मोतीराम तिमल्सिना
खोपासी, पनौती
जग्गा विक्री गरेर बैंकमा पैसा राख्ने योजना बनाएका राजु सार्कीले विक्री गरेको जग्गाको रकम ८ महिनासम्म पाउन सकेका छैनन् । जग्गा विक्री गरेको रकम मध्ये ५ लाख वडा अध्यक्ष मोहन भण्डारीलाई बुझाएको नकुल श्रेष्ठले राजु सार्कीलाई जानकारी गराएका छन् ।
राजु सार्की, ६८ वर्ष । बाबुको नाम तिनमाने सार्की (लाहुरे) । हजुरबुबा अतेबले सार्की । पनौती नगरपालिका वडा नम्वर १० पस्थली । राजुका तीन दाजुभाई मध्ये उनी जेठा । माईलो मने सार्की ५४ वर्ष देखि वेपत्ता छन् । कान्छो छोटे सार्की पनि सम्पर्कमा छैनन् । राजुका बाबु तिनमाने वितेको ५२ वर्ष भईसकेको छ । बाबु वितेकै वर्ष देखि शुरु गरेको भरिया बन्ने काम केहि वर्ष देखि रोकिएको छ । रोगले च्याप्यो, भारी बोक्न सकिएन । अहिले खाने बस्ने आराम गर्ने । खुट्टा दुखेर बसिरहनु पनि हुँदैन । दिनभर डुलेर फर्कन्छु । भारी बोक्न थाले देखि शुरु भएको पाटीको बास आज पनि कायम छ । भएको सम्पती विक्री भएको छ । भाईहरुको अंश भाग बैंकमा जम्मा गरेर राखिएको छ । फर्केर आउने आश छैन । त्यहि जम्मा गरेर राखेको रकमको ब्याजले विहान बेलुकाको छाक टार्ने जमर्काे गरिएको छ ।
îîîîîîîîîî
जुटको बोराले ढाकेको ओछ्यान छ । पाटीको भित्री भागको ढोकामा ताला झुण्डाईएको छ । त्यो ऐतिहासिक पाटी हो । वरिपरी पोकापन्तरा काटीमा अड्याईएको छ । सामान प्याक गरेर ल्याई फालिएको काठको बाक्सामा गोप्य कागजात प्लास्टिकमा पोको पारेर राखिएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र खिचिएको आधार पत्र, जेष्ठ नागरिक दलित भत्ता प्राप्त गर्न नगरपालिकाले उपलब्ध गराएको पासबुक, बंैकमा पैसा जम्मा गरेको भौचर पोको पारिएको छ । हराउला भन्ने चिन्ता छैन । सँगै सुगर तथा अन्य रोगहरुको औषधीको पोको छ । विहान बेलुका नै रोटी खान्छन् । बेलुका पकाएको रोटी विहान पनि खाने हो । हरेक दिनको दैनिकी त्यहि हो । त्यहि पाटीमा लगाउने कपडा, खाने सार्दम, सुत्ने ओछ्यान र राखनधरानको सन्दुस छाडेर दिनभर डुलेर फर्कन्छन् राजु सार्की ।
******************************
उनि १६ वर्षका थिए । उनको जन्म तराईमा भएको हो । बा आमा कामको सिलसिलामा तराईमा बसेका थिए । तराईमा जन्मेका राजुको बाल्यकाल पस्थलीमा नै बित्यो । बुबा लडेर घाईते हुनु भयो । तत्कालै बोकेर वीर अस्पताल पु¥याए । तर उपचार सम्भव भएन । उपचारको क्रममा बाबुको निधन भए पछि बागमती किनारमा गाडेर फर्किएको याद छ । निरन्तर भारी बोकेर खोपासीको पाटीमा जीवन गुजारिरहेका राजुका धेरै आफन्त वितेका छन् । उनिहरु सबैको किरिया गरेर पनि उनी पाटीमा बसेका छन् । उनका नाममा आउने जग्गा नागरिकता बनाएसँगै विक्री भएको छ । २०७८ साल माघ २५ गते र २०७५ साल माघ २१ गते दुईवटा कित्ताको झण्डै २७ आना जग्गा विक्री भएको छ । जग्गा विक्री भएको केहि रकम राजुले अझै पाउन सकेका छैनन् । ललाई फकाई पास गरेको जग्गाको मुल्य पनि उचित पाउन सकेनन् । पाउने भनिएको मुल्य अझै प्राप्त नहुँदा आफन्त गुमाएर पाटीमा बसेका राजु थप पीडामा छन् ।
******************************
भारी बोकेर जम्मा गरेको रकमले खान ठिक्क हुन्थ्यो । शुरुमा उनि प्रहरी चौकी नजिकैको पाटीमा बस्ने गरेका थिए । पछि खोपासीको धारासँगै भएको पाटीमा बस्न थाले । प्रहरी चौकी पनि द्वन्द्ध सकिए लगत्तै स¥यो । भारी बोक्न नसके पछि हातमुख जोर्न कठिन भयो । राजु सार्कीका नाममा आउने जग्गा विक्री गरी त्यहि रकमबाट जीवन चलाउने सल्लाह वडा अध्यक्ष मोहनबहादुर भण्डारीले दिए । वडा अध्यक्ष भण्डारीको सिफारिसका आधारमा राजुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट २०७५ बैशाख २४ गते नागरिकता लिए । नागरिकता बनाउने बेलाका सकस धेरै छन् । रकम पनि धेरै खर्च भएको छ । नागरिकता बनाउन पैसा लिएका छन् । नागरिकतामा सनाखत गर्ने ब्यक्ति थिएनन् । बल्ल बल्ल नरहरी सार्कीले सनाखत गरे । प्रहरी सर्जिमिन पछि केहि रकमको खर्च पछि नागरिकता बन्यो । त्यहि नागरिकताका आधारमा २०७७ कार्तिक देखि दलित जेष्ठ नागरिक भत्ता प्राप्त गरिरहेका छन् । महिनाको २ हजारका दरले बार्षिक २४ हजार प्राप्त गरेका सार्कीको आम्दानीको प्रमुख श्रोत त्यहि भत्ता बाहेक छैन ।
******************************
नागरिकता प्राप्त गरेको केहि महिनामै राजु सार्कीका नाममा आएको १४ आना ३ पैसा ३ दाम जग्गा २०७५ माघ २१ गते विक्री भयो । उक्त जग्गा मुने सार्कीको नामबाट राजु सार्कीको नाममा आएको थियो । मुने सार्की नाता भित्रका हुन् । कित्ता नम्वर २४७ को उक्त जग्गा राजुले सुभद्रा सार्कीका नाममा विक्री गरेका हुन् । सुभद्रा सार्कीले ९५९ कित्ता नम्बरमा विमला सार्कीलाई १० आना र ९५८ कित्तामा शान्ता नेपालीलाई ४ आना ३ पैसा ३ दाम जग्गा विक्री गरेकी छिन् । कित्ता नम्वर २४८ बाट नकुल श्रेष्ठलाई १२ आना २ दाम विक्री भएको छ । १५ आना २ दाम मध्येको बाँकी ३ आना जग्गा राजु सार्कीकै नाममा छ । उक्त जग्गा २०७८ माघ २७ गते विक्री भएको थियो । वडा अध्यक्ष मोहन भण्डारीकै सल्लाहमा जग्गा विक्री गरेको सार्कीले बताए । १२ आना २ पैसा जग्गाको ३० लाख रुपैयाँ दिन्छु भने पनि सार्कीले साढे १७ लाख रुपैयाँ मात्रै पाएका छन् । माघमा जग्गा विक्री गरेका सार्कीलाई चुनावको नजिकै राजनीतिक मुद्दा बन्ने डरले उनै वडाअध्यक्ष भण्डारीले नकुल श्रेष्ठलाई २०७९ बैशाख २८ गते मात्रै १६ लाख रुपैया राजु सार्कीका नाममा नेपाल बैकको खोपासी शाखामा जम्मा गर्न लगाएका थिए । १ लाख रुपैयाँ भने पहिला नै दिएका थिए । सोहि रकम राजु सार्कीले बल्थलीमा रहेको लड्केश्वर महादेवलाई हस्तान्तरण गरेका थिए भने अघिल्लो जग्गा विक्री भएको जग्गाको प्राप्त रकमबाट १ लाख पस्थलीमा सडक निर्माणमा सहयोग गरेका थिए । माघमा विक्री भएको जग्गाको थप रकम भण्डारी र नकुल श्रेष्ठले अझै दिएका छैनन् । राजुलाई नकुलले साँढे ६ लाख मात्रै आउँछ भनेका छन् । १६ लाख नेपाल बैंकमा जम्मा गरेर डेढ लाख विभिन्न मितिमा दिएका नकुलले ५ लाख वडा अध्यक्ष भण्डारीलाई दिएको बताएका छन् । बाँकी रकम दिन २÷४ दिन भन्दा भन्दै ८ महिना वितिसकेको छ । शुरुको चार महिना पनि झुल्याउँदै गए । पछिल्लो चार महिना पनि बाँकी रकम दिएका छैनन् । राजुले साँढे १२ लाख रुपैयाँ पाउनु पर्ने बताएका छन् । तर वडा अध्यक्ष भण्डारी र नकुलले उक्त रकम दिन आलटाल गरिरहेको उनको बुझाई छ । जग्गाको सबै कारोवार नकुल आफैले हेरेका छन् ।
******************************
राजुको जीवनमा कोहि छैन आफन्त । उमेरमा परेको प्रेम विवाहमा परिणत नभई छुट्यो । वेपत्ता भएका भाईहरु पनि नफर्किए पछि उनले वडा अध्यक्ष भण्डारीकै सल्लाहमा जग्गा विक्री गरेको बताए । जग्गा विक्री गरेर आएको रकम बैंकमा राखेर त्यहि रकमको ब्याजबाट मासिक हुने खर्च गर्ने सोचमा पनि तुषारापात भएको छ । ५२ वर्ष देखि पाटीमा बसेर सुकुम्बासी जस्तै भएका राजुका नाममा नाम मात्रको ३ आना जग्गा छ । माओवादी सशस्त्र युद्धमा खोपासीको प्रहरी चौकीमा बम पड्काउँदा नजिकै रहेको पाटीमा समेत क्षति पुगेको थियो । त्यहि बसेका राजु त्यो घटना सम्झँदा अहिले पनि थरथर हुन्छन् । त्यो भन्दा ठुलो भुकम्प जग्गा विक्री गरेर रकम नआउँदा गएको छ । पञ्चायत, प्रजातन्त्रको आन्दोलन, माओवादी शशस्त्र युद्ध, २०६२÷०६३ सालको आन्दोलन, २०७२ सालको भुकम्प, कोरोना भाईरसको युद्धमा समेत एक्लै भए । भन्छन् आज हो कि भोलि हो मर्ने थाहा छैन तर पैसा दिन्छु भनेर किनेको जग्गाको मुल्य तिर्नु पर्दैन ? म जस्तो सुकुम्बासीलाई थप सुकुम्बासी बनाएर पाउँछन् के ? जग्गा विक्री गरेको चार महिना फर्केर आएनन् । चार महिना पछि १६ लाख जम्मा गरिदिएका नकुल बाँकी पैसा दिन किन जाँदैनन ? कि म गरिबको रकम पचाउँछु भन्ने सोच हो ? मैले केहि गर्न नसके पनि भगवानले हिसाब किताब गर्नेछन् । राजुका आँखा रसाए । आँशु भरिए । चाडवाडमा सडक छपक्कै भएको देख्छन् । बाल्यकाल, उमेर अनि विगत सम्झँदै भन्छन भाग्यले ठगेको ब्यक्तिलाई मान्छेले चाँहि न्याय दिन्छन र ?





