पनौती/पनौती नगरपालिका वडा नम्वर २ कुशादेवीले आगामी कार्तिक २ देखि ५ गतेसम्म जिल्ला स्तरीय प्रथम काभ्रे जिल्ला ब्यापी अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष समेत रहेका प्रतियोगिता मुल समारोह समितिका संयोजक पुरुषोतम अधिकारीले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो ।
नगर प्रमुख रामशरण भण्डारीले पनौती नगरपालिकाले आफ्नो पहिचानलाई खेलकुदको माध्यमबाट पनि चिनाउने प्रयत्नमा वडा नम्वर २ ले आयोजना गरेको प्रतियोगिता महत्वपूर्ण हुने बताउनु भयो । उपप्रमुख गिता बञ्जाराले युवाहरुलाई समेटेर आयोजना हुने यस्ता प्रतियोगिताले समुदायलाई समेत समेट्ने बताउनु भयो । युवाहरुको प्रतिभालाई प्रस्फुटन गर्न पाउने प्रतियोगिताको सफलताको कामना गर्दै उपप्रमुख बञ्जाराले युवाहरुलाई कुलतमा लाग्न समेत जोगाउने बताउनु भयो । वडा नम्वर २ मा प्याराग्लाईडिङ्ग, साईक्लिङ, रकक्लाईमविङ जस्ता महत्वपूर्ण कार्य गरी अलग्गै पहिचान बनाएको छ । पनौती नगरपालिकासँग सहकार्य गरी सामाजिक कृयाकलाप र अघिल्लो आर्थिक वर्षहरुमा कुशादेवी युवा क्लवले मेयर कप फुटबल प्रतियोगिता, अन्तर वडा भलिबल प्रतियोगिता आयोजना गरेको थियो । यो प्रतियोगितामा कुशादेवी युवा क्लवको प्रस्ताव अनुसार लब्सेटार युवा समुहले ब्यवस्थापकिय भूमिका निभाउने छ । प्रतियोगिता सम्पन्न गर्न वडा अध्यक्ष पुरुषोतम अधिकारीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको छ ।
प्रतियोगितामा पनौती नगरपालिका वडा नम्वर १,२ र ३ को तर्फबाट एउटा टिम, नगर स्तरीय अर्काे टिम सहभागि हुनेछन् । जिल्लाका १३ वटै पालिकाबाट प्रति पालिका दुई वटासम्म टिम सहभागि हुन पाउने गरी ३ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता टिमले ३० हजार प्राप्त गर्नेछ । सान्त्वना दुई टिमलाई नगद १०/१० हजार प्रदान गरिने छ । प्रतियोगितामा ३ लाख ४६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि पनौती उद्योग बाणिज्य संघका उपाध्यक्ष पुनम जंगमले दुई टिमका लागि निशुल्क उपलब्ध गराउनु भएको जर्सि र भलिबल हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष जयबहादुर लामा, वडा नम्वर ३ का अध्यक्ष विष्णुप्रसाद सापकोटा, पुर्व अध्यक्ष किशोर थापा, जनप्रतिनिधिहरु, रेडक्रस, विद्यालय तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतियोगिता वडा नम्वर २ को लब्सेटार धारा चौर खेल मैदानमा हुनेछ । नगरपालिकाले वडा नम्वर २ मा भलिबल मैदान तथा वडा नम्वर ३ मा फुटबल मैदान निर्माण भईरहेको छ ।





