झुक्याउँदै नागरिकता लिँदै
धुलिखेल/एउटै ब्यक्तिले झुक्याएर पटक पटक विवरण फरक पारी नागरिकता लिएको फेला पर्न थाले पछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कडाई गर्न थालेको छ । नागरिकता लिने क्रममा शंकास्पद ब्यहोरा, कागजात फेला पर्न थाले पछि प्रशासनले सर्जिमिनका लागि स्थानीय तहमा फर्काउने गरेको छ । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयहरु समेतलाई गुमराहमा राखेर झुक्याउँदै नागरिकता लिन खोज्नेहरु पक्राउ परेसँगै प्रशासनले कडाई गर्न थालेको हो ।
‘नागरिकता लिन आउनेहरु मध्ये केहिमा कैफियत भेटियो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकतामा कैफियत गर्ने ब्यक्ति तथा अन्य ब्यक्तिलाई अनुसन्धान गरी कारवाही शुरु गरिएको छ ।’ पछिल्ला केहि दिनमा १० वटा भन्दा धेरै नागरिकता लिन आउनेहरुमा कैफियत फेला परेको छ । ‘राज्यले नेपाली नागरिकलाई नागरिकता दिने अवसरबाट बञ्चित गर्दैन तर झुक्याएर गलत विवरण पेश गरी नागरिकता लिन खोज्नेहरुलाई निरुत्साहित गर्न जरुरी छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘शंकास्पद ब्यक्ति र कागजातलाई अध्ययन अनुसन्धान पछि मात्रै नागरिकता उपलब्ध गराएका छौं । अनुसन्धानबाट कैफियत फेला परेको छ । अनुसन्धानका क्रममा भएको ढिलालाई अन्यथा लिनु हुँदैन ।’
रोशी गाउँपालिका घर भएका एक युवकले अमेरिका जाने प्रलोभनमा दाजुलाई बाबु बनाएर नागरिकता लिए । नागरिकता हराएको अवस्थामा पनि विवरण सच्याएर नयाँ लिनेहरुको संख्या पनि थपिदै गएको छ । चौरीदेउराली गाउँपालिका वडा नम्वर २ मा मात्रै ४ वटा नागरिकता सम्बन्धी विवरणमा शंकास्पद फेला परेको छ । चौरीदेउराली गाउँपालिका वडा नम्वर २ बस्ने रामकुमार प्रधानले दोहोरो नागरिकता लिएका छन् । काका तकबहादुर प्रधान र आमा तिर्थमाया प्रधानको नामबाट एउटा नागरिकता लिए भने बाबु नक्कलबहादुर प्रधान र आमा तिर्थमाया प्रधानको नामबाट रोशन प्रधानको नामबाट नागरिकता लिए । दुबै नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष दिनेश लामा हुन् । सोहि वडाका डल्कुमाया प्रधानले पनि २४ वर्षकै उमेरमा झुक्याएर नागरिकता लिईन् । एउटै वडामा एक महिनाको अवधीमा तीनवटा नागरिकता सम्वन्धी सिफारिसमा शंकास्पद फेला परेको छ । प्रशासनले स्थानीय तहबाट सिफारिस हुँदा तथा सर्जिमिन हुँदा समेत झुक्याएर नागरिकता लिनेहरुको पहिचान नभएकोमा आश्चर्य ब्यक्त गरेको छ । प्रशासनले नागरिकता झुक्याएर लिनेलाई मात्रै नभई सिफारिस र मुचुल्कामा सहि छाप गर्नेहरु विरुद्ध पनि अनुसन्धान शुरु गरेको बताएको छ ।
चौरीदेउराली गाउँपालिका मादनुकँडारी घर भएका एक युवाको नागरिकतामा सनाखत गर्ने ब्यक्ति शंकास्पद फेला परे । विदेशमा बस्ने बाबु आमाका एक्ला छोराको नागरिकतामा सनाखत गर्ने बेला झुक्याएको खुलासा भयो । नागरिकता लिन आउनेहरु मध्ये केहि आमाको नामबाट समेत नागरिकता पाउँ भन्दै आएका छन् । कानुन निर्माण हुन नसक्दा संविधानले ब्यवस्था गरेको अधिकारबाट नागरिक बञ्चित भएका छन् । बनेपा नगरपालिका ७ घर भएकी सुनिता श्रेष्ठले श्रीमान्सँग सम्वन्ध विच्छेद गरेकी छिन् । सम्वन्ध विच्छेद गरेका श्रीमान्कै नामबाट नागरिकता बनाउन छोरी तयार भए पनि सनाखत गर्न आउने बेला संकट पैदा भएको छ । श्रीमान् सम्वन्ध विच्छेद हुनुअघि नै बेल्जियममा छन् । उनले झुक्याएर विवरण पेश गरेका कारण नागरिकता बन्न सकेको छैन । प्रशासनले स्थानीय तहमा बास्तविकता बुझन पत्र पठाएको छ । परिवार भित्रका सदस्यले सनाखत गर्न मिल्ने भए पनि उनले सम्वन्ध विच्छेद लुकाउन खोजेकी थिईन् । नागरिकता लिन आउनेहरु प्रति शंका लागेको अवस्थामा स्थानीय प्रशासनले प्रहरी मुचुल्का मार्फत बुझ्न सक्ने ब्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिनुभयो । नागरिकता लिन आउनेहरुको भिडमा झुक्याएर लिन आउनेहरु थपिन थाले पछि प्रशासनले कडाई गरेको सहायक प्रजिअ सुनुवारले बताउनु भयो । ‘हामी नागरिकहरुलाई सहज र सरल ढंगबाट सेवा दिईरहेका छौं’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘यसको फाईदा उठाउँदै केहि ब्यक्तिहरुले झुक्याउने, गलत विवरण पेश गर्ने तथा किर्ते कागजात बनाउनेहरुका लागि कडाई गरिएको हो ।’
यसअघि धुलिखेल तथा बनेपा र अन्य स्थानका केहि ब्यक्तिहरु दोहोरो नागरिकता लिएको अभियोगमा पक्राउ परी सजायँ भोगिरहेका छन् ।





