2026 August 27/ 11:37: 27am

    पनौती/नेपाली सेना कालीजंग गण अन्तर्गत सुरक्षा गुल्म पनौतीले पनौती नगरपालिका वडा नम्वर ७ मा रहेको स्वास्थ्य चौकीमा रहेको प्रसुती गृह निर्माणका लागि सहयोग उपलब्ध गराएको छ । 
    ‘नेपाली सेनाको आपतकालिन सहयोग शिर्षक अन्र्तगत पनौती नगरपालिका वडा नम्वर ७ मा रहेको बर्थिङ्ग सेन्टरमा सहयोग उपलब्ध गराएका हौं’– सुरक्षा गुल्म पनौतीका इन्चार्ज मेजर राजेश कार्कीले भन्नुभयो–‘पुर्वाधार निर्माण सँगै प्रसुती गृहका लागि आवश्यक सामाग्री उपलब्ध गराउने छौं ।’ उक्त कार्यका लागि नेपाली सेनाले १० लाख रकम विनियोजन गरेको छ । विनियोजित रकमबाट स्वास्थ्य चौकीको माथिल्लो तल्लाको भुई ढलान, कोरामसिनो, पार्टेसन गरिनेछ भने प्रसुती गृहका लागि सामाग्री उपलब्ध गराईनेछ । 
    नेपाली सेनाको टोली आफैले उक्त स्थानमा निर्माण कार्य गरिरहेको छ । जनशक्ति सहितको सहयोग उपलब्ध गराउँदै निर्माण शुरु गरिएको प्रसुती गृहमा थप सहजता हुने वडा अध्यक्ष सविन ताम्राकारले बताउनु भयो । नगर भित्रको महत्वपूर्ण र गुणस्तरीय सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकीले नागरिकहरुलाई थप सेवा दिन विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्वास्थ्य चौकी सँगै नगरपालिकालको वडागत बजेटमा केहि वर्ष अघि देखि शुरु गरेको अस्पताल निर्माणको कार्य पनि जारी रहेको अध्यक्ष ताम्राकारले बताउनु भयो ।