प्रस्तुतीकरणका लागि अमेरिकामा प्रमुख ब्याञ्जु
धुलिखेल/दिगो विकासका लक्ष्य अन्र्तगत चारवटा लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी सम्बन्धी स्वेच्छिक समीक्षामा धुलिखेल दक्षिण एसियामा पहिलो नगरपालिका घोषणा भएसँगै त्यसको प्रस्तुतीकरणका लागि नगर प्रमुख अशोक ब्याञ्जु अमेरिका पुग्नु भएको छ । ब्याञ्जु मंगलबार असार २१ गते अमेरिका जानु भएको हो । नेपालका कुनै नगरपालिकाले उक्त अभियानमा आफुलाई अघि सार्न सकेका छैनन् ।
स्थानीय समीक्षा घोषणा भएसँगै धुलिखेल नगरपालिकाका एवं नेपाल नगरपालिका संघका अध्यक्ष र अन्र्तराष्ट्रिय फोरमका अध्यक्ष समेत रहनु भएका अशोक ब्याञ्जुलाई नेपालको प्रतिनिधित्व गर्दै युनाईटेड नेशन हेडक्वाटर न्युओर्कमा प्रस्तुतीकरणका लागि निम्ता दिईएको थियो । ‘यो नेपाल र नेपालीका साथै धुलिखेलबासीहरुका लागि गर्वको विषय हो’–निवर्तमान प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हामी सधै धुलिखेलबासीको हितका लागि काम गर्छांै । धुलिखेलका लागि गरिएको कामले नेपालकै शिर उचो हुने गरेको छ ।’ यसअघि धुलिखेल कार्बन उत्सर्जनमा दक्षिण एशियाका १५ शहरमा पर्न सफल भएको थियो । दिगो विकासका लक्ष्यहरु मध्ये चारवटा लक्ष्य पूरा गर्ने धुलिखेल पहिलो भएको छ । पाँच वर्ष धुलिखेलले गरेको महत्वपूर्ण विकासका सूचकहरुका कारण यो लक्ष्य पूरा भएको हो ।
नगरपालिकाले युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ शहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षा गरेको हो । धुलिखेलमा पाँच वर्ष अघि जनप्रतिनिधि निर्वाचित हुँदा १४ प्रतिशत गरिबीको प्रतिशत थियो । अहिले गरिबी चार प्रतिशतमा झरेको छ । केहि वर्ष भित्र औसत गरिबीको संख्या शुन्य पु¥याउने लक्ष्य नगरपालिकाले लिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई हरेक क्षेत्रबाट सम्पन्न बनाउने गरी दिगो विकास लक्ष्यका मापदण्डहरु पूरा गर्दै गएको बताउनु भयो । नेपालकै पहिलो धुलिखेल ११ पातलेखेतको धिताल टोल र वडा नम्वर १ को देवीटार स्थित छाँगेमा शुद्ध खानेपानी उपलब्ध गराएको थियो । नगरपालिकाले ८४ प्रतिशत घरमा एक घर एक धारा खानेपानी उपलब्ध गराईसकेको छ । केहि महिनामा ९९ प्रतिशत घरमा खानेपानी पुग्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने नगरबासीहरुका लागि निःशुल्क शिक्षाको ब्यवस्था गरेको छ । अन्य पालिका तथा जिल्लाबाट आउने विद्यार्थीहरुका लागि ५० प्रतिशत निःशुल्क गरेको छ । शिक्षामा गुणस्तरीयता कायम गर्न सामुदायिक विद्यालयहरुमा एमजीएमल विधि, अंग्रेजी माध्यम तथा शिक्षकहरुलाई तालिम, भौतिक पूर्वाधारहरुको निर्माण लगायतका कार्य गरेको छ । नेपालमै पहिलो पटक धुलिखेलले स्वस्थ शहर कार्यक्रम शुरु गरेको छ । स्वेच्छिक स्थानीय समीक्षाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासयिक अधिकृत तारानाथ शर्मा वडा अध्यक्षहरु, विभिन्न शाखाका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।
के–के ग-यो नगरपालिकाले ?
धुलिखेल नगरपालिकाले हेल्दी सिटी अबधारणमा रहेर नगरको स्वास्थ्य प्रोफाइल तयार गरेको छ । गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा लैजान नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीहरूमा स्तरोन्नति गर्ने, आधुनिक औजारउपकरण उपलब्ध गराउने कार्य मार्फत सेवा अभिबृद्धि गर्ने तथा गुणस्तर बढाउने कार्य गरेको छ । नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा नं १ देवीटार स्वास्थ्य चौकी र वडानं १२ शंखु पाटीचौर स्वास्थ्य चौकीमा २४ सै सेवा प्रदान गरिने गरी सुरक्षित मातृत्व सेवा प्रदान गर्न बर्थिङ सेन्टरका रूपमा सेवा उपलब्ध गराइएको छ । वडा नं १० मा जेष्ठ नागरिकहरुका लागि मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको छ भने स्वास्थ्यका आपूर्ति तथा भण्डारण सम्बन्धी लजेस्टिक म्यानेजमेन्ट इलेक्ट्रोनिक माध्यममा ब्यबस्थापन छ । नगरपालिकाले महिला स्वास्थ्य स्वयं सेविकाको छुुट्टै ब्यक्तिगत खाता सञ्चालन गर्न लगाई मासिक रुपमा रु १००० भत्ता दिने गरेको छ । आयुर्वेदका सेवालाई वडा नं २ र ११ मा समेत बिस्तार गरिएकोे छ । नगर स्वास्थ्य केन्द्र लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट ब्लड सुगर तथा गर्भ परिक्षण लगायतका प्रयोगशालाका आधारभूत सेवाहरु विस्तार गरिएका छन । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगरभरीका स्वास्थ्य सुचनाहरुका उपलब्ध हुनेगरी हेल्थ लर्निङ सेन्टरको रुपमा विकसित गर्न स्वास्थ्य सुचना केन्द्र स्थापना गरिएको छ । नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा तथा प्रदान गरिएको छ भने काभ्रे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गरिएको छ । वडा नम्वर १ र २मा स्वास्थ्य चौकी भवन निर्माण सुरु भैसकेको छ । त्यसैगरी वडा नम्वर ९ काभ्रे भञ्ज्याङ्गमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल निर्माण शुरु गरेको छ ।





