2026 June 06/ 08:39: 24am

    धुलिखेल/आर्थिक वर्ष २०६०/०६१ देखि क्रसर उद्योग दर्ता नगरी संचालनमा रहेको साविक मेथिन्कोट – ८ हाल नमोबुद्ध नगरपालिका ४ मा रहेको पशुपति रोडा ढुङ्गा उद्योग संचालन गरिरहेको छ ।
    आर्थिक वर्ष २०६४/०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्राली साविक कटुञ्जेबेशी १ हाल रोशी गाउँपालिका ७ मा चलिरहेको छ । २०६५/०६६ देखि ब्लु साईन रोडा ढुंगा उद्योग प्राली साविक खनालथोक १ हाल नमोबुद्ध नपा ६ मा संचालन भईरहेको छ । साविक चलाल गणेशस्थान ९ हाल बेथान्चोक गाउँपालिका ४ मा एस एस रोडा ढुंगा उद्योग प्रालि २०७३÷०७४ देखि संचालनमा आएको छ । श्यामसुन्दर श्रेष्ठ समेत १० जनाको संयुक्त नाममा रहेको उक्त उद्योगले क्रसर उद्योग नजिकै रहेको नीजि जगाबाट खानी दर्ता नगरी ढुंगा उत्खनन् गरी क्रसिङ्ग गरिरहेको छ ।
    पशुपति रोडा ढुंगा उद्योगका प्रोपाईटर भरतप्रसाद घिमिरे समेत साझेदारीमा रहेका २ जनाले क्रसर उद्योग नजिकै रहेको निजी जगाबाट खानी दर्ता नगरी ढुंगा उत्खनन गरी क्रसिङ्ग गरिरहेको छ । प्रस्तावित तिरुपति रोडा ढुगा उद्योगको जग्गाबाट उक्त उद्योगले कच्चा पदार्थ उत्खनन गरिरहेको छ । ओम सत्यसाई स्टोन प्रालीका प्रोपाईटर राजेन्द्रप्रताप अर्याल र ब्लु साईन रोडा ढुंगा उद्योग प्रालिका बालमुकुन्द अधिकारी, कुन्साङ्ग लामा सहित ३ जनाको उद्योगले क्रसर उद्योग नजिकै रहेको निजी जग्गाबाट खानी दर्ता नगरी ढुंगा उत्खनन् गरी क्रसिङ्ग गरिरहेका छन् । वर्षाै देखि दर्ता नगरी खानी संचालन भईरहँदा स्थानीय प्रशासन मुकदर्शक मात्रै छैन बन्द गराउने आँट समेत गर्दैन ।
    जिल्लाको क्रसर(ढुंगा, गिट्टी, बालुवा प्रशोधन तथा उत्पादन) उद्योगहरुको स्थलगत अध्ययन÷अनुगमन गर्न गठित जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको प्राविधिक उप समितिको प्रतिवेदनमा अनुगमन गरिएका २३ उद्योगहरु मध्ये चारवटाको खानीका लागि अनुमति नभएको प्रतिवेदन बुझाएको छ । अनुगमनका क्रममा उदेश्य विपरित मण्डन देउपुरमा रहेको स्याण्ड वासिङ्ग उद्योगले कार्य गरिरहेका फेला परेको छ । अनुगमनका क्रममा बालुवा प्रशोधन गरी विक्री गर्ने ईन्द्रावती इभो वास उद्योग, इन्द्रावती बालुवा उद्योग, त्रिवेणी इन्फोसिस वासिङ्ग उद्योग र भकुण्डे वालुवा प्रशोधन उद्योगले उदेश्य अनुरुपको कार्य गरेको देखिएको छ ।
    दर्ता भएका अधिकांश उद्योगहरुले राजमार्ग, नदी/खोला किनार, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक महत्वका स्थान, सुरक्षा निकाय, वन क्षेत्र, निकुञ्ज, घना बस्ति, हाईटेन्सन लाईन, पक्कि पुलको सिमा तथा मापदण्ड विपरित संचालन भईरहेको निश्कर्ष निकालेको छ । संघीय सरकार र प्रदेश सरकारको फरक फरक मापदण्ड भए पनि कम मापदण्ड तोकेको प्रदेश सरकारको कानुन मान्ने भए पनि उद्योगहरुले पालना नगरेको अनुगमनका क्रममा पाईएको समन्वय अधिकारी एवं अनुगमन समितिका संयोजक कोमलप्रसाद धमलाले बताए । प्राविधिक समितिमा समन्वय समितिका सदस्य कृष्णबहादुर तामाङ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गिरीप्रसाद आचार्य, जिल्ला बनका सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठ, इन्जिनियर विनोद शाक्य, नापी कार्यालयका गोपालनारायण भुजेल, डिएस्पी दिपक गिरी, डिएस्पी रवि केसी र घरेलुका प्रमुख माधव गैतम सदस्य रहेका थिए ।
    अनुगमन समितिको प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्यहरु चन्द्र लामा, लक्ष्मण लम्साल, रत्न ढकालले तत्काल कारवाही गर्नुपर्ने सुझाव दिए । प्रदेश कानून अनुसार दर्ता नभएकालाई बन्द गर्न र मापदण्ड नपुगेका उद्योगहरुलाई मापदण्ड पु¥याएर चलाउन अल्टिमेटम दिन अनुरोध गरे । प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्गले प्राकृतिक श्रोतको दोहन क्षम्य नहुने बताए । समन्वय समितिका प्रमुख उद्धव केसीले प्रतिवेदन बुझ्दै आवश्यक कारवाही प्रकृया अगाडी बढाउने बताए । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का लगायतले आवश्यक प्रकृया नपु¥याएका उद्योगहरु संचालन गर्न नदिने धारणा राखे । १५ वर्षसम्म जनप्रतिनिधि नभएको मौका छोपी राजनीतिक दलको आडमा चलेका उद्योगहरुलाई जनप्रतिनिधि, स्थायी सरकार र कानुन समेत तय भईसकेको अवस्थामा समेत संचालन गर्न दिन नहुने सांसद लक्ष्मण लम्साल र चन्द्र लामाले बताए । पुर्व सांसद तिर्थ लामाको क्रसर उद्योगले विपी राजमार्ग संकटमा छ भने कुन्साङ्ग लामाको उद्योगले बस्ति संकटमा छ । अनुगमन समितिले २०७५ माघ १८ देखि २३ गतेसम्म अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता, नविकरण, कर चुक्ता, उद्योगको भौगोलिक अवस्था, उद्योगले वातावरण क्षेत्रमा पारेको प्रभाव, प्रदुषण नियन्त्रणका लागि अपनाईएको विधीका बारेमा अनुगमन गरेको संयोजक धमलाले जानकारी दिए ।
    साविक कुशादेवी ५ हाल पनौती २मा संचालित काठमाडौ रोेडा ढुंगा उद्योग प्रालीको उद्योग परिसरमा समानान्तर रोडा ढुंगा उद्योग प्रालिको क्रसर संचालनमा रहेको, उक्त क्षेत्रमा रहेको खानी उद्योगका कर्मचारीहरुबाट उक्त क्रसर प्लान्ट सचालन गर्ने सम्वन्धमा सडक आयोजनाका लागि अस्थायी प्लान्ट राखी संचालन गरेको देखिएको थियो । समानान्तर प्रालिले अस्थायी प्रकृतिको प्लान्ट राख्न पाउने सम्वन्धी कागजात फेला परेन । अबैद्य रुपमा उक्त उद्योग संचालन भईरहेको छ । अनुगमनका क्रममा ८ वटा उद्योग दर्ता भए पनि संचालनमा नरहेको देखिएको छ । क्यापिटल एग्रिगेट प्राली, कानपुर, रोशी ढुंगा उद्योग प्रालि खनालथोक, इन्द्रावती रोडा ढुंगा उद्योग प्रालि गैरीविसौना देउपुर, त्रिवेणी क्रसर उद्योग ज्याम्दी, मोक्तान क्रसर उद्योग कानपुर, धौलागिरी स्टोन प्राली, दाप्चा रोडा ढुंगा उद्योग र सुमि स्टोन प्राली संचालनमा छैनन ।
    अनुगमन समितिले दिएको प्रतिवेदनमा २३ वटा उद्योगहरु सबैले नेपाल सरकार र प्रदेश सरकारले लागु गरेको मापदण्ड पुरा नगरेको उल्लेख गरेको छ ।