धुलिखेल/कोभिडको संक्रमण दैनिक बढ्दै गए पछि जिल्लामा संक्रमण फैलन नदिन तयारी थालिएको छ । पहिलो संक्रमण फैलन नदिन र दोश्रो संक्रमण भए पछि नियन्त्रण गर्ने गरी तयारी थालिएको हो ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम राज सेढाईका अनुसार दैनिक कोराना भाईरसका कारण संक्रमित हुने क्रम बढिरहेको छ । परिक्षणका लागि स्थानीय तहमा एन्टिजेन किट र पिसिआरका लागि भिटिएम पठाईसकिएको छ । ‘पहिले एन्टिजेन परिक्षण गरिन्छ । लक्षण भएर पनि नेगेटिभ देखिएकाहरुलाई पिसिआर गरिन्छ’– बरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईले भन्नुभयो– ‘संक्रमण हुनै नदिन खोप अभियानलाई पूर्ण बनाउँदै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउन अनुरोध गरेका छौं ।’ तर पनौतीमा शुरु भएको मकर मेलाले सरकारी निर्णयको धज्जी उडाईरहेको छ । प्रमुख सेढाईका अनुसार १३ वटै पालिकामा २६ जना सिआईसिटी टिमका सदस्यहरुलाई तालिम प्रदान गरिसकिएको छ । यो पटक अभिलेख तथा सूचना प्रणालीलाई ब्यवस्थित बनाईएको छ । कोभिड संक्रमित ब्यक्तिको पूर्ण विवरण लिई उसलाई आवश्यक पर्ने अस्पताल र उपचार सेवाका बारेमा सोहि टिमले सूचनाको अभिलेखिकरण गर्नेछ । कोभिड नियन्त्रणका लागि अरनिको राजमार्गको सिमाना भुम्लु गाउँपालिकाको दोलालघाट, विपी राजमार्गको रोशी स्थित मंगलटार, बनेपाको साँगामा हेल्प डेस्क राखिएको डा. सेढाईले बताउनु भयो । स्थानीय तहलाई भईरहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन, अक्सिजन, अस्सिजन कन्सन्टेटर लगायतका सामाग्रीहरु र जनशक्तिलाई तयारी रहन निर्देशन दिईएको छ ।
पहिलो र दोश्रो संक्रमणमा धेरै विरामीलाई सेवा दिएको धुलिखेल अस्पतालले दोश्रो चरणको संक्रमणमा उपचार गराएको ३ करोड ४३ लाख रुपैया अझै भुक्तानी पाईसकेको छैन । तर पनि अस्पतालले सामान्य १ सय, आईसियु ३५ र भेन्टिलेटर २४ वटा तयारी अवस्थामा राखेको छ । ‘हामीले पहिलो र दोश्रो चरणमा उपचार गराएको अनुभवका आधारमा यो चरणको संक्रमणमा उपचार गराउने तयारी गरेका छौं’–प्रशासकिय प्रमुख डा. रमेश माकजुले भन्नुभयो–‘सरकारले पैसा दिएर वा विरामीसँग लिएर उपचार गराउने हो निर्णय गरेको छैन । जसका कारण हाम्रो अस्पतालमा आएका विरामीलाई रिफर गरिरहेका छौं ।’ सरकारले अस्पतालहरुलाई तेश्रो चरणको संक्रमणका बारेमा के गर्ने आधिकारीक निर्णय नगर्दा विरामीले हैरानी ब्यहोरेका छन् । बनेपाको शिर मेमोरियल अस्पतालले दोश्रो चरणमा जस्तै कोभिडका लागि २० शैया र प्रि कोभिडका लागि १० शैया तयारी अवस्थामा राखेको छ । अस्पतालका मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेतका अनुसार केहि दिन देखि ज्वरो आउने र कोभिडका लक्षण मिल्दाजुल्दा विरामीको संख्या बढेको छ । प्रि कोभिडको बेडमा भर्ना गरी रिपोर्ट आए पछि कोभिड वार्डमा सार्ने गरी ब्यवस्थापन गरेको डा. बस्नेतले बताउनु भयो । कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता प्राप्त गरेका छैनन ।
मन्त्री लामाको आकस्मिक अनुगमन
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा मेलम्चीको एक कार्यक्रममा सहभागि भएर राजधानी फर्कने क्रममा धुलिखेलमा रहेको प्रादेशिक जनस्वास्थ्य ल्यावको अनुगमन गर्नु भएको छ । जनस्वास्थ्य ल्यावका निमित्त निर्देशक नारायण कार्कीले ल्यावमा दैनिक कोभिड संक्रमणका विरामीहरुको स्वाव परिक्षणका बारेमा मन्त्री लामालाई जानकारी गराउनु भएको थियो । बागमती प्रदेश सरकारले अनिवार्य खोप, फ्रन्टलाईनरलाई तेश्रो मात्राको खोप, जनस्वास्थ्यको मापदण्ड पालना गर्न र संक्रमण बढ्दै जाँदा उपचारका लागि ब्यवस्थापन गर्न गरी तयारी गरिसकेको बताउनु भयो प्रादेशिक ल्यावमा केहि दिन देखी संक्रमणका विरामीहरु धेरै आउन थालेको कार्कीले बताउनु भयो ।





