यसरी भागे शोभा साडी पसलका सञ्जय चौधरी
बनेपाका केहि सहकारी, सहकारीका संचालक र अगुवा मिटर ब्याज, ढुकुटी र अनियमितता गरेका ब्यक्तिको बचाउमा सक्रिय छन् ।
यि हुन सञ्जयले मिटर ब्याज तिर्ने साहुजीहरु
- पसलको घरबेटीसँग ३० लाख – २ रुपैयाँँका दरले मासिक ७० हजार ब्याज
- उदय जुत्ता पसलबाट ३ लाख– १३ रुपैयाँ ब्याज
- अर्काे जुत्ता पसलबाट २ लाख – १३ रुपैयाँँ ब्याज
- महेश कस्मेटिकबाट ५ लाख – २ रुपैयाँँ ब्याज
- हरित प्रधानबाट ४ लाख –६ रुपैयाँँ ब्याज
- जीवन श्रेष्ठबाट ३ लाख –५ रुपैयाँँ ब्याज
- इच्छा साडी कलेक्सनबाट ६ लाख –६ रुपैयाँँ ब्याज
- अजय लामाबाट १० लाख –१० रुपैयाँँ ब्याज
- सुनिलबाट १४ लाख –५ रुपैयाँँ ब्याज
- शिशिरबाट २ लाख –५ रुपैयाँँ ब्याज
- बाजेको लस्सी पसलबाट ४ लाख –६ रुपैयाँँ ब्याज
- सुमेरु फाईनान्सबाट ५ लाख –५ रुपैयाँँ ब्याज
- नाम थाहा नभएका तीनजना क्रमशः २ लाख ३५ रुपैयाँँ ब्याज, ५ लाख ५ रुपैयाँँ ब्याज
मोतीराम तिमल्सिना
बनेपा
बनेपामा मिटर ब्याजले संस्थागत रुप लिएको छ । सहकारीहरुले मिटर ब्याज लिने गरेको तथ्य खुलेको छ भने सहकारीका संचालकहरु स्वयम् सहकारीबाट सस्तो ब्याजमा ऋण लिएर सर्वसाधारणलाई मिटर ब्याजमा लगाउने गरेको तथ्य बाहिरिएको छ ।
बनेपाको चारदोबाटो चोकमा रहेको शोभा साडी पसलका सञ्जय चौधरीले कारोवार गरेका मिटर ब्याजीहरुको नामावली उनैले सार्वजनिक गरेका छन् । उनले लिएको ऋणमा मिटर ब्याज तिर्न नसकेका कारण विस्थापित भएका छन् । चारवर्षसम्म उनले तिरेको रकमले भारतमा भएको घर आईसी १ करोड २५ लाखमा विक्री गर्दा समेत तिर्न सकेनन् । पछिल्लो समय कोरोना महामारीका कारण ब्यापार भएन । ब्यापार नभएकै कारण मिटर ब्याज तिर्न नसकेको उनले बताएका छन् । पैसा तिर्न नसकेका कारण उनलाई सहकारीका संचालक, ब्यक्तिहरुले पटक पटक धम्कि दिने, पसलमा ताल्चा लगाउने गरेका थिए । देशका विभिन्न स्थानमा मिटर ब्याजीहरुलाई कारवाही गर्न शुरु गरिएको भए पनि काभ्रेमा त्यसका विरुद्ध उजुरी गर्न कोहि अघि सरेको छैन । ठुला ठुला घरानाका ब्यवसायी तथा उच्च पदस्थ ब्यक्तिहरु मिटर ब्याजको लगानीकर्ता र संरक्षक छन् । मिटर ब्याजसँगै बनेपा र आसपसाका क्षेत्रमा ढुकुटी नामको लुटतन्त्र सहकारी र ब्यक्तिमा फैलिएको छ ।
बनेपाको चोकमा सञ्जय चौधरीले शोभा साडी पसल संचालन गरेका थिए । शोभा साडी बुटिक कलेक्सन उनको ज्वाईको थियो । ज्वाई मार्फत सञ्जयले उक्त पसल संचालन गरिरहेका थिए । शोभा बुटिक कलेक्सन छाडेर सञ्जयले अर्काे पसल सोहि स्थान नजिकै संचालनमा ल्याए । उक्त पसल संचालनमा ल्याउन सञ्जयले केहि सहकारी र ब्यक्तिसँग रकम लिए । पसलको घरबेटीसँग ३० लाख लिए । उनलाई २ रुपैयाँँका दरले मासिक ७० हजार ब्याज दिने सहमति थियो । त्यस्तै उदय जुत्ता पसलबाट १३ रुपैयाँँ ब्याजमा ३ लाख, सँगैको अर्काे जुत्ता पसलबाट १३ रुपैयाँँकै दरले २ लाख, महेश कस्मेटिकबाट २ रुपैयाँका दरले ५ लाख, हरित प्रधानबाट ६ रुपैयाँमा ४ लाख, जीवन श्रेष्ठबाट ५ रुपैयाँमा ३ लाख, इच्छा साडी कलेक्सनबाट ६ रुपैयाँमा ६ लाख, अजय लामाबाट १० रुपैयाँमा १० लाख, सुनिलले १४ लाख ५ रुपैयाँमा, शिशिरबाट ५ रुपैयाँमा २ लाख, बाजेको लस्सी पसलबाट ६ रुपैयाँमा ४ लाख, सुमेरु फाईनान्सबाट ५ रुपैयाँमा ५ लाख, नाम थाहा नभएका तीनजनाबाट क्रमशः २ लाख ३५ रुपैयाँ, ५ लाख ५ रुपैयाँ र २ लाख ५ रुपैयाँ मिटर ब्याजमा चार वर्ष अघि ऋण लिएका थिए । उनको कुल ऋण ९८ लाख थियो । मासिक ४ लाख ब्याज बुझाउँदा पनि उनले सुख पाएका थिएनन् ।
केहि वर्ष सञ्जयले ब्याज पनि तिरेका थिए । बीचमा कोरोना महामारीका कारण ब्यवसायमा आएको मन्दीले नियमित पैसा बुझाउन नसके पछि सहकारी र ब्यक्तिहरुले उनलाई ज्यान मार्ने धम्कि दिए । नियमित रकम बुझाउन नसकेका कारण उनले भारतमा भएको घर १ करोड २५ लाख आईसीमा विक्री गरेर ल्याएर रकम तिरे । तर पनि ऋण कटाउन सकेनन् । केहि सिप नलागे पछि उनले तिर्न बाँकी ऋण, लिएको ऋण र तिरेको ब्याजको हिसाब लेखेर छाडेर फरार भए । उनले लेखेको पत्रमा भनिएको छ–‘पसलको घरबेटी साहुजी नमस्कार, शोभा साडी पसल संजय चौधरी, मैले पसल छाड्नुको कारण यहि हो । शोभा साडी बुटिक कलेक्सनका साहुजी घरबेटीको जिम्मा तपाईको । यो पसल बेचेर आएको पैसा लिनुस् ।’
बनेपा तथा शहरी क्षेत्रमा सहकारीका नाममा भित्रिएको विकृती रोक्नु भन्दा पनि सहकारीकै अगुवाहरु ऋण मिलाउने नाममा कमिसन लिने, एउटा सहकारीमा अनियमिततामा मुक्षिएका ब्यवस्थापकहरुलाई अर्काे संस्थाको जिम्मेवारी दिई संस्थागत अनियमिततामा लिप्त रहने गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा सफ्टवेयरबाट अनियमितता गरेको आरोप लागेर निलम्वित भएका प्रवन्धक ज्ञानेन्द्र दाहाललाई जिल्ला सहकारी संघको प्रबन्धक बनाईएको छ । उनले ६९ लाख रुपैयाँ अनियमितता गरेको पुष्टि भएसँगै कारवाही गरिएको थियो । उनको अनियमिततामा संचालक सदस्यहरु समेतको मिलेमत्तो थियो । उनिहरुलाई कारवाही गरिएन । दाहाल एक्लैले तिरेको ६९ लाखको बारेमा गुपचुप राखियो । उनै संचालकहरु अभियान्ताका रुपमा अगुवा बनिरहेका छन् । त्यस्तै युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ५ लाख रुपैयाँ अनियमिता गरेको अभियोग लागि कारवाहीमा परेका ज्ञानमणी न्यौपानेलाई पनि जिल्ला सहकारी संघमा नियुक्ति गरिएको छ । अनियमितामा संलग्न संचालकहरुले अनियमिततामा संलग्न कर्मचारीहरु नियुक्ति गरेर जिल्ला सहकारी संघमा अर्काे रमिता देखाईएको छ । भ्रष्ट भ्रष्टहरुकै झुण्ड संघ जिल्ला सहकारी संघ मार्फत लगानी गरिएका ऋणहरुमा सफ्टवेयर मिलाएर ब्याजदर परिवर्तन गरिएको छ ।
जिल्ला सहकारी संघ जस्तै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका संचालकहरुले अन्य सहकारी मार्फत ऋण मिलाए बापत १० प्रतिशत कमिसन लिन थालेका छन् । केहि महिना अघि बनेपाकै एक सहकारीबाट २ करोड ऋण उपलब्ध गराई दिए बापत संघका संचालकद्वयले १० प्रतिशत कमिसन लिएका छन् । कमिसन दिएको प्रमाण ऋणीले राखेको भए पनि सार्वजनिक गर्न मानेका छैनन् । (चेष्टासँग सुरक्षित छ । उनको सुरक्षाका लागि सार्वजनिक गरिएको छैन ।) जसले सहकारीहरुलाई नियमन गर्ने गरी विधान बनाएर छाता संगठन बनाएको छ उनिहरु नै अहिले सहकारी भित्रको विकृतिलाई सघाउ पु¥याई रहेका छन् । सहकारी नियम विपरीत बाबु अध्यक्ष, छोरा प्रबन्धक, श्रीमती संचालक सदस्य छन् भने सहकारीको सचिव र प्रबन्धक पनि एउटै ब्यक्ति छन् । सहकारी ठेक्कामा संचालन भएका छन् । सहकारीमा बचत गरेका रकमहरु जोखिममा रहेको सदस्यहरुले बताउन थालेका छन् । शहरी क्षेत्रका केहि विकृत सहकारीका कारण राम्रा सहकारीहरु समस्यामा पर्न थालेका छन् ।





