टिकट नपाए पछि हिस्स
धुलिखेल/निर्वाचन केन्द्रित केहि शिक्षकहरुले राजिनामा दिएका छन् । केहि शिक्षकहरुले राजनीतिक दलले दिएको टिकटका आधारमा नेता बन्ने अवसर पाएका छन् । नेता बन्न राजिनामा दिएका केहि शिक्षकहरुले टिकट प्राप्त गर्न सकेनन् ।
धुलिखेलको सञ्जीवनी स्कुलमा अध्यापन गराउने प्रावि शिक्षक शुभलक्ष्मी मानन्धरले बैशाख ५ गते राजिनामा दिएकी थिईन् । राजिनामा दिनुअघि नै उनलाई नेपाली काँग्रेसले बनेपाको वडा नम्वर ८ बाट अध्यक्ष पदको उम्मेदवारमा सिफारिस गरेको थियो । उनले उम्मेदवारी दर्ता गरेकी छिन । कुशेश्वर मावि तेमाल ९ का शिक्षक बलराम रायले बैशाख ७ गते राजिनामा दिएका छन् । चामुण्डादेवी प्रावी भुम्लु ९ का धर्मप्रसाद पराजुलीले बैशाख ६ गते राजिनामा दिएका थिए । पनौतीको पुण्य माविमा कार्यरत मावि राहत शिक्षक मिरा चापागाईले बैशाख ८ गते राजिनामा दिएकी छिन् । उनी नेकपा समाजवादीबाट पनौतीको उपप्रमुख पदमा उम्मेदवारी दिने चर्चा थियो । तर उनले टिकट पाउँनै सकिनन् ।
२०७८ फागुन १ गते श्रीखण्डपुर प्रावि धुलिखेलमा कार्यरत शिक्षक अश्विन चौलागाईले स्वेच्छिक अवकाश रोजेका थिए । नगरपालिकाले केहि रकम प्रदान गरेको थियो । तर उनले टिकट पाउनै सकेनन् । बालहित प्रावि चौरीदेउरालीका शिक्षक भरतप्रसाद चौलागाईले २०७८ फागुन १८ गते राजिनामा दिनु भएको छ । सेतिदेवी मावि धुलिखेलमा कार्यरत शिक्षक उपेन्द्रप्रसाद कोईरालाले २०७८ फागुन १ गते नगरपालिकाले आब्हान गरेको स्वेच्छिक अवकाशमा राजिनामा दिनु भएको छ । भुम्लु ८ मा कार्यरत शिक्षक नारायणभक्त उप्रेतीले २०७८ फागुन २३ गते राजिनामा दिनु भएको छ । अरनिको मावि चौरीदेउराली ३ मा कार्यरत प्रधानाध्यापक जयभद्र गौतमले २०७८ चैत्र १६ गते राजिनामा दिनु भएको छ । उहाँलाई नेकपा एमालेले वडा नम्वर ५ को सर्वस्वत उम्मेदवार घोषणा गरिसकेको छ । जनज्योती मावि तेमालमा कार्यरत शिक्षक सुरथ सिं तामाङ र खड्केश्वरी प्रावि तेमाल ७ मा कार्यरत शिक्षक श्रीकृष्ण न्यौपानेले आसन्न स्थानीय तहको निर्वाचनका लागि लक्षित गरी २०७८ चैत्र २५ गते राजिनामा दिनु भएको छ ।
त्यस्तै बालचन्द्र प्रावि चौरीदेउराली ८ मा कार्यरत शिक्षकले २०७८ चैत्र २४ गते राजिनामा दिनु भएको छ । ग्रामोनन्ती निमाविका शिक्षक दुर्गा सिं लामाले केहि महिना अघि नै राजिनामा दिनु भएको थियो । चौरीदेउराली ९ मा कार्यरत शिक्षक रामप्रसाद ढुंगानाले बैशाख ११ गते मात्रै राजिनामा दिनु भएको थियो । उहाँलाई नेपाली काँग्रेसले वडा नम्वर ९ को सर्वसम्मत उम्मेदवार घोषणा गरेको थियो । यसअघि स्थानीय सरकारले आब्हान गरेको स्वेच्छिक अवकाशमा मण्डनदेउपुरका १६, पाँचखालका १०, पनौतीका १५, धुलिखेलका केहि शिक्षकले राजिनामा बुझाएका छन् ।
छिन्ताङले छाडे साझेदार
निर्वाचन आयोगले निर्माण ब्यवसायीहरुलाई कडाई गरे सँगै उम्मेदवार बन्न खोज्ने केहि निर्माण ब्यवसायीहरुले आफ्नो ब्यवसायीक फर्म नामसारी गरेका छन् । नामसारी गर्नेहरुमा पियुष कमल निर्माण सेवा शिखरआम्बोटे ८ का कमल लामाले तिर्थ लामा थितिर्थ लामा थिङ्ग तामाङका नाममा नामासरी गरेका छन् । २०७८ चैत्र १४ गते उनको फर्म घरेलु तथा साना उद्योग कार्यालयमा नामासरी गरिएको थियो । त्यस्तै भुग्देउ महांकाल निर्माण सेवाका संचालक भिमबहादुर तामाङले सरुप तामाङ बेथान्चोक ६ का नाममा २०७८ चैत्र २१ गते नामसारी गरिएको छ । बैशाख ४ गते तेमाल ७ का इन्द्रलाल तामाङले कालिका कन्ट्रक्सन ठुलीमाया तामाङका नाममा नामसारी गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङ्गले सुर्वण कन्ट्रक्सन एण्ड सप्लार्यसमा रहेको साझेदारीता बैशाख ९ गते छाडेका छन् । सुवर्ण थिङ्ग तामाङ साझेदारीमा थिए । उनले गठबन्धनमा माओवादी केन्द्रबाट अध्यक्ष पदको उम्मेदवारी पाएका छन् ।





