2026 August 27/ 01:54: 06am

जोखिममा बचत, अगुवाहरु नै अनियमितताको मतियार
मोतीराम तिमल्सिना
बनेपा

    बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत तत्कालिन प्रबन्धक ज्ञानेन्द्र दाहालले सहकारीको सफ्टवेयर मिलाएर ६९ लाख रुपैयाँ अनियमित गरे । तत्कालीन संचालक समितिले छानविन समिति बनायो । छानविन समितिले प्रबन्धक ज्ञानेन्द्र दाहालले सदस्य संस्था मार्फत प्राप्त ब्याज संस्थागत आम्दानी हुनुपर्नेमा त्यसो नगरी ब्यक्तिगत भुक्तानीका लागि आफुले भनेको मान्ने संस्थामा पठाएको जानकारी पायो । तत्काल दाहाललाई निलम्वन गरी अनियमित गरेको ६९ लाख १२ हजार ७ सय ६९ रुपैयाँमा १० प्रतिशत ब्याज जोडेर ७५ लाख ७७ हजार ९ सय १३ रुपैयाँ संघकै खातामा जम्मा गर्न लगाईयो । उनलाई कारवाही स्वरुप जेल पठाउनु पर्ने भए पनि सहकारी अभियानलाई असर पर्ने सोचेर संचालकले सफाई त दिएन तर काम गरेको अनुभव पत्र दिएन । 
    एउटा संघमा अनियमित गरेको पुस्टी हुँदा हुँदै ज्ञानेन्द्र दाहाल पुनः जिल्ला सहकारी संघको प्रवन्धक नियुक्ति भए । विज्ञापन अनुसार उनको अनुभव पनि पुग्दैन । ७ वर्षको अनुभव भएको ब्यक्तिले स्नातक र ४ वर्ष अनुभव भएको ब्यक्तिलाई स्नात्तकोत्तर अध्ययन गरेको हुनु पर्ने शर्तमा दाहालले काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा काम गरेको अनुभव पेश गर्न सकेका छैनन् । उनको शैक्षिक योग्यता स्नातक मात्र रहेको छ भने अनुभव पनि ३ वर्षको रहेको छ । सहकारीमा काम गरेको ३ वर्षको कागजातलाई ७ वर्षको बनाएर जिल्ला सहकारी सघमा प्रवन्धक नियुक्ति गरिएको छ । एउटा संस्थामा ७५ लाख अनियमित गरेको रकम तिरेर विदा भएका प्रवन्धक दाहाल जिल्ला भरीकै सहकारीहरुको छाता संस्था सहकारी संघको प्रबन्धक नियुक्ति भए । सहकारी अभियानमा धब्बा लगाउन र सहकारी भित्र मौलाउँदै गएको बैद्यानिक लाईसेन्स सहितको अनियमित प्रकरणमा जिल्ला सहकारी संघका पदाधिकारीहरुले साथ दिएको उक्त घटनाले पुस्टि गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष दिलिप जंगम लगायतको नेतृत्वले अनियमित गरेका ब्यक्तिलाई पुनः नियु्क्ति दिनुले झन रहस्यमय बनाएको सहकारीकर्मीहरुले बताएका छन् । २०७८ माघ २४ गतेको विज्ञापनले उनी प्रबन्धकमा नियुक्ति भएका थिए ।
    बनेपामा रहेको युनिटी साकोसका प्रबन्धक शैलेश कपालीका कारण संचालकहरु असुरक्षित भएको र बचतकर्ताको रकम जोखिममा परेको भन्दै संचालकहरुले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, बनेपा नगरपालिका, बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ र बागमति प्रदेश सकारलाई समेत उजुरी दिए । शैलेस अहिले बनेपामै छन् । सहकारीको हिसाव छानविन भईरहेको छ । तर पनि बचतकर्ताहरु ढुक्क हुन सकेका छैनन । संचालकहरुलाई गुमराहमा राखेर प्रवन्धक शैलेस कपालीले गरेको कारोवारका बारेमा छानविन भईरहेको छ । 
    बनेपामा रहेका मालाश्री, अखण्ड, विनायक जस्ता सहकारीका प्रवन्धक र संचालक सबै फरार छन् । बचतकर्ताहरुको रकम हिनामिना गरी फरार भएकाहरुको खोजी जारी छ । बचतकर्ताहरु कानुनी उपचारमा गएका छन् । बनेपामा रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कैलाश पलाञ्चोके र संचालकहरु विरुद्ध अदालतमा ठगि मुद्दा दर्ता भएको छ । बनेपामा रहेका स्थानीय र विभिन्न पेशा ब्यवसाय गर्नेहरुले खाईनखाई जम्मा गरेको रकम सहकारीका संचालक र प्रवन्धकहरुकै कारण डुबेको छ । 
    न्हुज साकोस बनेपाका प्रबन्धकले एक करोड भन्दा धेरै रकम अपचलन गरेकी छिन् । अध्यक्ष रामप्रसाद मानन्धरले उनिबाट अपचलन भएको रकम असुल्ने प्रकृया शुरु भएको संचालक समितिमा जानकारी गराएका छन् । परिकल्पना साकोसका किरण थापा प्रवन्धक भएको समयमा सहकारीको रकम नक्कली ऋणी खडा गरेर आफै चलाएको सूचना पाए लगत्तै निलम्वन गरिएको थियो । उनले झण्डै एक करोड रकम चलाएका थिए । संचालक समितिले उनलाई कारवाही गरी रकम असुलेको बताएको छ । त्यस्तै बनेपाका अन्य केहि सहकारीका प्रवन्धकहरु मार्फत रकम अनियमित भईरहेको संचालकहरुले समेत सूचना प्राप्त गरेका छैनन । जतिबेला जानकारी हुन्छ त्यतिबेला बचतकर्ताहरुको रकम डुविसकेको हुन्छ । संचालकहरुलाई समेत जानकारी नदिई ठेक्कामा संचालन भईरहेका सहकारीहरुको नियमन नहुँदा बनेपामा मात्रै ४० भन्दा धेरै सहकारीमा बचत गरेको रकम संकटमा परेको छ । सहकारीका संचालकहरुले इन्धन र संचारका नाममा सुविधा लिने गरेका छन् । (चेष्टाले आगामी अंकहरुमा सुविधा लिने संचालकहरुका बारेमा थप समाचार प्रकाशन गर्नेछ ।)
    उता काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले २५ औं वर्ष पुगेको उपलक्ष्यमा रजत महोत्सव मनाउने तयारी गरेको छ । तयारी स्वरुप जिल्लामा कार्यरत ब्यवस्थापकहरुको भेला गराउने योजना थियो । यता योजना बन्दै थियो उता जिल्ला सहकारी संघमा केहि महिना अघि नियुक्ति पाएका ज्ञानेन्द्र दाहालले पहिलाको जस्तै गरी भेला सम्पन्न गरिसकेका छन् । भेलामा सहभागि हुन प्रति सहकारीका प्रवन्धकहरुलाई ७ हजार ५ सय शुल्क लिईएको थियो । भेलामा सहभागि भएकाहरुलाई ब्याग उपलब्ध गराउने भनिए पनि लेखा समिति र संचालकहरुलाई नै पुगेन । उनिहरुको भागमा आएका ब्याग र अन्य सुविधा २६ जना पत्रकारहरुलाई उपलब्ध गराईएको थियो । योजनामा यसरी.............................
पत्रकारहरुलाई ब्याग दिने तयारी थिएन । 

संघकै अध्यक्षले लिए कमिसन
    काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष जितेन्द्र नकर्मीले सदस्य संस्थाहरुलाई लगानी गरेको ऋण रकममा कमिसन लिने गरेको तथ्य बाहिरिएको छ । अघिल्लो संचालक समितिमा रहँदा नकर्मी ऋण समितिका संयोजक थिए । ऋण संयोजक हुँदाका बखत नकर्मीले ऋण लगानी गरेका केहि संस्थासँग कमिसन लिएका थिए । चालु आर्थिक वर्षमा तथ्य सार्वजनिक भएको युयम साकोससँग लिएको १५ लाख रकमको हिसाव मिलान गर्न नसके पछि नकर्मी थप संकटमा परेका छन् । उनि बनेपा बचत तथा ऋण सहकारी संस्थामा कार्यरत छन् । संचालक र कर्मचारी दुबै जिम्मेवारीमा रहेका नकर्मीले बनेपा बचत मार्फत नै कमिसन लिने गरेका थिए । 
    २०७८ साउन ११ गते काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीले युयम साकोसलाई लगानी गरेको ४ करोड ५ लाख ऋण मध्ये १५ लाख बनेपा बचत तथा ऋण सहकारी संस्थामा जम्मा भएको छ । युयम साकोसका प्रवन्धक रुसन श्रेष्ठले संस्थाले ऋण लिए बापत कमिसन बापत १५ लाख रुपैया जम्मा गरिदिएका हुन् । ऋण लिए लगत्तै रुसनले आफुले लिएको ब्यक्तिगत ऋण मध्ये १ करोड रकम सुलभ साकोसमा जम्मा गरिदिए । सुलभमा रुसन आफैले लिएको ऋण फिर्ता गरेका थिए भने बनेपा बचत तथा ऋण सहकारीमा ऋण मिलाई दिए बापतको कमिसन फिर्ता गरिदिएका थिए । जितेन्द्रले बनेपा बचत तथा ऋण सहकारी संस्थाका नाममा युएम साकोसले २०७८ साउन ११ गते जम्मा गरिदिएको रकम २०७९ असार ७ गतेसम्म निकालेका छैनन । युएम र बनेपा बचत बीच ऋण कारोवार छैन । गर्न पनि मिल्दैन । युएमका रुसन श्रेष्ठले बनेपा बचतबाट ब्यक्तिगत ऋण ४० लाख भन्दा धेरै लिएका छन् । उनले लिएको ऋणमा पनि १५ लाखबाट घटाइएको छैन । आर्थिक वर्षको अन्त्यमा उक्त रकम मिलान गर्ने गरी जितेन्द्रले रुसनसँग कमिसन लिएका थिए । बनेपा बचतमा युएमबाट आएको उक्त रकमका बारेमा खोजतलास शुरु भएको छ । तथ्य भएको एउटा उदाहरण मात्रै हो । संघका अध्यक्ष नकर्मीले ऋण लगानी गर्दा कमिसन लिने र जम्मा हुने नौलो कुरा होईन । रुसन यसअघि सिन्धु विकास बैकको जग्गा प्रकरणमा पनि जोडिएका थिए । दुईवटा जिल्लामा सहकारी संचालन गरिरहेका रुसनको सहकारी ब्यवस्थापन र अन्य विषयमा विभागले अनुगमन शुरु गरेको छ । उनले सहकारीको कागज बनाएर ब्यक्तिका नाममा धितो पास गर्ने गरेको खुलेको छ । बनेपामा यस्तो अभियानमा संलग्न धेरै सहकारीका संचालक छन् । जसले कागज सहकारीका नाममा र ऋण धितो ब्यक्तिका नाममा रोक्का राख्दै आएका छन् । 

सहकारीको रकम किलोमिटर ब्याजमा
    महांकाल भुग्देउ रियल स्टेटका अध्यक्ष दिपक थापा अहिले किलोमिटर ब्याजका कारण फरार छन् । उनको कम्पनीमा हरि श्रेष्ठ सचिव छन् भने विनोद रायमाझी कोषाध्यक्ष छन् । ऋषी सापकोटा संचालक छन् । 
    जग्गा ब्यवसायी थापाले बनेपा र आसपासका ब्यक्तिहरुसँग लिएको किलोमिटर ब्याज समयमै फर्काउन नसक्दा उनको घर र कार्यालय दुबैमा तीन साता देखि ताला लगाईएको छ । युएम साकोस बनेपाका प्रवन्धक रुसन श्रेष्ठले किलोमिटर ब्याजमा लगाएको ३ करोड रकम भने दिपकले फिर्ता गरेका छन् । 
    २५ करोड जति रकम फिर्ता गर्न बाँकी रहेको बताउने थापाले ब्यक्तिगत ऋण खोजेर तिर्ने तयारी गरेको भए पनि सम्भव भएको छैन । उनले पैसा लिदै जग्गा अरुका नाममा कागज गरिदिएका छन् । किलोमिटर ब्याजीहरुले समयमै पैसा नर्फकाउने हो भने जग्गा पचाउने चेतावनी दिदै घरमै पुगेर ताला लगाएका थिए । बनेपाका २ दर्जन भन्दा धेरै सहकारीका संचालकहरुले सहकारीबाट कागज बनाएर कम ब्याजदरमा ऋण लिने र किलोमिटर ब्याजमा लगाउने गरेका छन् । युएम साकोसका रुसन प्रतिनिधि पात्र मात्रै हुन् । उनले आफ्नै सहकारीको करोडौ रकम ब्यक्तिगत चलाउने गरेका छन् । युएम साकोस कानुन विपरित संचालन भईरहेको छ । ऋण लगानीमा होस् वा संचालक समितिको छनौट र कर्मचारी ब्यवस्थापनमा पनि । 
    बाबु अध्यक्ष राखेर छोरा रुसन आफै प्रवन्धक छन् । जसले सहकारी सुशासन सिकाउँछ, सदस्य सस्थाहरुलाई नियमन गर्न समन्वय गर्छ त्यहि संस्था काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीमा उनि संचालक छन् । उनले सहकारीबाट ब्यक्तिगत ऋण लिएर किलोमिटर 
ब्याज, जग्गा ब्यवसाय र शेयरमा लगानी गरेका छन् । अहिले आर्थिक मन्दिका कारण जग्गा र शेयरको मुल्य घटेका कारण उनले मिटर  ब्याजमा लगाएका ब्यक्तिहरु पनि संकटमा छन् । उनि पनि संकटमा छन् । उनि संकटमा हुँदा युयम साकोसमा रकम जम्मा गर्ने बचतकर्ताहरु थप जोखिममा परेका छन् । (सहकारीको रकम किलोमिटर ब्याजमा आगामी अंकहरुमा क्रमश समाचार आउनेछ ।) बनेपाको तरकारी बजारमा फलफुल पसल गर्दै आएका भारत घर भएका ब्यवसायी पनि किलोमिटर ब्याजकै कारण फरार भएका छन् । उनले बजारमा ६ करोड रकम तिर्नु रहेको बताईएको छ । सहकारी तथा ब्यक्तिसँग लिएको ऋण उनले फर्काउन सकेका छैनन् । पैसा तिर्न नसकेकै कारण उनि फरार भएका हुन् ।