स्थानीय तहको प्राथमिकता
आधारभुत आवश्यकता देखि परियोजना संचालनसम्म
धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकाको ११ औ अधिबेशनबाट १ अर्ब ३५ करोड रकम आगामी आर्थिक वर्षका लागि विनियोजन भएको छ । कुल विनियोजन मध्ये चालु खर्च तर्फ ६४ करोड ३ लाख ८ हजार, पुँजिगत खर्च तर्फ ७० करोड ५६ लाख ७२ हजार र वित्तिय ब्यवस्था तर्फ ४० लाख रकम विनियोजन भउको छ । बजेटका श्रोतहरु आन्तरिक राजश्व, संघ सरकारको अन्तरसरकारी हस्तान्तरण, प्रदेश सरकार अन्तरसरकारी हन्तान्तरण, विभिन्न परियोजना र जनसहभागिताबाट ब्यवस्थापन हुने जनाईएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले गत आर्थिक वर्ष २०७७/२०७८ मा ९५ करोड २० लाख ४० हजार ६ सय ८० र चालु आर्थिक वर्षमा १ अर्ब १५ करोड १५ लाखको बजेट प्रस्तुत गरिएको जानकारी गराउनु भयो ।
गरिव शुन्य नगरपालिका, कार्वन उत्र्सजन शुन्य नगरपालिका, पार्क नै पार्क भएको शहर, दीगो विकास लक्ष्यका अवधारणा अनुसार यस अघि पुरा भएका शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका अन्य थप पुर्वाधारहरु निर्माण गरिने बताउनु भयो । बजेटका नियमित प्राथमिकताका अलावा नागरिकहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी घर घर पु¥याउने, स्वस्थ शहर कार्यक्रमलाई थप प्रभावकारी बनाउने र नागरिकहरुलाई समृद्ध बनाउने अभियान शुरु गरिएको छ । स्वस्थ शहर कार्यक्रम मार्फत जनताको घर दैलोमा गुणस्तरीय स्वास्थ्य उपचार पु¥याउने, तथ्यमा आधारित स्वास्थ्य कार्यक्रम, बहुक्षेगत स्वास्थ्य अभियान, पोषणमैत्री शासन युक्त नगर तथा क्षयरोग मुक्त नगर घोषणा, आयुर्वेद अस्पतालको सेवा विस्तार गरिने बताईएको छ । रोग विरुद्धको चेतना ब्यक्ति ब्यक्तिमा, रोगको उपचार बस्ति बस्तिमा, स्वास्थ्य बीमा नगरको जिम्मा, निशुःक एम्बुलेन्स उपलब्ध गराईनेछ । बैज्ञानिक एवं बालमैत्री सिकाई मार्फत शिक्षामा गुणस्तर कायम गरिनेछ ।
खेलमैदानलाई अझै ब्यवस्थित गरी खेलकुदका कार्यक्रमहरुलाई प्रभावकारी बनाउने, महिला, बालबालिका, अपाङता भएका नागरिक, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशिताका सन्र्दभमा विशेष ब्यवस्था गरी प्राथमिकतामा राखेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । एक घर एक धारा नपुगेका १० प्रतिशत नागरिकहरुको घरमा आगामी आर्थिक वर्ष भित्रै धारा पु¥याउने योजना बनाईएको छ । नगर केन्द्र र वडा केन्द्र जोड्ने सडकहरु तथा अन्य नगर क्षेत्रका सडकरुलाई ब्यवस्थित गरिने, अन्य पूर्वाधार निर्माणमा विशेष ध्यान दिने लगायतका कार्यहरु रहेका छन् । धुलिखेल नगरपालिका भित्र पर्ने धुलिखेल बजार, श्रीखण्डपुर र इट्टे बजारलाई संरक्षीत र पुनर्निमाण गर्ने, पर्यटन विकासका लागि गुरु योजना अनुसार कार्यक्रम गर्ने, कृषि, पशुपालन तथा अन्य क्षेत्र मार्फत नागरिकहरुको विशेष आर्थिक समृद्धीका लागि जोड दिईएको छ । सहकारीहरु मार्फत आयआर्जनका कार्य गर्ने, गरिवी न्यूनिकरण तथा रोजगारी उद्यमी विकासका लागि विभिन्न योजना निर्माण गरी गरिव प्रतिशत शुन्यमा झारिनेछ । वन तथा वातावरण र विपद ब्यवस्थापन, सूचना, संचार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास र सुशासन, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्धका बारेमा पनि विभिन्न कार्यक्रम तय भएका छन् ।
नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिकाले ७४ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट पेश गरेका थिए । आयतर्फ आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपैयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ३ करोड रहेको छ । यस्तै संघीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड रहेको छ भने अन्य आयतर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपैयाँ रहेको छ ।
यस्तै खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपैयाँ र पुँजीगत खर्च ५७ करोड ३८ हजार रहेको छ । नगरपालिकाले सम्पूर्ण वडाहरुमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम ४ करोड बजेट विनियोजन गरेको छ भने वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले संघीय र प्रदेश सरकारको सहयोगमा सडक निर्माणका लागि उल्लेख्य बजेट विनियोजन गरेको छ । जसमा नगर स्तरीय रिंगरोडको परिकल्पनाको सुरुवात गर्न श्यामपाटि काउसे आरुबारीचौर पुजारीटापु सडकका लागि संघीय सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा रकम २ करोड ५० लाख बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ४ स्थित जयटार जनक मा.वि. चुवाने सडक थप कालोपत्रेका लागि २ करोड तथा बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर स्थित कानपुर डाँडागाउँ हुँदै वि.पि. राजमार्ग सडकका लागि २ करोड बजेट विनियोजन गरिएको छ । यस्तै बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर १० स्थित दाप्चा बसेरी सडक निर्माणका लागि रकम रु. २ करोड बजेट विनियोजन गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक बर्ष २०७८÷७९ को अहिलेसम्मका प्रगति विवरण पेश गरेका थिए । हालसम्म ६५ प्रतिशत भन्दा बढी प्रगति भएको र कतिपय योजना सम्पन्न हुने क्रममा रहेको, कतिपय योजना सम्पन्न भएर भुक्तानीको प्रक्रियामा रहेकाले आर्थिक बर्षको अन्त्यसम्म ८० प्रतिशत भन्दा बढी प्रगति हासिल हुने पौडेलले बताए ।
बनेपा नगरपालिका
बनेपा नगरपालिकाले १ अर्ब ५५ करोड २४ लाखको बजेट प्रस्तुत गरेको छ । बनेपा नगरपालिकाका सबै वडा कार्यालयसम्म पक्की सडकको पहु“च पु-याउने कार्यलाई निरन्तरता, नया“ सडक निर्माण गर्दा विद्यमान मापदण्डको पालनामा जोड दिदै अपा·ता मैत्री फुटपाथको व्यवस्था गरीनुका साथै खानेपानी र ढल निकासको काम समेत स“गस“गै लैजाने नीति, साविकका सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई विशेष जोड, नगर रहेको बसपार्कको पूर्वाधार सुधार गरी प्रविधि सहितको सुविधायुक्त बनाउन ध्यान दिइने, नगरका अन्य आवश्यक स्थानमा बसपार्क निर्माण गर्न उपयुक्त स्थान पहिचान गरी सम्भाव्यता अध्ययनको कार्य जारी राखिने बताएको छ । त्यस्तै पुण्यमाता करिडोर निर्माणको कार्यलाई निरन्तरता दिन उपयुक्त वातावरण बनाउने, साथै चण्डेश्वरी, चसी खोला,का“ध खोला लगायतका नगरभित्रका आवश्यकता पहिचान गरीएका खोलाको दा“याबा“या किनारमा हरित बेल्ट सहित करिडोर निर्माणका लागि अध्ययन गरी कार्यान्वयनको वातावरण मिलाउने नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । उपप्रमुख विमला सापकोटाले अरनिको राजमार्गको बनेपा नगरपालिका खण्ड दाया“वाया“को क्षेत्र व्यवस्थित नहु“दा हिलो धुलोको समस्या रहेकोले सडक विस्तार सुधारको योजना तत्काल कार्यान्वयन गर्न र सडक विस्तारको योजना कार्यान्वयन नभएसम्म हिलो धुलो रहित बनाउन आवश्यक निर्माण सुधारका लागि सम्बन्धित निकायमा पहल गरी कार्यान्वयनको व्यवस्था मिलाउने बताउनु भयो । बनेपा नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कमा नगर विकास कोषस“गको लागत सहभागितामा बहुतले सवारी पार्किङ स्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने योजनामा राखेको छ । आन्तरिक आयको दीगो अभिवृद्धिका लागि नगरपालिकाको स्वामित्वमा रहेका सम्पति बहालमा वा लिजमा दिने,नीतिलाई व्यवहारिक र प्रभावकारी बनाई कार्यान्वयन गरीने,कर, शुल्क तथा आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग बाणीज्य संघ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसंगको सहकार्यलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।
अरनिको राजमार्गका तीनदोबाटो र चारदोबाटो लगायतका व्यस्त क्षेत्रमा आकाशेपुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गरीने र ट्राफिक लाईटको ब्यबस्थापन गरिने, हाम्रो विद्यालय हाम्रो सपना भन्ने आदर्श वाक्य पुरा गर्न नगर क्षेत्र भित्रका चार वटा आधारभूत तथा माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउने, बाल तथा मातृ मृत्युदर न्यूनीकरणका लागि उपयुक्त बर्थिङ सेन्टर स्थापना र सञ्चालन लगायतका कार्यक्रमहरु विस्तार गरीने छ ।
पनौती नगरपालिका
पनौती नगरपालिकाले १ अर्ब ६० करोड १३ लाखको बजेट प्रस्तुत गरेको । नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको समयमा घोषणा गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्दै लैजाने बताउनु भयो । पनौतीमा एमालेको बहुमत सदस्य रहेकाले दुबै दलहरुले नगर विकासका लागि उठाएका एजेण्डालाई समेटदै लैजाने उहाँले बताउनु भयो । उपप्रमुख गिता बञ्जाराले बजेट प्रस्तुत गर्दै नागरिकहरुलाई हरेक हिसावले राहत दिने नीति अवलम्वन गरिएको बताउनु भयो ।
पनौतीको बसपार्क निर्माण, रंगशाला निर्माण, पुण्यमाता खोला किनारमा करिडोर निर्माण, मानव संशाधनको उच्चतम उपयोग गर्ने, किसान परिचयपत्रको व्यवस्था गर्ने, उत्पादनको योगदानको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउने देखि प्राकृतिक स्रोत साधनको दोहन रोक्ने सम्मको नीति ल्याइएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेको पनौती नगरले आधारभुत स्वास्थ्य सेवालाई घरदैलोमुखी ‘स्वास्थ्य जेष्ठ नागरिक’ कार्यक्रम संचालन गर्ने जनाएको छ। स्वास्थ्य संस्थामै सुत्केरी हुने दरलाई शत प्रतिशत पु¥याउन प्रोत्साहनका थप कार्यक्रम ल्याइने नगरप्रमुख भण्डारीले बताउनु भयो । सामुदायीक विद्यालयलाई प्रविधिमैत्री, गुणस्तरीय, सीप मुलक शिक्षा तर्फ उन्मुख गराउन आवश्यक नीति र कार्यगत व्यवस्था गर्ने, साना कृषि उत्पादनलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउन हाट वजार संचालनमा ल्याइने नीति लिएको छ ।
रोशी गाउँपालिका
रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजारको बजेट प्रस्तुत गरेको छ । आन्तरिक श्रोत १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ । सडक गुरुयोजना निर्माण, रोशीको गौरव आयोजना, गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रर्वद्धन, इन्टरनेट सेवा विस्तार लगायतका विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको अध्यक्ष दिनेश लामाले बताउनु भयो ।
बेथान्चोक गाउँपालिका
बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको हो ।गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन र स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको छ ।
गाउँपालिकामा सञ्चालन गर्नु पर्ने आयोजनाहरूको प्रोजेक्ट बैंक तयार गर्ने र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन पहल गर्ने योजना ल्याएको छ । गाउँपालिका प्रविधि मैत्री गाउँपालिकाको रूपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रूपमा विकास गर्ने, जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने, शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यवस्था मिलाउने, कृषि नीति, स्वास्थ्य नीति, पर्यटन नीति तर्जुमा गरी निजी क्षेत्रसँग समन्वय गर्ने नीति लिएको छ । प्रभावकारी यातायात व्यवस्थापनको लागी आफ्नो मौलिक पहिचान बोकेको बेथानचोक सफारीको व्यवस्था मिलाउने, फोहोर व्यवस्थापनका लागि वडा स्तरमा फोहोर व्यवस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने, जैविक, अजैविक फोहोरलाई उत्पादन तह देखी नै वर्गीकरण गरी जैविक फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन प्रेरित गर्ने योजना अघि सारेको छ । श्रम, सिप र उत्पादनसँग जोड्न माटो सुहाउँदो प्राविधिक शिक्षाको व्यवस्था गर्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग, आयलाई पुँजीसँग , पुँजीलाई लगानीसँग, लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धिसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राविधिक शिक्षालय स्थापनाको प्रयास गर्न कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।
मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १ करोडको बजेट प्रस्तुत गरेको छ भने पाँचखाल नगरपालिकाले १ अर्ब २९ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । खानीखोला गाउँपालिकाले ४७ करोड ४ लाख र महाभारत गाउँपालिकाले २८ करोड ५० लाखको बजेट प्रस्तुत गरेका छन् । भुम्लु, तेमाल र चौरीदेउराली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।





