2026 August 26/ 12:21: 33am

७ अर्ब ६६ करोड २० लाख खर्च 
    धुलिखेल/भुकम्प पछि काभ्रेपलाञ्चोक जिल्लामा निर्माण भएका विद्यालयहरुका लागि ७ अर्ब ६६ करोड २० लाख खर्च भएको छ । खर्च भएको सबै रकम अनुदानमा उपलब्ध भएको हो । 
    एडिबी मार्फत ईईएपी २ अर्ब ७० करोड ४८ लाख ९३ हजार, डिआरएसपी पहिलो चरणमा ६२ करोड ८८ लाख २८ हजार, दोश्रो चरणमा ५९ करोड ७३ लाख ६० हजार, तेश्रो चरणमा २८ करोड ७१ लाख र रेट्रोफिट ७ करोड ३७ लाख ७५ हजार रुपैया अनुदानका रुपमा प्राप्त भई खर्च भएको छ । भारत सरकारले ६० करोड ७० लाख ९९ हजार र आएनजिओ र एनजिओबाट १ अर्ब २३ करोड २४ लाख ८३ हजार रुपैया खर्च भएको छ । विद्यालय ब्यवस्थापन समिति मार्फत २ सय ७० वटा विद्यालय निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ३१ वटा विद्यालय निर्माण सम्पन्न हुने चरणमा छन् । ईईएपी मार्फत २८ वठा विद्यालय सम्पन्न भएका छन् । डिआरएसपीको पहिलो चरणमा १० वटा, दोश्रो चरणमा ९ वटा विद्यालय र तेश्रो चरणमा ३ वटा विद्यालय निर्माण भएका छन् । रेट्रोफिटमा १८ वटा विद्यालयहरुमा काम सम्पन्न भएको छ । पुनर्निमाण अन्तिम चरणमा पुगेका विद्यालयहरुमा शौचालय र खानेपानीको कार्य पनि सम्पन्न भएको छ । 
    शिक्षा विकास समन्वय इकाई काभ्रेका प्रमुख गोकर्णध्वज कार्कीले यस अघि डिएलपिआईयुले निर्माण गरिरहेको विद्यालय भवन, शौचालय तथा खानेपानी निर्माणका बाँकी कार्यहरु अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७६÷२०७७ सम्म १ सय ४६ मध्ये १ सय ५ वटा विद्यालयमा काम सम्पन्न भएको थियो । चालु वर्षको अन्त्यसम्ममा बाँकी विद्यालयमा शौचालय निर्माणको कार्य सम्पन्न हुनेछ । ८८ वटा खानेपानी आयोजनामा ६३ वटा विद्यालयमा सम्पन्न भईसकेको थियो । २५ वटा विद्यालयमा शुरु भएको खानेपानी निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको छ । 
    विद्यालय भवन निर्माणका लागि २ कोठे भवनमा २५ लाख ५० हजार खर्च भएको छ भने ४ कोठे भवनका लागि ६८ लाख ५० हजार खर्च भएको छ । ६ कोठे भवनका लागि ८६ लाख र ८ कोठे भवनका लागि १ करोड ९० लाख रुपैया खर्च भएको छ । शौचालय सानोमा १३ लाख ५० हजार र ठुलो शौचालयका लागि १५ लाख ५० हजार खर्च भएको छ । खानेपानीका लागि ६ लाख रुपैयाँ खर्च भएको छ ।