धुलिखेल/मनसुन शुरु हुनु अगावै जिल्लामा हुन सक्ने विपद् न्युनिकरणका लागि जिल्ला विपद् ब्यवस्थापन समितिले स्थानीय सरकार र सरोकारवाला निकायसँग सुझाव मागेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा आयोजित बैठकमा स्थानीय सरकारले पूर्व तयारी र जोखिम न्युनीकरणका लागि खेल्नु पर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले विपद सम्बन्धी योजना तर्जुमा, मनसुनले पार्न सक्ने क्षति र त्यसबाट बच्न अपनाउनु पर्ने उपायको तयारी, खाद्य गोदाम संचालन तथा कृत्रिम घटना अभ्यास, बाढी पहिरो, डुबानबाट हुन सक्ने क्षति, मानविय उद्धार तथा रोकथाम र पुर्नस्थापनाका बारेमा आवश्यक तयारीका बारेमा स्थानीय सरकार र अन्य निकायले गर्नु पर्ने तयारीका बारेमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकमा बनेपा, पनौती, बेथान्चोक, रोशी, मण्डनदेउपुर लगायतका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधिहरु, रेडक्रस लगायतका संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भुकम्प, कोभिड तथा वर्षात्का कारण जिल्लामा र छिमेकी जिल्लामा भएका विपदले पार्ने असरबाट बच्न भएका अभ्यास तथा तयारीका बारेमा समेत समिक्षा गर्दै नेपाली सेनाले बाढी, पहिरो र डुबानमा परेकाहरुको उद्धार गर्ने अभ्यासका बारेमा जानकारी गराएको थियो । सोमबार दोलालघाटमा नेपाली सेनाको कालीजंग गणबाट उक्त अभ्यास गरिएको थियो । अघिल्लो वर्ष असार १ गते मेलम्चीमा गएको पहिरोका कारण भएको क्षति र त्यसले काभ्रेपलाञ्चोक र आसपासका क्षेत्रमा पारेको प्रभावका बारेमा समेत बैठकमा छलफल भएको थियो ।





