काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडमा अध्यक्ष जितेन्द्र नकर्मीले ऋण लगानी गर्दा कमिसन लिएको विषय छानविनको दायरामा आउने भएको छ । तर उनको छानविन गर्न गठित समिति माथी सोहि संस्थाको लेखा समितिले प्रश्न उठाएर तत्काल अध्यक्ष नकर्मीलाई निलम्बन गरी शक्तिशाली समिति गठन गर्न लिखित निर्देशन दिएको छ ।
सहकारी भित्र भएको अनियमिताका बारेमा अहिले भित्र उकुसमुकस हुन थालेको छ भने बाहिर खासखुस हुन थालेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले सागर कपालीको संयोजकत्वमा सुरेन्द्र पौड्याल, जीवन श्रेष्ठ र विनोद सापकोटा रहेको समिति गठन गरेको थियो । उक्त बैठकमा लेखा समितिलाई जानकारी गराईएको थिएन । आर्थिक अनियमितताको प्रश्न उठेसँगै लेखा समितिले छानविन गर्नुपर्नेमा संचालक आफैले समिति बनाएर नौटकी गरेको छ भने लेखा अध्यक्ष जितेन्द्र नकर्मीलाई सोहि पदमा बहाल राखेर उपाध्यक्षको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रारम्भिक संस्था र सहकारी अभियानमा छारो हाल्ने उद्देश्यले उक्त छानविन समिति गठन गरिएको थियोे । अध्यक्ष नकर्मीले कमिसन लिएको त्यो तथ्य सहितको उदाहरण मात्रै हो । नकर्मीले ऋण लगानी गरे बापत १५ लाख रकम कमिसन खातामा जम्मा गर्न लगाएका थिए । नकर्मीलाई छानविन भएर प्रतिवेदन नआउँदासम्म जिम्मेवारीबाट बिदा लिन सुझाव दिएको भए पनि उनी टसमस भएका छैनन् । लेखा समितिको निर्णयले छानविन समिति काम शुरु नगर्दै विघटन भएको छ ।(हेर्नुस लेखा समितिको निर्णय)
उता जिल्ला सहकारी संघका प्रबन्धक ज्ञानेन्द्र दाहालको अनियमितताका बारेमा पनि संघको नेतृत्व मौन छ । संघको संचालक समितिको बैठकमा यो विषयले प्रवेश पाएन । दाहाल भ्रष्टाचारको दाग लागे पनि निरन्तर जागिर खाने सोचमा छन् । एउटा संघमा ७५ लाख अनियमित गरेको ब्यक्ति अर्काे संघमा प्रबन्धक भएका छन् । अनियमित गर्ने दाहाल र संरक्षण गर्ने संचालक विरुद्ध प्रहरीको सिआईवीमा उजुरी गर्ने तयारी भएको छ । ज्ञानेन्द्रले जिल्लाको १७ वटा सहकारीमा अनियमित गरेको रकम जम्मा गरेका थिए । आफ्नो खाता नभएको सहकारीमा श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए । चेष्टामा छानविन समितिले संघमा बुझाएको प्रतिवेदन प्राप्त भएको छ । जिल्ला सहकारी संघका प्रबन्धक ज्ञानेन्द्रलाई संरक्षण गर्ने, प्रतिवेदन सार्वजनिक नगर्ने र फेरी सोहि जिम्मेवारी दिएर राख्ने अभियानका संचालकहरु पनि दोषि भएको सहकारी विज्ञहरुले बताएका छन् । जिल्ला सहकारी संघका सचिव एवं कर्मचारी छनौट पदपुर्ती समितिका संयोजक निरञ्जन विष्टले ज्ञानेन्द्रको अनियमितता थाहा नभएको बताए । अनियमितताका बारेमा थाहा नै नभएकाले कर्मचारी नियुक्ति गरिएको विष्टले बताए । अब के गर्नुहुन्छ ? भन्ने प्रश्नमा विष्टले भने–‘ज्ञानेन्द्रले अनियमित गरेको जानकारी छैन, गरेको भए विचार गर्छौ ।’
बनेपाका दर्जनांै सहकारीहरु ब्यक्तिगत रुपमा चलेका छन् । सहकारी अभियानलाई उचोमा पु¥याई ब्यक्तिको जीवन परिवर्तन गर्ने सहकारीहरुको समेत बदनाम हुने गरी बनेपामा चलिरहेका केहि सहकारीका संचालक र कर्मचारीहरुलाई अनुसन्धान गरी कारवाही नहुने हो भने सिङ्गो सहकारी अभियान धरासयी हुने निश्चित भएको अभियन्ताहरुले बताएका छन् । जनागालमा रहेको स्वर्णिम सहकारी र बनेपाको चाँदनी चोकमा रहेको एशियन स्टार सहकारी एउटै ब्यक्तिको हो । स्वर्णिमका प्रबन्धक दिनेश राउत हुन् । उनले आफ्नै बाबुलाई अध्यक्ष राखेका छन् । कतिसम्म भने उनको संस्थामा लेखा समिति समेत छैन तर नक्कली अडिट गरेर हरेक वर्ष फरफार हुँदै आएको छ । उनकै सहकारी अर्काे हो एशियन स्टार । जसमा दिनेश अध्यक्ष छन् । उनका भाई उमेश राउत प्रबन्धक छन् । दिनेशकै कारण अखण्ड र विनायक सहकारीका रामसुन्दर कार्की फरार भएका छन् । दुवै संस्था बन्द छन् । दिनेश जस्ता धेरै ब्यक्तिले किलोमिटर रकम चलाएका कारण रामसुन्दर कार्की फरार भएका हुन् । बचतकर्ताहरुको रकम फिर्ता नगरेकै कारण रामसुन्दर र दुवै संस्थाका संचालक विरुद्ध ठगि मुद्दाको तयारी भएको छ । दिनेशले भाई उमेश र श्रीमती मनिषाका नाममा समेत कागजात बनाएर मिटर ब्याजमा रकम असुलिरहेका छन् ।





