2026 August 27/ 02:28: 19am

नेपाल अधिराज्यको संविधान, २०७२ को तेस्रो संशोधन भए पश्चात् र स्थानीय निकायको नयाँ नक्सा निर्धारण भएपछि दोस्रो पालिका निर्वाचन यहि २०७९ बैशाख ३० मा सम्पन्न भएको छ । विभिन्न शंका, उपशंका, दुविधा, डरपोक र बाध्यताका बीच परमादेशीका पाँच दलीय गठबन्धनको हिम्मत लिएर एकल एमालेसँग पालिका निर्वाचनमा उत्रिएको सत्तासिन दल लाभ र घातको सन्देश दिएर समाप्त भएको छ । अप्राकृतिक एवं असामान्य गठबन्धका साथ भएको यस पालिका निर्वाचनमा थोरैमात्र भएपनि लोकप्रियताको काम बिना अन्य कथित कम्युनिष्टहरूको भोटको सहारामा नेपाली काँग्रेस पहिलो र कथित नेकपा माओवादी केन्द्र तेस्रो हुन आइपुगेको छ । गएको २०७४ को स्थानीय निकायको निर्वाचन एकसाथ हुँदा संघीय र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो हुन पुगि हतोत्साही र अत्तालिन पुगेको नेपाली काँग्रेसलाई एक्लो निर्वाचनमा जाने आँट आइरहेको थिएन । यसको लागि कम्युनिष्ट फुटाइ कम्युनिष्ट सँगकै साँठगाँठमा निर्वाचनमा जानुको बिकल्प थिएन । यहि सुनौलो अवसर र अत्युत्तम मौका नेपाली काँग्रेसलाई मिल्न पुग्यो । देशमा कहिल्यै शान्तिको श्वास फेर्न र स्थिर सरकार देख्न नचाहने नेकपा माओवादीको तिकदम चलबाजी र षड्यन्त्र बुझ्न नसकेका पद र सम्मानका महत्वाकांक्षा बोकेका तत्कालीन एमालेका बरिष्ठ नेता भनाउँदो माधव नेपाल पार्टी फुटाउने आँट गर्न नसकी कुण्ठित भएर बसेका थिए । जब पूर्व माओवादीका अध्यक्ष तथा तत्कालीन नेकपाका दोस्रो अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक हुने बेलाको मौखिक सहमतिलाई समाइ एकीकृत पार्टीका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दवाव दिने काम गरि कम्युनिष्टको एकमनाको बलियो सरकारलाई कमजोर बनाउने जस्ता काममा सकृय भएर लाग्न थाले । यहि अवस्थाको पर्खाइमा रहेका नेपाली काँग्रेस भित्र भित्रै अत्यन्त खुसी हुन थाले । यता एमालेको नवौँ पार्टी महाधिवेशनदेखी अध्यक्षमा हारको पीडाले कुण्ठित बनेर बसेका माकुनेको लागि पनि यो नै सुनौलो अवसर हुन पुग्यो । प्रचण्डको तिकदम चालवाजीलाई रोक्ने प्रयास गर्नुको सट्टा उल्टै थप प्रोत्साहन दिन थाले । प्रचण्ड समूह र माधव+झलनाथ समूह समेत गरि बहुमत केन्द्रीय सदस्यको आडमा केपी ओलीलाई अल्पमतमा पारी पार्टीको केन्द्रिय अध्यक्ष र प्रधानमन्त्रीबाट समेत अवैध रुपमा हटाउने दुष्प्रयासमा लाग्न पुगे । यहि षड्यन्त्र र पार्टी भित्रकै अस्वस्थ कृयाकलापका कारण र विवादले उत्कर्ष रुप लिन पुग्नाको कारण सरकार संचालनमा गतिरोध पैदा भएको महसुस गर्न पुगि प्रधानमन्त्री केपि ओलीबाट ताजा जनादेशमा जाने निर्णयकासाथ संसद् विघटनको सिफारिस भयो । संसद् विघटनको बिरुद्ध एमालेकै माधव+झलनाथ र भिम रावल समेत केपि ओली बिरुद्धमा लाग्न पुगे । सर्वोच्चमा रिट निवेदन दिन पुगे, संसद् विघटन अवैधानिक हो र पुनस्र्थापना गरि पाऊँ भनी । करिब तीन महिनासम्मको बहस पश्चात् संसद्मा विकल्प रहेसम्म मौकाको अवसर नदिई संसद् विघटनको सिफारिस गर्न पाइन्नँ भन्ने सर्वोच्चबाट फैसला भयो संसद् फेरि ब्यूँतियो । सर्वोच्चले संसद मात्र ब्यूँताएन कि एमाले, माओवादीको पार्टी एकतालाई समेत अवैध सावित गरि पुनः १५ दिन भित्र प्रकृया पूरा गरि पार्टीको नाम परिवर्तन गरि आउन निर्देशन दियो । जुन फैसला पश्चात् दुई पार्टीहरू पूर्ववत् अवस्थामा मात्र फर्केन कि पूर्व माओवादीका केही हस्तिहरू एमालेमा समाहित भए भने यता एमालेका माधव नेपाल समेतका केही नेता र साँसदहरू समेत भिन्न मतकासाथ पार्टी नै फुटाउने कार्यमा सकृय भैरहे । अन्ततः यहि नै अस्वभाविक परिस्थिति सृजना हुनुको कारण नै अप्रत्यासित संसद् विघटनको सिफारिस गर्न बाध्य भए प्रधानमन्त्री केपि ओली ।
जे होस् संसद् पुनस्र्थापित भयो र प्रधानमन्त्री केपि ओली नै कायम रह्यो । केपि ओलीको विरुद्धमा बहुमत प्राप्त संसद सदस्य वा दलका नेता कसैले पनि संसद् वा राष्ट्रपतिकोमा निवेदन लान सकेन । उता केपि ओलीको तिब्र विरोधीको रुपमा उभिएको माधव, झलनाथ भिमहरू प्रचण्डको अगुवाईमा देउवालाई प्रम बन्दिन बुढानिलकण्ठमा शेरवहादुर देउवा निवास धाएको धाइ गर्न थाले । केही दिन त आफूहरूलाई सत्ता चलाउने म्याण्डेट नदिएकोले अहिल्यै नै सरकारको नेतृत्व गरिहाल्ने आफ्नो पार्टीको नीति नरहेको भनी खुब आदर्शको मूल्य राख्न पनि भ्याए । तर भित्री मनमा भने कहिल्यै केपिले प्रधानमन्त्रीको कुर्सी छोड्ला र सत्तामा जाउँला भनी बिरालोले मुसा ढुके झै ढुकिरहेकै थिए । “अन्धा(दृष्टिविहीन) मानिसलाई के खोज्छस् भन्दा, आँखो भने झै भैहाल्यो सत्ताका किर्नो नेपाली काँग्रेसका सभापति देउवालाई । हुनत राजनीति गर्नुको मुख्य ध्येय नै सत्तामा जानकै लागि हो भन्ने कुरामा कसैले भुल्नु हुन्न । चाहे स्वतन्त्र नामका कोही ब्यक्ती किन नहुन चाहे राजनीतिलाई नै मूल पेशा ठानिएका कोहि नहुन अथवा चाहे मलाई राजनीतिमा कुनै चाख छैन भन्ने ब्यक्तिहरू नै किन नहुनु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा राजनीतिले नछोएको यो संसारमा कुनै ब्यक्ती पाउन सकिन्न । मात्र केमा फरक छ÷हुन्छ भने कोही राजनीतिको नाममा खुलेयाम भ्रष्टाचारमा संलग्न हुन्छन् भने कोही देखावटी आडम्बरी र आदर्शवादी बनेर भित्र भित्रै सुइरे धमिराले झै सिध्याउने पनि हुन्छन् । कोहि सत्तामा नआए पनि आफ्नो निहित स्वार्थ पूरा गर्नकै लागि आफ्नै समाज, आफ्नै सहोदर दाजुभाइ, आफन्त, साथीभाइलाई समेत ठग्न, मार्न पछि नपरेका ब्यक्तिहरू पनि कैयौँ छन् । कोहीकोही मानिस सोच्छन् सरकार÷सत्तामा जानको लागि गरिने हरेक कार्यहरू मात्र राजनीति हो र म त्यो गर्दिनँ, मलाई मतलब छैन । यो उनीहरूको बुझाइको भ्रम वा कमजोरी मात्र हो । तसर्थ मेरै बुझाई र भाषामा भन्ने हो भने मानिसदेखी यो पृथ्वीमा सृष्टि भएका देखिनेमा सानो भुसुना देखि ठुलोमा हाती वा ह्वेलमाछासम्मले पनि राजनीती गरेकै पाइन्छ आफ्नो जीवन पाल्नका लागि ।
तसर्थ राजनीति त्यस्तो कुरा हो राजनीति बिना यो विश्वका कुनै पनि देश वा मुलुक चल्न सम्भव छैन । त्यसैले राजनीति एक अपरिहार्य हो यो विना कुनैपनि देश अगाडि बढ्न सक्दैन । चाहे साम्यवादी सिद्धान्तलाई अङ्गिकार गरेर होस चाहे पुँजीवादी चिन्तनको सोच बोकेर उदार प्रजातन्त्रको नाममा होस् विश्व यहि प्रमुख दुई कित्तामा विभाजित छ । यसमा पनि उदार कम्युनिष्ट, कठोर कम्युनिष्ट । त्यस्तै उदार प्रजातन्त्रवादी र कठोर प्रजातन्त्रवादी देशको रुपमा । मूलतः विश्वको शासन संचालन यी दुईमा आधारित भएपनि यसैलाई कसरी राज्य संचालन गर्ने भन्ने कुरा त्यहाँको विधान, जनताहरूको चाहना, शासन संचालनको बाग्डोर सम्हाल्न पुग्ने÷पुगेका ब्यक्तिहरूको सोचाइमा उ पनि भर पर्छ । यहि शासकहरूको विचार र ब्यवहारमा त्यस देशको विकास, जनताहरूको खुशी र विरोध आदि देखापर्ने गर्छ । सत्तामा पुगेका शासकीय ब्यक्तिको सोचाई र कार्य ब्यवहारकै कारण जनताको हाइहाइ पाई पटक–पटक सत्तामा आसिन हुन सफल छन भने कोही कसैलाई जनताले नै आन्दोलन तथा बिद्रोह गरि सत्ताच्युट हुनुपरेको घटनाहरू पनि थुप्रै सुन्दै, देख्दै आएका छौँ । यसैले पनि राजनीतिक पेशाको माध्यमले सत्ता संचालन गर्नेहरूले यी कुराहरूमा ध्यान दिन जरुरी छ कि जसको राजनीति जनतामा आधारित होस् । जनताको नाममा जनता मार्ने, जनता ठग्ने, जनतालाई अनावश्यक दुःख दिने कोही नहोस् । जुन ब्यक्ति, जुन पार्टीले जनताको विश्वास जित्न सफल होस् । पार्टी त्यस्तो होस् जुन पार्टी प्रति सबको विश्वास, माया निष्ठा कायम होस् । आपत्, संकट तथा दुःखको बेला आवश्यक सहयोग होस् । इमान्दार, निष्ठावान् र त्यागी अनि जनप्रिय ब्यक्तिको कदर होस् । आफू हुन्छु, बन्छु भन्ने ब्यक्ति होइन फलानो असल र ईमान्दार छ त्यसलाई बनाऔँ भन्ने कुराको विकास होस् । जसलाई पार्टी कार्यकर्ता, समर्थकहरूलाई हृदय खोलेर सहयोग गर्न उत्साह आओस् ।
तर अहिलेको नेपालको राजनीति र राजनीति गर्ने मानिसहरू हेर्दा टीठ लागेर आउँछ, ब्यक्तिको भनाई र गराईको भिन्नता हेर्दा विश्वास गर्नै गार्हो हुने भैसक्यो । नेताहरू जनता र देशका लागि हैन आफ्ना लागि राजनीति गर्न थाले । यहि भएर पनि जनताहरू पार्टी भन्दा पनि पार्टीका नेता कार्यकर्ताहरू देखि वाक्कदिक्क हुन थाले । पार्टीका कोही फट्टाहा, ढँटुवा, भ्रष्ट नेताहरूको कारण सोझा इमान्दार ब्यक्तिहरूले पनि भोट पाउन छोडे, विश्वास गर्न छोडे । पदमा पुगेपछि आफ्नै साथीहरू, कार्यकर्ताहरू, निर्वाचनमा अहोरात्र खटिएर लागि परेका साथीहरूको सुनुवाई बेक्कारको हुन थाले । आफ्नै बगलीको मतले जित्न पुगे झैँ सब बिर्सन थाले । यसैले पनि यहि स्थानीय निर्वाचनमा धेरैजसो मतदाताहरू पार्टीको पकेट भोटमा मात्र सीमित नभै हाम्रा भन्दा पनि राम्रा ब्यक्ती छान्न थाले । काठमाण्डौ, धरान, धनगढी लगायतका धेरै ठाउँहरूमा स्वतन्त्र र बागी उम्मेदवारहरू जित्नुको कारण पनि यहि हो । समय धेरै परिवर्तन भैसक्यो । पहिले पहिले अर्थात यो भदा पाँचवर्ष अघिसम्म पनि पार्टीका संगठित सदस्यहरू, निष्ठावान कार्यकर्ताहरूको लागि पार्टीले उठाएको उम्मेद्वार बाहेक अरुलाई मत दिनु, खाली राख्नु नैतिक रुपमा पनि अपराध मानिन्थ्यो । जस्तो मन नपर्दो ब्यक्ति भएपनि आफ्नो पार्टीले उठाएका ब्यक्तिलाई भोट नदिनु नैतिक अपराध मानिन्थ्यो । अब त्यो भावना मेट्दै गएको छ । खुल्ला पार्टी प्रवेश तर पार्टी प्रति बफादार रहनु पर्ने नैतिक ज्ञानका प्रशिक्षणहरूको अभावमा छाडापन र अराजकताको बिगबिगी विकास हुँदा पार्टीप्रति बफादारी हुने कुरै भएन । पार्टीको १५ वर्षसम्म महासचिव, पार्टी अध्यक्ष र पार्टीकै बलले प्रधामन्त्री, वरिष्ठ नेता हुन पुगेकाहरूको समेत आफ्नो पार्टी फुटाई सैँद्धान्तिक र राजनीतिक रुपमा मूल शत्रु मानिएका पार्टी नेपाली काँग्रेसलाई सत्ता सुम्पिन पुग्छन भने अन्य कार्यकर्ताहरूको कुरो के गरौँ । बरु यति भएपनि बरिष्ठ नेताहरू, पार्टी उपाध्यक्ष, महासचिव समेत रहेकाहरूको पार्टीप्रतिको निष्ठा गुमेको देखिँदा धन्न कार्यकर्ताहरू र आस्थावान् जनताहरूको इमान्दारिताको कदर गर्नैपर्छ । जे भएपनि जनताहरूले पार्टीलाई अझै पहिलो स्थान कायम रहनेगरी माया गरिरहेकै मान्नुपर्छ । यदाकदाका स्थानहरूमा ब्यक्ती विशेष गुण वा पार्टीले सहि र इमान्दार उमेदवारहरूको छनौट गर्न नसक्दा वा कोही कसैमा आफ्नै सर्वोत्तम योग्य उम्मेद्वार घोषणा गरि टिकट आफैले प्राप्त गरिँदाको परिणाम पनि उपमेयर, उपाध्यक्षले विजय प्राप्त गर्दा मेयर, अध्यक्षले हार्नु परेको यथार्थलाई स्वीकार्नै पर्छ । यस बारेमा समीक्षा गर्न जरुरी छ । यद्यपि यसको अर्थ यो पनि होइन कि हाम्रा मेयर÷अध्यक्षहरू जो हार्न पुगेका छन्, सबै नै भ्रष्ट, बेइमानी, अयोग्य ब्यक्ती हुन र काँग्रेस माओवादीका जो बिजय हुन सफल भए सबै जनताका अति प्रिय र अत्यन्त राम्रा असल ब्यक्ति हुन् यो पनि भन्न सुहाउँदैन। जुन पार्टी नेपाली काँग्रेस माओवादीमा त झन ब्यक्ति पोस्ने बाहेक देश विकासको भावना पटकै छैन । धेरै पटक नेपाली काँग्रेसले सरकार संचालन गरेको हेरेरै प्रमाणित भएको छ ।
खासगरी भन्ने हो भने यस निर्वाचनमा नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरू जो जसले जिते ती सबैले जित्नुको कारण रहेको छ पाँचदललाई परमादेशको वरदान तथा अपबित्र गठबन्धनको अनौठो मिलन । जसले नेपाली काँग्रेसको लागि एउटा भाग्यको वर्ष हुन पुग्यो भने एमालेको लागि प्राविधिक र राजनीतिक कमजोरी । तर सबैले के कुराको ख्याल गर्न जरुरी छ र बुझ्न आवश्यक छ भने यिनीहरूको यो गठबन्धनको लगन गाँठो कहिल्यसम्म कायम रहन्छ र आगामी कुनैपनि निर्वाचनहरूमा एक्लाएक्लै लड्ने साहस आउँछ कि आउँदैन, गर्छ कि गर्दैन । अनि अझैपनि कोहि कसैले नेकपा माओवादी र नेकपा “एस” लाई कम्युनिष्टकै कित्तामा राखेर मुल्यांकन गर्छ या गर्दैन । अहिले पनि नेपाली काँग्रेस सबभन्दा बढी सीट प्राप्त गर्न सफल भएकोले सबभन्दा ठूलो दलको धक्कु चलेपनि अझै एमालेसँग एक्लै लड्ने साहस छैन । अरु गठबन्धनका पुच्छ र पार्टीहरूको त कुरै छोडौँ । तैपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले आफ्नो पक्षका जनप्रतिनिधिहरूलाई प्रशिक्षण सम्बोधन गर्ने क्रममा एमालेको घमण्डलाई ठेगा लगाएँ यस्तै घमण्ड चढे नेपाली काँग्रेसलाई पनि ठेगान लगाइदिन सक्छु भन्ने धम्किपूर्ण अभिब्यक्तिले यो स्तभकारको ध्यान आकर्षित भयो र एउटा उखानको याद आयो कि “जुन थालमा भात खायो, उहीँ थालमा हग्यो” भन्ने । यसको अर्थ हो कि जसले, जुन पार्टीको बैशाखीले आफ्नो तेस्रो स्थान भएपनि कायम भएको छ, गराइ दिएको छ उसै उसैलाई ठेगान लगाउने अर्थात् जसले सहयोग गर्छ उसैको बिरुद्धमा लाग्ने । यसबाट के बुझिन्छ भने नेकपा माओवादीको अस्तित्व कायम गर्दिनु नै उसकै शत्रु बन्नु हुँदो रहेछ । त्यसैले माओवादीसँग मिल्नु, अस्तित्व जोगाइदिनमा लाग्न नहुने रहेछ भनी सबै दलका पार्टी नेताहरूले कान समाइ प्रतिज्ञा गर्नु आवश्यक छ । अर्थात, जसको सहयोगले माओवादी पार्टीको अस्तित्व जोगिएको÷जोगाइ दिएको छ त्यही त्यही पार्टीलाई ठेगान लगाउने शक्ति बन्न पुग्ने भएपछी यो जस्तो बैगुणी पार्टीलाई सहयोग गर्नु, अस्तित्व रक्षा गर्दिएर किन आफैलाई संकट निम्ट्याउन लाग्ने? यसैले पनि प्रचण्ड र यसका दाहिने हातहरू जिवित हुन्जेल उनी रहेको पार्टीसंग पार्टी एकता, पार्टी तालमेल आदिजस्ता कुनै कुराको लागि प्रयास नगरे हुन्छ । अब पनि सैद्धान्तिक मित्र पार्टीको रुपमा सोच्नु, नाम लिनु आफैमा लाज लाग्न सक्छ । अब नेकपा माओवादी हैन, कम्युनिष्टको खोल ओढेको भाइ काँग्रेस भन्दा केही फरक पर्दैन ।