धुलिखेल/भुकम्प गएको चार वर्ष वितिसक्दा समेत पुर्नर्निमाणको काम सम्पन्न हुन सकेको छैन । नीजि आवास निर्माणका लागि अनुदान पाउन लाभग्राहिको सूचीमा छुटेका बास्तविक भुकम्प पीडितहरुको नामावली संकलनका लागि अन्तिम पटक बैशाख मसान्तको समय तोकिएको छ ।
भुकम्पको लाभग्राही सूचिका लागि ९० हजार ४ सय ९७ घर धुरीको सर्भेक्षण गरिएको थियो । अझै केहि बास्तविक भुकम्प पीडितहरुको गुनासो सम्बोधन हुन सकेको छैन । पहिचान भएका लाभग्राही मध्ये ९१.८३ प्रतिशत घर परिवार ८३ हजार १ सय १ पहिचान भएका थिए । पुर्ण लाभग्राही ७७ हजार ५ सय ६२ मध्ये पहिलो सर्बेक्षणबाट ६७ हजार ७ सय ३१ र गुनासो फछर्याैटबाट ९ हजार ८ सय ३१ लाभग्राही समेटिएका थिए । प्रवलिकरणमा ५ हजार ५ सय ३९ घर परिवार समेटिएका छन् । अनुदान सम्झौता सम्पन्न भएका लाभग्राहीहरु ७३ हजार ८ सय ७५ घर परिवार रहेका छन् । पहिला किस्ता लिएका मध्ये ६० प्रतिशतले मात्रै दोश्रो किस्ताका लागि सम्झौता गरेका छन् । ५० हजार ३ सय २६ घर परिवारले दोश्रो किस्ता लिए भने तेश्रो किस्ताका लागि ३१ हजार ३ जनाले मात्रै सम्झौता गरेका छन् । पहिलो किस्ता लिनेहरु मध्ये २३ हजार ४ सय ९९ भुकम्प पीडितहरु हराईरहेका छन् । किस्ता लिएर घर पुर्नर्निमाण नगर्ने भुकम्प पीडितहरुले रकम पनि फिर्ता गर्न थालेका छन् । ३४ जना भुकम्प पीडितहरुले रकम फिर्ता गरेका छन् ।
अनुदान विरुद्ध उजुरी
भुकम्प पीडितका नाममा लिईएको अनुदान विरुद्ध अख्तियारमा उजुरी परेको छ । अख्तियारमा परेको उजुरीका बारेमा छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ । अख्तियारमा मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० चण्डेनी मण्डन, पाँचखाल, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाका भुकम्प पीडितहरुले लिएको अनुदान मापदण्ड विपरित भएको भन्दै उजुरी परेको थियो । अख्तियारले उजुरीका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयलाई दिएको निर्देशन पछि जिल्ला आयोजना कार्यान्वयन इकाईका लेखा अधिकृत गणेश घिमीरेको संयोजकत्वमा छानविन समिति गठन भएको हो । समितिमा जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत एक जना र भुकम्प पछिको भवन लगायतका संरचना निर्माण गर्ने कार्यालयका एक जना इन्जिनियर सदस्य रहेका छन् । समितिले छिट्टै छानविन गरी प्रतिवेदन बुझाउनेछ ।
अख्तियारमा परेको उजुरीमा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० साविक चडेनिमण्डन गाविसका ५३ घरधुरीले मापदण्ड विपरित निजि आवास अनुदान लिएको उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र सो सम्वन्धमा कारवाही अघि बढाउन सम्वन्धित स्थानीय तहमा पत्राचार गरिएको आयोजना प्रमुख लोकनाथ रेग्मिले बताए । त्यस्तै पाँचखाल नगरपालिका वडा नम्बर ८ र ९ साविक साठिघर भगवती गाविसमा २७ घरधुरीले मापदण्ड विपरित निजि आवास अनुदान लिएको अख्तियारमा उजुरी परेको छ । २०७५ पाmगुन २६ गते केन्द्रीय आयोजना कार्यान्वयन ईकाईबाट जिल्लामा कारवाहीका लागि पत्राचार गरिएको थियो । सोहि गाविसका १५ जनाको उजुरीका सम्बन्धमा २०७५ साउन ८ गते नै कारवाहीका लागि पत्र प्राप्त भएको थियो । भदौ १ गते स्थानीय तहमा पत्र पठाएको भए पनि कारवाही नभएको रेग्मीले बताए ।
त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्बर ३–४ साविक मेथिनकोट गाविस र पनौती नगरपालिका वडा नं. १ साविक रयाले गाविसका भुकम्प पीडितहरुले मापदण्ड विपरित अनुदान लिएको भन्दै उजुरी गरिएको छ । उजुरी परेकाहरु मध्ये केहिले गैसस मार्फत अनुदान लिएका थिए । निजि आवास पुनर्निर्माण सम्पन्न भएका ३ सय ८४ घरधुरी मध्ये १ सय ६५ जनाको पहिलो किस्ता रकम नेपाल सरकारबाट पनि भुक्तानी भई बैंक सम्म पुगेको र सो मध्ये ७ जना लाभग्राहीले खाताबाट रकम भुक्तानी लिसकेको छन् । एकै ब्यक्तिले दोहोरो रकम लिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
जोखिम बस्तिलाई थप अनुदान
भुकम्प पुनर्निर्माण प्राधिकरणले जग्गा विहिन र जोखिम बस्ति भएकाहरुका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
जिल्लामा रहेका जग्गा बिहिन र जोखिम बस्तिका ७६ घर परिवारलाई लाभग्राहिको सिफारिश प्राप्त भई थप निर्णयको लागि केन्द्रमा सिफारिस गरिएको छ । १२ जना (पहिले जोखिम स्थानमा बसोबास गर्ने) लाभग्राहीहरुलाई जग्गा खरिद गर्न २ लाखको दरले भुक्तानी गरिएको छ । १५ जना लाभग्राही भूमिहीन प्रमाणित भई अनुदानका लागि सिफारिस भएको छ । भूकम्पबाट क्षतिग्रस्त वस्ती क्षेत्रका निजी आवास पुनर्निर्माणका लाभग्राहीको घर भत्काउने क्रममा जोडिएका घरहरु भत्कन गएमा त्यसरी भकिन गएका घरका घरधनीलाई प्रक्रिया पूरा गरी लाभग्राही कायम गर्ने निर्णय भएको छ । भूकम्पबाट क्षति पुगेको प्राचीन वस्ती क्षेत्रका लाभग्राही घरधनीहरु बहुतल्ले एवं बहुस्वामित्वको संरचनामा जान चाहेमा स्थानीय तहको सिफारिशको आधारमा प्राधिकरणले निर्णय गरी त्यस्ता घरधनीलाई लाभग्राही कायम गरी अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ । भूकम्पबाट क्षतिग्रस्त परम्परागत वस्तीहरु साँखु, बुङमती, खोकना, गोरखा दरबार सम्पदा क्षेत्र, नुवाकोट दरबार सम्पदा क्षेत्र एवं दोलखा भिमेश्वर मन्दिर क्षेत्र लगायत प्राधिकरणको कार्यकारी समितिले तोकेको परम्परागत सम्पदा वस्ती क्षेत्रमा प्राचीन स्वरुप झल्कने गरी निजी आवास पुनर्निर्माण गरेमा प्रत्येक लाभग्राहीले पाउने अनुदान रकमका अतिरिक्त थप पचास हजार रुपैंया स्थानीय तहको सिफारिशमा उपलब्ध गराउने छ ।
एक स्थानीय तहबाट अर्को स्थानीय तहमा निजी आवास बनाउनका लागि जिल्ला भित्र जुनसुकै स्थानमा र जिल्लाको क्षतिग्रस्त घर भएको जिल्लासँग जोडिएको वडामा रहेको आफ्नो जग्गामा घर पुनर्निर्माण गर्न पाउने ब्यवस्था गरिएको छ ।
भुकम्प पछि जिल्लामा क्षति
मृतक– ३ सय ७२ जना (मर्नेहरुमा महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९)
घाईते– १४ हजार ८ सय ४३ जना
घरधुरी क्षतिः ८३ हजार १ सय १
सरकारी भवनहरुः ३१ वटा पुर्ण क्षति
सामुदायिक भवनः ४८ वटा
सहकारी भवनः ७ वटा
गुम्बा ः २५ वटा
रेडक्रस भवनः ३ वटा
लघु जलविद्यूत्तः ३७ वटा
मन्दिरः ६७ वटा
दुध चिस्यान केन्द्रः १ वटा
सामुदायिक विद्यालयः ३१७ वटा पूर्ण
स्वास्थ्य भवनः ३७ वटा बर्थिङ्ग सेन्टर, ४३ वटा स्वास्थ्य÷उपस्वास्थ्य चौकी, १ वटा प्राथमीक उपचार केन्द
प्रहरी चौकीः ३० वटा
कृषिः १ अरव ३५ करोड ८२ लाख ५० हजार क्षति
खानेपानीः ६ सय ५२ वटा खानेपानी आयोजना
सरसफाईः २२ हजार ५ सय २ शौचालय, ६४ हजार ६ सय ८ वटा पक्कि शौचालय
पुश सेवा केन्द्रः भवन ४ वटा
पशुपँक्षीः १८ करोड २० लाख १४ हजार (गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, खोर समेत गरी)
‘अझै तर्साउँछ’
आज बैशाख १२ । २०७२ साल बैशाख १२ गते गएको भुकम्पले काभ्रे र आसपासका जिल्लाहरुलाई क्षतविक्षत बनायो । सिन्धुपाल्चोक, दोलखा, काभ्रे, सिन्धुली, नुवाकोट, रसुवा, गोर्खा, काठमाडौ, भक्तपुर, ललितपुर, धादिङ्ग, रामेछाप जिल्ला अति प्रभावित भए । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल र बनेपामा रहेका अस्पतालहरुले छिमेकी जिल्लाहरुका विरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गरे ।
सरकारी भवनहरु, सामुदायिक भवन, सहकारी भवन, गुम्बा, रेडक्रस भवन, लघु जलविद्यूत्त, मठ मन्दिर, दुध चिस्यान केन्द्र, सामुदायिक विद्यालय, स्वास्थ्य भवन, प्रहरी चौकी, कृषि उपजहरु समेत गरी १ अरव ३५ करोड ८२ लाख ५० हजार क्षति (खाद्यान्न, विय, तरकारी तथा नगदे बाली, हाट बजार, ब्यवसायीक कृषि फर्म लगायतको क्षति भयो । खानेपानी, शौचालयहरु पुश सेवा केन्द्र र पशुधनमा समेत करोडौंको क्षति भयो । थुप्रै क्षतिका बाबजुत पनि भुकम्प पीडितहरु दुख विर्सेर सम्भावना तर्फ लागिरहेका छन् ।
बैशाख १२ गते सिन्धुपाल्चोक शिखरपुर गाविस १ घर भएकी २४ बर्षिया शर्मिला कटुवाल खाना खान थाल समात्दै हुनुहुन्थ्यो । आमाले खाना पस्कँदै गर्दा आएको भुकम्पले उहाँलाई त बचायो तर आमालाई सँगै लिएर गयो । आमाले छोरी, छोरीले आमा बचाउन खोज्दा खोज्दै दुबै पुरिए र शर्मिलाको जिवितै उद्धार सम्भव भयो । उहाँ त्यो दिन सम्झन पनि चाहनुहुन्न । भुकम्प पछि उहाँको घर माटोमा मिलेको थियो । एक वर्षसम्म त अस्थायी टहरा पनि बन्न सकेको छैन । एक वर्षसम्म उहाँ अस्पतालमै रहनु भयो । काठमाडौमा डेरा गरी बस्ने दुई दाईहरु सरकारको सहयोगमा जन्मथलोमा घर बनाउने सोचाईमा त हुनुहुन्थ्यो तर आमाको यादले त्यो स्थानमा पुग्नै सक्नु भएन । जब जब बैशाख १२ आउँछ तब तब उहाँलाई त्यहि २०७२ सालको बैशाख १२ ले झस्काउने गरेको छ । पूर्ण रुपमा शशक्त हुन नसक्नु भएकी शर्मिला जस्ता पीडितहरुलाई राज्यले रोजगार दिएर घाउमा मल्हम लगाउनु पर्ने चाहना छ । तर चार वर्ष पुग्दा पनि सुनुवाई भने कतैबाट हुन सकेको छैन ।
शर्मिर्ला जस्तै सिन्धुपाल्चोककै बासँखर्क गाविस वडा नम्वर ६ कि १९ बर्षिया सरिस्मा तामाङको पीडा पनि उस्तै छ तर पीडा भुलाउन उहाँ अध्ययन र तालिममा ब्यस्त हुनुहुन्छ । आमा, हजुरबुबा र हजुरआमा विताउनु भएकी सरिस्मालाई चार घण्टा पछि उद्धार गरी तेश्रो दिन अथार्त बैशाख १४ गते मात्रै हेलिकप्टरबाट अस्पताल लगिएको थियो । अस्पतालमा आउँदा उहाँले आफु पनि बाचिन्छ जस्तो अनुभव गर्नु भएको थिएन । आँखै अगाडी आफन्तका शबहरु देखेर पीडा बोक्दा बोक्दै उपचारका लागि अस्पताल ल्याउँदा उहाँलाई आमाकै पीडाले सतायो । भाई र बुबा मात्रै घरमा हुँदा काम गर्ने मान्छे नभएकाले झनै समस्या भएको उहाँको अनुभव छ । आफु विरामी हुँदा छिमेकीले समेत बेवास्ता गरेको गुनासो गर्नुभयो । अहिले उहाँ ललितपुरमा एउटा संस्था मार्फत सामाजिक अभियानमा सक्रिय हुनुुहन्छ ।









