2026 June 06/ 10:51: 07am

    धुलिखेल/प्रधानमन्त्री ओलीले भुकम्प पछिको पुर्नर्निमाणले गति लिएको बताएका छन् । भुकम्प गएको तीन वर्ष पछि पुर्नर्निमाणले गति लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।
    एशियाली विकास बैक मार्फत निर्माण गरिएको धुलिखेलको संञ्जिवनी नमुना माध्यमिक विद्यालय र दुईवटा सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा गति लिएको पुर्ननिर्माणमा केहि सुस्तता आए पनि पुनः त्यसले गति लिएको बताए । ‘पुर्नर्निमाणले अझै गति लिनेछ’–प्रधानमन्त्री ओलीले भने –‘रानीपोखरी, धरहरा, विद्यालय तथा अन्य संरचनाहरुको निर्माण कार्य तिब्र भईरहेको छ ।’ केहि निर्माण कार्य समय अगावै हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अबका दुई वर्षमा पुर्नर्निमाणका सबै कार्य सम्पन्न हुने बताए । नेपाललाई डिजिटल, शिक्षित नेपाल, विद्धानहरु भएको नेपाल बनाउनु पर्नेमा जोड दिदै नेपालको परिचय निरक्षर, भोका नाङ्गा, बेरोजगार भएको मुलुकको रुपमा चिनाउन नहुनेमा जोड दिए ।
    गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थी सबैले बानी सुधार्न पर्ने बताउँदै प्रधानमन्त्री ओलीले रोजगारमूखी, अवसर सिर्जना गर्न सक्ने, आफ्नै खुट्टामा उभिन सक्ने शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । भूकम्प आपतकालिन सहायता आयोजनामा २०७४ भाद्र १२ गते निर्माण शुरु भएको उक्त भवनको निर्माण कार्य २०७५ पौष १२ मा सम्पन्न भएको थियो । ९ करोड ९८ लाख १८ हजार ५ सय १७ रुपैया भ्याट बाहेकको सम्झौता रकममा नेपाल सरकारले १२ प्रतिशत र बैदेशिक ऋण ८८ प्रतिशत रहेको छ । भ्याट सहित ११ करोड रुपैया उक्त विद्यालय निर्माणमा खर्च भएको छ । उक्त रकमबाट ७ सय २७ जना बालबालिकाहरुका लागि आधुनिक पुर्वाधार तयार भएको छ । कक्षा कोठा, छात्रा छात्रा आबास, इसिडी, म्युजिक, चित्रकला, कप्युटर ल्याव, शिक्षक कोठा, पुस्तकाल, छात्र तथा छात्रा शौचालय, गार्ड हाउस, स्टोर, किचेन, विद्यालयका लागि आवश्यक फर्निचर, पानी शुद्धिकरण सहितको पुर्वाधार, सोलार ब्याक अप, गेट सहित निर्माण गरिएको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओली सञ्जिवनी नमुना माध्यमिक विद्यालयको कक्षा कोठामा पुगि बालबालिका बस्ने बेञ्चमा बसेका थिए । नव निर्मित विद्यालय भवनको उद्घाटन पछि कक्षा कोठा अवलोकन गर्ने क्रममा प्रधानमन्त्री ओली कक्षा ९ मा प्रवेश गरी बालबालिकाहरु बस्ने बेञ्चमा बसे । प्रधानमन्त्रीसँगै राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु पनि सँगै बसेका थिए । ‘बालबालिका मैत्री विद्यालयका संरचना निर्माण भएका छन् कि छैनन ? त्यसको जानकारी लिन आफु बसेर हेरें’–प्रधानमन्त्री ओलीले भने –‘एशियाली विकास बैकको सहयोगमा निर्माण भएको विद्यालयमा भौतिक सरंचना जस्तै शिक्षा पनि गुणस्तरीय बनाउनुस् ।’ बालमैत्री भवन तथा कक्षाकोठाहरुको निर्माण भएकोमा प्रधानमन्त्री ओलीले खुशी ब्यक्त गरे । ‘म यसै कार्यक्रम मार्फत सबै दाताहरुलाई नेपालमा भएको विनाशकारी भुकम्प पछिको पुर्नर्निमाणमा सहयोग गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु’–प्रधानमन्त्री ओलीले भने । विद्यालयमा निमार्ण भएका तीनवटा १२÷१२ कोठे तीन तल्ले भवनको हस्तान्तरण गर्दै संञ्जिवनी विद्यालयका इतिहासलाई नर्विसन र देशभर गुणस्तरीय शिक्षा प्रभाव गर्न नमुना विद्यालयको रुपमा चिनिन सुझाव दिए । 
    कार्यक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका कार्यकारी निर्देशक शुशिल ज्ञवाली, एशियाली विकास बैकका कन्ट्रि डाईरेक्टर मुख्तार खामुद खानोव, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठ लगायतले विद्यालयको इतिहास तथा गुणस्तरका लागि भईरहेका प्रयासका बारेमा मन्तब्य राख्नु भएको थियो । सोहि अवसरमा बेथान्चोक गाउँपालिकामा निर्माण भएको सडक तथा भक्तपुर जिल्लामा निर्माण भईरहेको सडक जिल्लामा हस्तान्तरण गरिएको थियो ।