2026 August 26/ 02:06: 29am

कानून बन्यो भने पनि, संविधान जारी भए पनि ब्यवहारमा कार्यान्वयन नहुँदा सम्म न्यायको महसुस हुँदैन । पुरुषहरुले जे गरे पनि महिलाहरुले सहनै पर्ने ? महिला भनेको विक्रीका लागि राखिएका बस्तु हुन् ? अहिले पनि पुरुषहरुले त्यहि सोचिरहेका हुन्छन् । परिवर्तन जति होस् । ब्यक्ति भित्र रहेको पुरुषत्वको दम्भले महिलाहरुलाई जहिले त्यहि दृष्टिकोणले हेरि रहन्छन् । कहिले हो यस्तो सोचको परिवर्तन ?
    भावीले लेखेको मात्रै पाँइदो रहेछ । अरु रुख चढे भनेर आफु सगरमाथा चढ्न खोज्नु भएन । भावीले जे लेखि दिएको छ त्यहि भोग्नुपर्ने मानव चोलामा कसलाई के भन्ने ? आफै दुःख सुख गरेर खाएको पनि देख्न नसक्ने यो समाजमा जसले गरिरहेको छ पाप उसको मात्रै हुने रहेछ फलिफाप । धर्मका नाममा जतिसुकै जोगिन खोज्यो, अरुलाई दुःख नदिन खोज्यो त्यति नै हेप्ने र पेल्ने यो समाजको रिति नै रहेछ । ओरालो लागेको बेला मृग जस्तै समाजमा अलिक केहि भएन भने सबैले हेर्ने दृष्टिकोणमा आकाश जमिन फरक पर्ने रहेछ । खै के खै के ? त्यति धेरै बुझ्ने भई दिएको भए यस्तो मर्म किन भनिरहनु पर्दथ्यो र ? बुबा आमाले धेरै माया गर्ने सन्तान मध्ये म पनि पर्दथें । चार दाजुहरु र तीन दिदीहरु पछिको म । ८ सन्तान जन्माएर पनि आमा हामी भन्दा धेरै काम गर्न सक्नुहुन्थ्यो । घरभरी भैंसी र बाख्रा हुन्थे । दिनभरी भैंसीहरु लिएर जंगल जाने र साँझ मात्रै फर्कने नियमित चलन नै थियो । के को विद्यालय हुनु र अध्ययन गर्नु ? सबैको नियति नै त्यहि थियो । दाजुहरु अलिक ठुला भएपछि कोहि शहर गए । कोहि घर तिरै हाम्रै शैलीमा भंैसी पालन गरेर बसे । जंगलमा के उम्रन्छ र ? कहिलेकाँहि हामी शहरमा गाउँमा हुने सिमीहरु लिएर आउने गरेका थियौं । १३ वर्षको उमेरको थिएँ होला बुबाले काठमाडौसम्म जाने कुरा गर्नुभयो । बाटोमा बास पर्दा भोक लाग्छ भनेर हामीले घरबाटै मकै बोकेर आएका थियौं । मैले काठमाडौं शहर देखेको थिइनँ । काठमाडौमा हिड्न लहरीहरु पनि देखेको थिइनँ । दिदीहरुको विवाह भैसकेको थियो । उतिबेला विवाह सानै उमेरमा हुन्थ्यो । दिदीहरु सायद ९÷१० वर्षको हुनुहुन्थ्यो होला । म पनि सानै थिएँ । १३ वर्षको उमेरमा मेरो विवाहको कुरा भईरहेको थियो । बुबा आमाले त्यहि केटा तिम्रो लागि हो भनेर भनिसक्नु भएको थियो । नभन्दै त्यहि केटासँग मेरो विवाह भयो । पाँचखाल नगरपालिकाको कार्यालयमा न्यायिक समिति गठन हुनुपूर्व नै दर्ता भएको काभ्रेपलाञ्चोक जिल्ला साविक पाँचखाल गाविस वडा नम्वर ६ हाल पाँचखाल नगरपालिका वडा नम्वर ४ बस्ने मेरो श्रीमान् समीर श्रेष्ठले उजुरी गर्नु भएको रहेछ । सिन्धुपलाञ्चोक जिल्ला बाह्रबिसे गा.वि.स वडा नं ८ माईती भएकी म काभ्रेपलाञ्चोक जिल्ला साविक पाँचखाल गाविस वडा नं ६ हाल पाँचखाल न.पा वडा नं ४ मा बस्दै आएको छु । विवाहको केहि वर्ष राम्रो थियो । श्रीमान् श्रीमती सँगै बस्ने सपना छाडेर कमाईका लागि गाउँ छाडेर शहरमा नोकरी गर्ने कुरा भयो । मैले घर ब्यवहार सम्हाल्ने उनि नोकरीमा जाने । केहि वर्ष उनि काठमाडौ गएर काम गरे । घरमा केहि पैसा कमाएर ल्याए पनि । विस्तारै उनको र मेरो सम्बन्ध विग्रदै गयो । उनले घर परिवारलाई बेवास्ता गर्दै गए । केहि सीप नलागे पछि मैले स्थानीय तहमा रहेको न्यायिक समितिमा उजुरी दिएँ । मुद्दा मामला गर्न पैसा पनि थिएन । उ सुध्रदै गयो भने सहज हुन्छ भन्ने मेरो सोचलाई उनले पटक पटक लात हानेका थिए । श्रीमतीलाई खान लाउन दिदै आएको, वैवाहिक सम्बन्धबाट जन्मेका दुई सन्तानको पनि उचित लालनपालन गरेको भए पनि बिगत ५ वर्ष अघि देखि सम्बन्धमा उतार चढाव आयो । जागिरको सिलसिलामा बाहिर जाँदा श्रीमान्ले शंकाको दृष्टिले हेरेको, घरपरिवार सँग अनावश्यक कुरामा रिसिवी राख्ने, मुखमुखै लाग्ने गरेको, बारम्बार ज्यान मार्ने धम्की दिएको, निजलाई सम्झउँदा, बुझाउँदा पनि नमान्ने, घर परिवार र बालबच्चा प्रतिको आवश्यक जिम्मेवारी पूरा नगर्ने, धेरै भन्दा धेरै मानसिक यातना दिने गरेकोले २ वर्ष देखि अलग भै बसेका थियौं ।
आफ्नो दायित्वबाट सधैँ पन्छिएर घर छोडी सधै माइतमा गई बस्ने गरेकोले पत्नीसँग वैवाहिक नाता कायम राख्नु भन्दा सम्बन्ध बिच्छेद गर्नु नै श्रेयस्कर हुने भएकोले, लोग्ने–स्वास्नीको नाता सम्बन्ध नरहने सम्बन्ध बिच्छेद हुने गरी मुलुकी ऐन लोग्ने स्वास्नीको १ र १ (क) नं बमोजिम राय संलग्न राखि सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको लागि निर्णय पेश गरी पाउँ भनी श्रीमान्ले निवेदन दिनु भएको थियो । सम्बन्ध बिच्छेद गरी पाउँ भनी पाँचखाल नगरपालिकाको कार्यालयमा दिएको निवेदन तथा लोग्नेस्वास्नीको १ नम्वरले यो निवेदन सुन्ने अधिकार नगरपालिकाको अधिकार क्षेत्र भित्र पर्ने भएकोले उजुरीलाई सदर गर्दै मेलमिलापको लागि पाँचखाल न.पा वडा नं.४ को वडा कार्यालय पठाइयो । बारम्बार प्रयास गर्दा पनि वडामा मेलमिलाप हुन नसकेकोले गर्दा यो सम्बन्ध बिच्छेदको मुद्दा पुन न्यायिक समितिको उजुरी ढाँचामा सम्पूर्ण प्रमाणहरु सहित नगरपालिकाको कार्यालयमा दर्ता भयो । विपक्षी पत्नीलाई जानकारी गराई तारेख दिएर प्रतिवादी उत्तर सहित नगरपालिकामा हाजिर हुनुपर्ने जानकारी गराईयो । प्रथम पक्षले निवेदनमा दाबी गरेको सबै आरोपहरु नाटकीय शैलीको थियो । दोश्रो पक्ष चाहीँ प्रथम पक्षबाट अन्यायमा परेको पुष्टि भयो । प्रथम पक्षले पति र अभिभावकको जिम्मेवारी पूरा नगरेको, आमाद अनुसारको कुनै पनि आर्थिक सहयोग नगरेको, दोश्रो पक्षलाई बढि मानसिक यातना दिएको, सन्तान प्रति पुरा गर्नुपर्ने कुनैपनि जिम्मेवारी पुरा नगरेको,  प्रथम पक्षले गर्दा दोश्रो पक्षलाई गाँस, बाँस र कपासको लागि कठिन परेको, प्रथम पक्षले बाहिर फरक ब्यक्तिसँगको सम्बन्धलाई बढावा दिएको, दोश्रो पक्षले जेनतेन गरेर आफ्नो सन्तानलाई राम्रो विद्यालयमा पठनपाठन गराएको भन्ने कुराका आधारहरु फेला परे ।
न्यायिक समितिले सम्पुर्ण प्रमाणहरुलाई निष्पक्ष ढंगबाट अध्ययन गरी दुबै पक्षको धारणा समेत लिएर धेरै पटकको छलफल पश्चात् प्रथम पक्षबाट दोश्रो पक्षलाई आवास निर्माणको लागि जग्गा र आर्थिक सहयोगको व्यवस्था गर्ने कुरामा सहमति जुटायो । प्रथम पक्षको माग कुनै पनि हालतमा सम्बन्ध बिच्छेद गर्नुपर्ने भएको र दोश्रो पक्षले सकेसम्म सम्बन्ध बिच्छेद गर्दै नगर्ने कुरा गरकोले बारम्बारको छलफलबाट पनि यो विवादमा मेलमिलाप हुन सकेन । दोश्रो पक्षलाई मात्र अनुकुल हुने गरि न्यायिक समितिले फैसला ग¥यो भन्दै प्रथम पक्षले काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला अदालतमा पुनरावेदनको लागि अपिल गरे । न्यायिक समितिको अधिकार क्षेत्रभित्र सम्बन्ध बिच्छेदको मुद्दामा मेलमिलाप मात्र पर्ने भएकोले र बारम्बार कोशिस गर्दा पनि मेलमिलाप गराउन नसकिएकोले सम्पूर्ण सक्कल कागज र न्यायिक समितिको निर्णय र राय सहति बाँकी कानुनी प्रकृयाको लागि उक्त विवादलाई जिल्ला अदालत पठाइयो । अदालतले न्यायिक समितिले गरेको निर्णयलाई नै सदर गरिदिएको छ । अहिले हामी सँगै छौं । न्यायिक समितिले मिलाउन खोजेको प्रयास हामीले मानेनौ तर अदालतले पनि त्यहि आदेश ग¥यो । विवादको विषयमा विवाद दर्ता गराउने पक्ष पिडित नभएर दोस्रो पक्ष पिडित देखिएकोले पाँचखाल नगरपालिकाको न्यायिक समितिले पिडित कै पक्षमा निर्णय गरेको थियो । सम्वन्ध विच्छेद गर्ने कुरामा सहमति जनाए सबै थोक सुम्पन्न तयार हुने तर सम्वन्ध विच्छेद नै नगर्ने कुराको अडानमा न्यायिक समितिले धारणा बनाउन सकेको थिएन । प्रथम पक्षको अन्यत्र सम्वन्ध भई दोश्रो विवाहको तयारी भएका कारण पनि परिवार विग्रन नदिन अनेक प्रयास भएका हुन् । संहिता कानुन अनुसार उनले सम्बन्ध विच्छेद गरे पनि न्यायिक समितिले गरेको निर्णयले उनको हक कायम भएको छ । अदालत पुग्नु अगावै प्राप्त गरेको न्यायले दोश्रो पक्ष खुशी छ ।
सामाजिक सञ्जाल अनि तिनले बनाएका सम्बन्धका कारण वर्षाै देखिका सम्बन्ध भत्कन थालेका छन् । एकले अर्काेलाई विश्वास गर्ने आधार भत्कन थालेका छन् ।     भत्कन थालेका सम्बन्धहरुलाई स्थायी बनाउन विश्वास जरुरी छ । विश्वास गरिरहँदा एकले अर्काेलाई घात गरिनु हुँदैन । हाम्रो अविश्वास र धोकालाई न्यायिक समितिका कारण स्पष्ट पार्ने अवसर दिलायो । अभिभावकहरुले हामीलाई गरेको माया र विश्वासलाई हामीले सन्तानको भविष्य हेरेर पनि त्यो निर्णय लियौं । हाम्रो जस्तो जीवन आउने उतारचढाव अरुकोमा नआओस् । भावीले लेखेको सबै भोग्नैपर्छ । सायद हामीले पनि त्यहि भोगेको होला ।


सिता श्रेष्ठ
पाँचखाल, काभ्रे