९ करोड छुट, ११६३ वटा मुद्दा फछर्याैट
मोतीराम तिमल्सिना
धुलिखेल
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको ७ महिनामै लक्ष्य भन्दा धेरै राजश्व असुली गरेको छ फागुन मसान्तसम्म १ अर्ब ७३ करोड ४१ लाख ४९ हजार रुपैया संकलन गरेको छ । २० हजार ८ सय ४१ लिखत पास गरेको मालपोतले ६ हजार ५३ वटा लिखतमा ९ करोड ३८ लाख ३ हजार ९ सय ५५ छुट दिएको छ ।
संकलित राजश्व पूँजीगत लाभकर बापत ८० करोड ६ लाख ९२ हजार ८ सय ७८, अग्रीम आयकर ३ करोड २० लाख ६२ हजार ८ सय ७५, अन्य राजश्व १ लाख ४१ हजार ७ सय रकम संघ सरकारको खातामा जम्मा भएको छ भने रजिस्ट्रेसन शुल्क बापत संकलित राजश्व ९० करोड १३ लाख ९३ हजार संकलन भएको छ । उक्त रकम ४० प्रतिशत प्रदेश सरकारको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत स्थानीय खातामा जम्मा हुनेछ । अघिल्लो वर्ष ग्रामीण क्षेत्रमा १ हजार ६ सय ४७ वटा लिखत र शहरी क्षेत्रमा ३ हजार ४ सय १८ वटा गरी ३६ हजार २ सय ६५ वटा लिखत पास भएका थिए ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा जिल्लामा १ अर्ब २२ करोड ६१ लाख १३ हजार राजश्व संकलन गरेको थियो । जसमध्ये लाभकर ४६ करोड २० लाख ५ हजार, अग्रिम आयकर २ करोड १८ लाख र रजिस्ट्रेसन दस्तुर बापत ७४ करोड १७ लाख रकम जम्मा भएको थियो ।
७ महिनामा ९ करोड छुट
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्ममा विभिन्न शिर्षकमा राज्यले उपलब्ध गराउने छुट लिखतबाट ६ करोड २० लाख ४१ हजार राजश्व भएको थियो । जसमा महिलाका नाममा दर्ता भएका ५ हजार ९ सय ३२ वटा लिखतको ६ करोड १९ लाख २९ हजार रहेको छ । पुरुषहरुले राजश्व छुटकै लागि महिलाका नाममा लिखत पास गर्दै आएका छन् । दलित÷जनजातिका नाममा ६ वटा, जेष्ठ नागरिकका नाममा २ वटा र अन्य नाबालकका नाममा २ वटा लिखत पास भएका छन् । शहिद परिवार र अपाङ्गता भएका ब्यक्तिका नाममा लिखत पास भएका थिएनन् ।
राज्यले महिलाका नाममा लिखत पास गरेको अवस्थामा दिने छुट चालु वर्षमा ६ हजार २७ वटा लिखतले पाएका छन् । जसमा ९ करोड ३२ लाख ५५ हजार राजश्व छुट भएको छ । दलित÷जनजातिका नाममा १४ वटा लिखतले छुट पाएका छन् । शहिद परिवारका ३ वटा, जेष्ठ नागरिक तथा एकल महिलाका ७ वटा र अपाङ्गता भएका ब्यक्तिका नाममा ३ वटा लिखत पास भएका छन् । यो समुदायका ब्यक्तिहरुले जग्गा खरिद बिक्री गर्दा राज्यले छुट दिने ब्यवस्था गरेको छ ।
बनेपामा १६ करोड
खानीखोलामा ८ लाख
मालपोत कार्यालय काभ्रेले अघिल्लो आर्थिक वर्षको बाँकी ११ करोड र चालु वर्षको माघ मसान्तसम्म संकलित रकम बाँडफाँड गरेको छ । रजिस्ट्रेसन शुल्क बापत संकलित रकम मध्ये प्रदेश सरकारलाई ३५ करोड २८ लाख १४ हजार रुपैयाँ र स्थानीय सरकारलाई ५२ करोड ९२ लाख २२ हजार रकम बाँडफाँड गरिएको छ । प्रदेश सरकारले थप २ प्रतिशत १ करोड ६३ लाख रुपैयाँ प्राप्त गरेको छ । माघ मसान्तसम्म कार्यालयले ८९ करोड ८४ लाख २६ हजार रकम विनियोजन गरेको प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले बताउनु भयो । राजश्व बाँडफाँडबाट सबैभन्दा धेरै रकम बनेपा नगरपालिकाले प्राप्त गरेको छ । बनेपाले १५ करोड ८७ लाख २९ हजार रकम माघ मसान्तसम्म प्राप्त गरेको छ भने सबै भन्दा कम खानीखोला गाउँपालिकाले ८ लाख ६६ हजार प्राप्त गरेको छ । बनेपा पछि धुलिखेल नगरपालिकाले १० करोड ५८ लाख रुपैयाँ प्राप्त गरेको छ । पनौतीले ७ करोड ४९ लाख, पाँचखालमा ८ करोड ६ लाख राजश्व संकलन भएको छ । महाभारतमा १२ लाख ८५ हजार, तेमालमा १२ लाख ६२ हजार, चौरीदेउरालीमा १० लाख ६७ हजार, भुम्लुमा ५८ लाख र रोशी गाउँपालिकामा ४६ लाख राजश्व मालपोतबाट गएको छ । विकट क्षेत्रमा जग्गाको कारोवार नै कम हुनु र भए पनि मूल्यांकन कम भएका कारण राजश्व कम भएको हो ।
११६३ वटा उजुरी फछर्याैट
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको फागुन मसान्तसम्म १ हजार १ सय ६३ वटा उजुरी फछ्र्याैट गरेको छ । मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले उजुरी तथा पुराना मुद्दाहरुको फछ्र्याैट गर्न शुरु गर्नु भएको छ । अघिल्लो आर्थिक वर्षका १ सय ५२ वटा उजुरी यो वर्ष जिम्मेवारी सरेको थियो । छुट जग्गा दर्ता, नामसारी, संशोधन, दाखिला खारेज, हकसफी, श्रेस्ता अद्यावधिक, मोही लगत कट्टा, ट्रायल चेक, मोही नामसारी र घर कायम सम्बन्धी उजुरी दर्ता भएका थिए । पुष मसान्तसम्म दर्ता भएका १ हजार ८ सय ८१ वटा लगत मध्ये सोहि अवधिमा १ हजार १ सय ३ वटा फछर्याैट भएका थिए भने ४ सय ५४ वटा बाँकी रहेका थिए । सबैभन्दा धेरै नामसारीमा ९ सय ८२ वटा उजुरी दर्ता भएका थिए ।





