2026 June 06/ 08:40: 05am

    धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पहिलो पटक संहिता कानुन अनुसार मुद्दा फैसला भएको छ । भदौ देखि कार्यान्वयनमा आएको संहिता अनुसार मुद्दा दर्ता भए पछि फैसला भएको हो । माघ मसान्तसम्मको तथ्याङ्कमा दुई वटा मुद्दामा कसुर प्रमाणीत पछि फैसला सुनाईएको छ । 
    न्यायाधीश दिपककुमार खरेलको इजलासले माघ महिनामा दुई वटा मुद्दा फैसला गरेको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए । २०७५ भदौ १९ गते दर्ता भएको सनाुबाबु बानिँया सहितको लागु औषध मुद्दामा माघ ८ गते कसुर स्थापित गरी माघ २४ गते सजाँय निर्धारण गरिएको थियो । कसुर स्थापित भएको ३० दिन भित्र सजायँ निर्धारण गरिसक्नु पर्ने फौजदारी कसुर सजायँ निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ९ मा ब्यवस्था छ । उक्त ऐन अनुसार अदालतले माघ ८ गते कसुर स्थापित गरेकै दिन माघ २४ गतेका लागि पेशी तोकेको थियो । उक्त ऐनले तीन वर्षसम्म कैद वा ३० हजार जरिवना हुने सबै खालका फौजदारी मुद्दाहरुमा यो ब्यवस्था लागु गरेको छ । 
    महोत्तरी जिल्ला बर्दिवास नगरपालिका ७ घर भएका १९ बर्षिय निश्चल भन्ने मिसलकुमार बोगटी र सिराहा जिल्ला कर्जना नगरपालिका वडा नम्वर १ का २० बर्षिय अर्पन महत २०७५ साउन १६ गते इलाका प्रहरी कार्यालय बनेपाले अरनिको राजमार्ग स्थित नासिका साँगा बनेपा १३ बाट मोटरसाईकल सहित लागु औषध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेका महत र बोगटीलाई जिल्ला अदालतमा असोज १९ गते बुझाईएको थियो । प्रहरीले ९० दिन राखेर अनुसन्धान गर्न पाउने कानुन ब्यवस्थालाई आधार बनाएर ढिलो गरी बुझाएको थियो । ३ सय १२ चक्की नाईट्राभेट १० सहित पक्राउ परेका दुबैलाई अदालतले २ वर्ष कैद र १÷१ लाख जरिवना सुनाएको छ । 
    अदालत लागु औषध ओसारपसारमा पक्राउ परेकाहरु विरुद्ध कडाईका साथ प्रस्तुत भएको छ । प्रहरीले भटाभट पक्राउ गर्न थाले पछि अदालतले पनि कडा सजायँको ऐन प्रयोग गर्दै सजायँ सुनाएको हो । पछिल्लो समय लागु औषध मुद्दामा झण्डै ३० जना पक्राउ परेका छन् । 
    अदालतले संहिता कानुन अनुसार बहुविवाह मुद्दामा कसुर स्थापित गर्दै फैसला सुनाएको छ । न्यायाधीश दिपककुमार खरेलकै इजलासबाट २०७५ साल मसिंर १७ गते सञ्चमाया तामाङको जाहेरीमा पक्राउ परेका उनकै श्रीमान विश्व तामाङलाई पुष ३० गते कसुर स्थापित गरी माघ २४ गते सजायँ निर्धारण सहितको फैसला सुनाएको छ । लिलामाई भन्ने चन्द्रमायाले भने सफाई पाएकी छिन् । विश्वले सञ्चमाया हुँदाहुँदै चन्द्रमायासँग विवाह गरेको भन्दै  बहुविवाह मुद्दा दर्ता भएको थियो । विश्वलाई अदालतले १ वर्ष कैद र ५ हजार जरिवना सुनाएको छ । मेच्छे घर भएका विश्व नयाँ ऐन अनुसार सजायँमा परेका हुन् ।