आत्महत्या, सवारी दुर्घटना, विपद्, हत्या तथा कारण नखुलेको मृत्यु लगायत वर्षेनि २ सय भन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । १० महिनामा आत्महत्या गर्नेहरुको सख्या ९२ पुगेको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
चालु आर्थिक वर्षको १० महिना २०७८ साउन देखि २०७९ बैशाखको अन्तिमसम्ममा जिल्लामा १ सय ८८ जनाले विभिन्न कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बालबालिका देखि जेष्ठ नागरिकसम्म छन् । विभिन्न अभियोगमा प्रहरीले २ सय ७० जनालाई पक्राउ गरेको छ ।
‘चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयले मातहतका निकायबाट समेत ३ सय ४८ वटा घटना दर्ता गरेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं प्रवक्ता हरि खतिवडाले भन्नुभयो–‘दर्ता भएका घटनामा संलग्न २ सय ७० अभियुक्त पक्राउ परेका छन् भने १ सय ८८ जनाको निधन भएको छ ।’ जिल्ला प्रहरी कार्यालय धुलिखेल र इलाका प्रहरी कार्यालय बनेपाले मुद्दा दर्ता र अनुसन्धान गर्दै आएको छ । दर्ता भएका मुद्दाहरु मध्ये १ सय ८६ वटा प्रहरीले फछर्याैट गरेको छ भने १ सय ६२ वटा प्रकृयामा छन् । प्रहरीले निर्वाचनका समयमा भएका घटनालाई विशेष प्राथमिकतामा राखेको थियो । निर्वाचन पुर्व र निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनालाई प्रहरीले फरक–फरक कोणबाट प्राथमिकतामा राखेर सुरक्षा ब्यवस्था मिलाएको थियो । निर्वाचनका समयमा अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ । तर निर्वाचनकै दिन एक जना ब्यक्तिले मतदान सकेर आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या र जर्बजस्ति करणीका घटनाको संख्यामा उल्लेख्य बृद्धी भएको छ भने दुर्घटनाको संख्या पनि बढिरहेको प्रहरीले बताएको छ ।
जिल्लामा भएका विभिन्न घटनामा मृत्यु हुने मध्ये १ सय २५ जना पुरुष छन् । ४९ जना महिला छन् भने ८ जना बालक र ६ जना बालिका गरी १ सय ८८ जना रहेका छन् । सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउने मध्ये ३ बालक र एक बालिका छन् । यो अवधीमा ९२ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा बालबालिका देखि जेष्ठ नागरिकसम्म छन् । तीन बालिका र एक बालकले अभिभावकलाई दोष देखाउँदै आत्महत्या गरेका छन् । ९ बर्ष, १२ वर्ष, १४ वर्षका बालबालिकाहरु देखासिखीका आधारमा ज्यान गुमाउने अवस्थामा पुगेका हुन् । आत्महत्या गर्नेहरु मध्ये ७६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । ७६ मध्ये ४५ जना पुरुष र २७ जना महिला छन् । ३ बालिका र १ बालकले पनि झुण्डिएर आत्महत्या गरेका छन् । विष सेवनबाट आत्महत्या गर्नेहरु १६ जना छन् । १२ पुरुष र ४ महिलाले विष सेवनबाट आत्महत्या गरेका छन् । मृत्यु हुनेमा जिल्लामा पहिलो आत्महत्या, दोश्रो सवारी दुर्घटना र तेश्रो डुबेर र लडेर रहेको छ । जिल्लामा चालु वर्षको १० महिनामा डुबेर मर्नेहरुको सख्या ११ रहेको छ । जसमा ७ पुरुष, ३ महिला र १ बालक रहेका छन् । लडेर ज्यान गुमाउनेहरुमा १४ जना छन् । ८ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेका छन् । प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी खतिवडाका अनुसार मृत्यु हुनेहरुमा चट्याङ्ग, पहिरो, करेन्टका कारण पनि छन् । जिल्लामा ज्यान सम्वन्धी कसुरमा ४ जनाले ज्यान गुमाएका छन् । ज्यान सम्वन्धी कसुरमा २ पुरुष, १ महिला र १ बालक पक्राउ परेका छन् । कारण नखुलेका कारण ज्यान गुमाउनेको संख्या २४ रहेको छ । जसको मृत्युको कारण पनि पत्ता लाग्न सकेको छैन । जसमध्ये १८ पुरुष, ६ महिला छन् । कारण नखुलेका मृत्युहरुका बारेमा अध्ययन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ । आफैले आफैलाई गोली हानेर आत्महत्या गर्नेको संख्या एक रहेको छ ।
प्रहरीले जर्बजस्ती करणीमा २३ वटा मुद्दा दर्ता गरेको छ । जसमा २१ जना पक्राउ परेका छन् । दुई जना फरार छन् । जर्बजस्ती करणी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको छ । जसमा २ जना पक्राउ परेका छन् भने एक जना फरार छन् । बाल यौन दुरुपयोगमा ३ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग, जुवा, चोरी तथा डाँका सम्वन्धी कसूर चोरी, साधारण र सवारी चोरी, बुहविवाह, अभद्र ब्यवहार, सवारी दुर्घटना अंगभगं, सवारी ज्यान, सवारी ज्यान भवितब्य, लागु औषध, आत्महत्या गर्न दुरुत्साहन गरेको, लिखत सम्वन्धी कसुर किर्ते, बैकिङ्ग कसुर ठगी, अपराधिक उबद्र, कुटपिट अगंभगं र झुट्टा विवरण पेश गरी नागरिकता लिने, जन्म दर्ता तथा अन्य ब्यक्तिगत घटना दर्ता अन्र्तगत कसुर गरेको अभियोगमा अपहरण तथा शरिर बन्धक लगायतका घटनामा प्रहरीले मुद्दा दर्ता गरी अभियुक्तहरुलाई पक्राउ गरेको छ । मानव बेचविखन मुद्दामा एक जना फरार छन् । चोरी तथा डाँका अभियोग र ज्यान सम्वन्धी अभियोगकै अभियुक्त अझै फरार छन् । प्रहरीका अनुसार ३ सय ४८ वटा मुद्दामा २ सय ५७ जना पुरुष, १३ जना महिला गरी २ सय ७० जना पक्राउ परेका छन् । मुद्दा दर्ता भएका २२ जना पुरुष र २ महिला फरार छन् । प्रहरीले फरा भएका मध्ये १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ पुरुष र २ महिला छन् ।
लागु औषधमा ७ जना पक्राउ परेका छन् । ६ पुरुष र एक महिलाले लागु औषध ओसार पसार गरी विक्री वितरण गरेको अभियोग छ । लागु औषध प्रयोगकर्ता चालु वर्षमा पक्राउ परेका छैनन । आत्महत्या बढ्दै गए पछि प्रहरी र आफन्तले त्यसको निरुत्साहन गर्न घटनाको अनुसन्धान गरी आत्महत्या गर्न बाध्य पार्ने विरुद्ध दुरुत्साहन गरेको दफा १८५ अनुसार मुद्दा चलाएको छ ।





