2026 June 06/ 08:40: 07am

    धुलिखेल/धुलिखेल र आसपासको क्षेत्र प्रणय दिवसमा युगल जोडीहरुले मस्त थियो । होटल तथा अन्य क्षेत्रहरुमा युगल जोडीहरुको जमघट थियो । सामाजिक सञ्जाल पनि प्रणय दिवसकै कारण रंगिएका थिए । तर त्यहि दिन जूनी जुनी सँगै बाँच्ने कसम खाएर प्रेम पछि विवाह गरेको कलकलाउँदो जोडी अलग रहने निर्णय गर्दै थियो ।
    लामो समय प्रेम गरी विवाह गरेको एक जोडीले प्रणय दिवसकै अवसर पारी अदालतबाट सदाका लागि सम्वन्ध नरहने कागजमा मिलापत्र सहित छोडपत्र गरेका छन् । प्रणय दिवसकै दिन अन्य दुई जोडीले पनि अलग रहने भन्दै जिल्ला अदालत काभ्रेपलाञ्चोकमा जाहेरी दर्ता गराएका थिए । पनौती ८ घर भएका २५ बर्षिय अभिनाश केसी र दोलखा जिल्ला शैलुङ्ग गाउँपालिका वडा नम्वर ९ घर भएकी नैना तामाङ बीच लामो समय प्रेम चलेको थियो । प्रेम रहँदा रहँदै उनिहरु बीच २०७० साल माघ ७ गते प्रेम विवाह भएको थियो । प्रेम विवाह गरेर सँगै बसेको जोडी केहि समय देखि अलग रहँदै आएको थियो । नैना र अभिनाश बीच ठुलो विषयको असमझदारी छैन । अदालतमा छोडपत्र गराउँदै उनिहरुले अलग रहँदा दुबै जना खुशी हुने सोचेर यस्तो निर्णय लिएको बताए । सामान्य विषयमा दुई बीच सहमति नहुँदा छोडपत्र गरेको उनिहरुले बताए ।
    सोहि दिन बेथान्चोक गाउँपालिकाका एक जोडीले अलग रहने भन्दै जाहेरी दिए भने तेमाल गाउँपालिका घर भई राजधानी बस्दै आएको अर्काे जोडीले पनि अलग रहने जाहेरी दर्ता गराए । अदालतबाट सोहि दिन नैना र अभिनाशको बाहेक अरुको फैसला भएन । उनिहरुको पनि मिलापत्र मार्फत छोडपत्र भएको थियो ।