईन् । २०५२ सालमा पार्टीले जनयुद्ध घोषणा गरेपछि शिक्षक जागिर छाडेर उनि पुर्ण रुपमा भूमिगत भएर काम गरिन् । जिल्ला सदस्य हुँदै २०५५–२०५६ मा पार्टीको काभ्रे रामेछाप सेक्रेटरी भईन् । कम्युनिष्ट पार्टीमा सेक्रेटरी जिल्लाको कार्यकारी पद थियो । भूमिगत समयमा महिलाले नेतृत्व गरेको जिल्ला काभ्रे र रामेछाप मात्रै थियो । देशभर उनी मात्रै महिला सेक्रेटरी थिईन् । पछि बर्दियामा महिला सेक्रेटरीको जिम्मेवारीमा अर्कि नेतृ थपिएकी थिईन् । २०६० सालमा जेल परिन् । साढे २ वर्षको जेलको कठोर जीवन विताएर शान्ति प्रकृया शुरु भए सँगै उनि ललितपुरमा रहेर काम गरिन् । पछि जिल्ला फर्किएर पार्टीका जिम्मेवारीमा रहिन् । २०६९ सालमा पार्टी फुट्यो । उनी बैद्य समुहमा सक्रिय भईन् । जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य र जिल्ला इन्चार्ज भईन् । २०७३ सालमा पार्टी एकिकरण पछि उनी पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्किईन । २०७३ देखि निरन्तर उनी नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक पदमा रहेर काम गरिरहेकी छन् । निरन्तर पार्टीको काम र जिम्मेवारीमा रहेर उनले चार दशक समय राजनीतिमै खर्चिएकी छिन् ।









