धुलिखेल/जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेसँगै जिल्लालाई घोषणा गर्ने तयारी शुरु गरिएको छ ।
पुष ९ गते सोमबार जिल्लालाई घोषणा गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेको भन्दै पौष १५ गते भित्र खुल्ला दिसा मुक्त घोषणा गर्ने तयारी गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए । ९९ प्रतिशत घरमा शौचालय निर्माण सकिएकाले जिल्लालाई नै खुल्ला दिसा मुक्त गर्ने निर्णय यस अघि गरिएको थियो । पौष ५ गते भित्र खुल्ला दिसा मुक्त गाउँपालिका र नगरपालिका घोषणा गर्न बाँकी स्थानीय सरकारले घोषणा गर्ने र पौष ९ गते जिल्लालाई नै खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय गरिएको थियो । पौष ९ गतेसम्म सबै स्थानीय तहले खुल्ला दिसा मुक्त घोषणा गरेका छन् । स्थानीय सरकार पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा खानीखोला, महाभारत, गाउँपालिका लगायतमा खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । धुलिखेल, पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा आईतबार खुल्ला दिशामुक्त घोषणा गरिएको छ भने खानिखोलामा शनिबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । सोमबार विहान बनेपा नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो ।
धुलिखेल नगरपालिकामा खानेपानी तथा सरसफाई मन्त्री विना मगरको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा लगायतले नगर क्षेत्रको सरसफाईका बारेमा नगरबासीहरुलाई आवश्यक सहयोग पु¥याउने बताएका थिए । पनौती नगरपालिकामा सांसद गंगाबहादुर दोङ्ग प्रमुख अतिथी रहेका थिए । नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा लगायतले नगरको विकासलाई सरसफाई कोसेढुंगा हुने बताएका थिए ।









