2026 August 27/ 10:49: 28am

युवा संघ धुलिखेलमा आनन्दसागर
    धुलिखेल/पूर्व मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले युवाहरु वर्तमानका हिस्सेदार र भविष्यका कर्णधार भएको बताउनु भयो । ‘वर्तमानमा हिस्सेदार बनाउन सकिएन भने युवाहरु भविष्यका कर्णधार हुन सक्दैनन’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘युवाहरुको उर्जा सहि स्थानमा लगाउन सकियो भने मुलुक समृद्ध बनाउन सम्भव छ ।’
    राष्ट्रिय युवा संघ धुलिखेल नगर कमिटीको छैटौ नगर सम्मेलनको उद्घाटन सभामा बोल्दै पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री बास्कोटाले नेकपा एमाले नेतृत्वको सरकारले शुरु गरेको विकासको मुल र राजमार्ग परमादेशी सरकारले निरन्तरता दिन नसकेको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा बास्कोटा मन्त्री हुँदा शुरु भएका थुप्रै परियोजना अर्काे सरकार गठन भए लगत्तै रोकिए पछि जिल्लाबासीहरु आक्रोशित छन् । निर्माण शुरु भएका सडक अधुरा बनाईएको छ भने संरचनाहरुलाई पुरा हुन नदिई नागरिकहरुले दुःख पाईरहेका छन् । दर्जनौ योजनामा विनियोजन भएको रकम अर्काे सरकार बने लगत्तै रोकिएको थियो । 
    कार्यक्रममा बोल्दै पूर्व मन्त्री बास्कोटाले देशभक्ति, समृद्धी, विकास, सामाजिक न्याय, लोकतन्त्रको अभियानलाई निरन्तरता दिन मसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्न सक्ने गरी मतदान गर्न काभ्रेली जनतालाई अपिल गर्नु भयो । २०७४ को निर्वाचनमा देशभर तेश्रो लोकप्रिय र फराकिलो मतान्तरले विजयी बास्कोटा मन्त्री हुँदा जिल्लामा अन्र्तराष्ट्रिय स्तरका परियोजना शुरु भएका छन् । युवाहरु उपभोक्तावादी नभई सहयोगी बन्न अनुरोध गर्दै पूर्व मन्त्री बास्कोटाले इमान्दार, जवाफदेहि, उत्तरदायी र राष्ट्रप्रति संवेदनशील बन्न अनुरोध गर्नु भयो । अध्यक्ष सिवी तामाङको अध्यक्षतामा सम्पन्न अधिबेशनमा एमाले काभ्रेका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले युवाहरुलाई श्रम र सिपसँग जोड्न सकिएको अवस्थामा मात्रै समृद्ध नगर बनाउन सकिने बताउनु भयो । नेपालमै पहिलो पटक युवा, महिला, दलित, आदिबासी जनजाति लगायतका परिषद्हरु गठन गरिएको बताउँदै अध्यक्ष ब्याञ्जुले युवाहरुलाई आत्मनिर्भर बनाउँदै विचार र संगठनको जिम्मेवारीमा लागउनु पर्ने बताउनु भयो । 
    कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा, धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्यद्वय होम चौलागाई र विक्रम चौलागाई, जिल्ला अध्यक्ष सागर रायमाझी, गणेश आचार्य, आनन्दसागर श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । अधिबेशनको बन्द सत्रले नयाँ कमिटी चयन गरेको आनन्दसागर श्रेष्ठले बताउनु भयो । बन्द सत्रले आनन्द सागर यगोलको नेतृत्वमा धुलिखेल युवा संघ गठन भएको छ ।