2026 August 25/ 08:34: 57pm

यसरी गरिदैछ गठवन्धनको भागवण्डा
– एमालेमा सर्वसम्मत प्रयास
– काँग्रेसले छनौट रोक्यो
– माओवादी अलमलमा

        बनेपा/आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरुले धमाधम उम्मेदवार छनौट गर्न थालेका छन् । नेकपा एमालेले अधिकांश वडामा सर्वसम्मतको प्रयास गरेको छ । वडामा मिलाउन नसकेका उम्मेदवारलाई नगरपालिका र गाउँपालिकाका कमिटीहरुले सर्वसम्वतको प्रयास गरिरहेका छन् । बुधबार साँझसम्म ३० भन्दा धेरै स्थानमा सर्वसम्मत भएको छ । १३ वटा पालिकामा पनि सर्वसम्मत उम्मेदवार छनौट गर्ने अभियानमा नेकपा एमाले जुटेको छ । 
    यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ७ वटा पालिकामा जितेको थियो । माओवादी र काँग्रेसको गठबन्धन हुँदा पनि जिल्लामा ६ वटा पालिका मात्रै जितेको थियो । वडा तहमा धमाधम उम्मेदवार छनौट भईरहँदा गठवन्धनका कारण नेपाली काँग्रेसले उम्मेदवार छनौट स्थगित गर्ने आदेश पालना गरेको छैन । अहिले पनि धमाधम उम्मेदवार छनौट भएका छन् । छनौट भएका उम्मेदवारले आफुले नपाए विद्रोह गर्ने चेतावनी दिएका छन् । बुधबार साँझसम्म नेपाली काँग्रेसले १ सय ४५ मध्ये ४० भन्दा धेरै वडामा सर्वसम्वत छनौट गरेको छ । अधिकांश वडामा पुरानै उम्मेदवार र विजयी भएका प्रतिनिधिहरुलाई छनौट गरेको बताएको छ । 
    गठबन्धनको बैठक भईरहे पनि भागबण्डा मिलेको छैन । नेपाली काँग्रेसलाई बनेपा, पनौती, धुलिखेल र पाँचखाल पर्ने गरी छलफल भएको छ । नेकपा एसलाई मण्डन देउपुर परेको छ । नमोबुद्ध नगरपालिका माओवादीको भागमा परेको छ । तर मण्डनदेउपुर र नमोबुद्धमा काँग्रेसले छाड्न मानेको छैन । महाभारत र चौरीदेउराली माओवादीले मागेको छ । यस अघि दुवै पालिका माओवादीले जितेको थियो । बेथान्चोक र रोशी, खानीखोला काँग्रेसले माग गरेको छ । महाभारतमा पनि काँग्रेसले दाबी गरेको छ । तेमालमा पनि काँग्रेसले छाड्न मानेको छैन । गठबन्धन हुँदा माओवादीले अर्काे एउटा पालिका माग गरेको छ भने नेकपा एसले तेमालमा पालिकाको नेतृत्व दावी गरेको छ । काँग्रेसलाई ८ वटा पालिका, माओवादी र नेकपा एसलाई तीन तीनवटा हुने गरी सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । सोहि अनुसार वडाहरुमा पनि भागवडा हुनेछ । प्रमुख लिएका पालिकामा अन्य दलका उपप्रमुख वा उपाध्यक्ष हुनेछन् । गठवन्धन विरुद्ध नेकपा एमालेले एक्लै लड्ने र सबै पालिकामा जित हासिल गर्ने बताएको छ ।