नगरकोट/मण्डन देउपुर नगरपालिकाका नगरकोटदेखि साविकको वालुवापाटी देउपुरको अट्टेडाँडा समेतलाई हेर्ने गरी प्रहरीचौकी स्थापना गरिएको छ ।
मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्कता महसुस गर्दै मण्डन देउपुर नपा–२ मा प्रहरीचौकी स्थापना गरिएको बताए । प्रहरी चौकीलाई आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाईकल, पकाउन आवश्यक रहेको भाँडाकुँडाको समेत मण्डन देउपुर नगरपालिकाले व्यवस्थापन गरेको छ । प्रहरीचौकीलाइ आवश्यक रहेको भवन समेत नगरले उपलब्ध गराएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख टोकबहादुर वाईवाले आवश्यकताको आधारमा प्रहरीचौकी स्थापना गरिएको बताए ।
अस्थायी प्रहरी पोष्ट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी काभे्रका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रहरी जनताको सेवक भएको बताउँदै जनताका हरेक सुखदुखमा प्रहरीले निरन्तर सेवा दिने बताए । उनले यहाँको आवश्यकता सुरक्षाको दृष्टिकोणवाट प्रहरीचौकी स्थापना गरेको बताउँदै आगामी दिनमा स्थायी चौकी बनाउन आवश्यक पहलकदमी गर्ने बताए ।
काभ्रेका प्रहरी प्रमुख एसपी रविराज खड्काले चीनसँग सिधै नाका पर्ने र विभिन्न देशवाट आउने पर्यटकहरुको सुरक्षाको लागि र चोरी निकासी नहोस् भन्ने उदेश्यले प्रहरी चौकी स्थापना गरेको बताए ।
नगरका सल्लाहकार गोकुल गौतमले नगरकोटहुँदै सिपाघाटवाट अवैध गतिविधी हुने भएकाले त्यो कार्य रोक्न प्रहरी चौकी फलदायी हुने बताए । कार्यक्रममा बोल्दै वडा नं ६ का अध्यक्ष एंव मण्डन देउपुर नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यले सबैको सहयोगवाट नगर अघि बढेको बताए । वडा नं २ का अध्यक्ष केशव तिमल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन वडा नं २ का अध्यक्ष लक्ष्मण बस्ताकोटीले गरेका थिए । मण्डन देउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारीले संचालन गरेको कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष ईन्द्रबहादुर तामाङ, नेकपाका नेता उद्धव ढकाल, नेपाली कांग्रेसका बुद्धिबहादुर तामाङ, नेमकिपाका कृष्णबहादुर तामाङ, राप्रपाका तिलकबहादुर तामाङले मन्तव्य राखेका थिए ।









