2026 August 25/ 02:41: 41pm

     धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकले फरार ब्यक्तिहरुको सूचीलाई अद्यावधिक गरेको छ । स्थानीय तह अनुसारका पालिकाहरुमा भएका फरार ब्यक्तिहरुको सूची अद्यावधीक गरी तत्काल पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेको छ । मसिंर मसान्तसम्म ३ सय ९७ जना फरार छन् ।
    २०२९ साल असार १६ गते तत्कालिन बेखसिम्ले गाविसका रत्न पहरी र ठुली पहरीलाई गर्भपतन गराएको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । अदालतले दुबैजनालाई १ वर्ष कैदको फैसला सुनाएको थियो । त्यतिबेला गरिएको फैसला अझै कार्यान्वयन भएको छैन । भुम्लु गाउँपालिकामा मात्रै ३६ जना फरार छन् । भुम्लुकै दावा भन्ने दावा घिसिङ्ग लामा बैकिङ्ग कसुर मुद्दामा फरार छन् । १ वर्ष कैद सुनाईएका दावाको २०७३ असार २९ गतेको फैसला हो । सोहि गाविस वडा नम्वर २ कै बेखसिम्लेका दावा तामाङ जर्बजस्ति करणी मुद्दामा फरार छन् । जिल्लामा पछिल्लो समय बैकिङ्ग कसुर र चेक अनादार सम्वन्धी मुद्दाका फरार धेरै छन् । जर्बजस्ति करणी, सम्वन्ध विच्छेद, बहुविवाह, लिखत बदर, सवारी ज्यान, अंगभङ्ग सम्बन्धी मुद्दाका फरार धेरै हुन थालेका छन् । प्रहरीले फरार ब्यक्तिहरुको खोजि कार्य तिब्र पारेको छ ।
    जिल्लाको खानीखोला गाउँपालिकामा ११ जना फरार छन् । सार्वजनिक अपराध, गाली बेईज्जती, कुटपिट र चोरी लगायतका अभियोगमा कैद र जरिवना तोकेको थियो । चौरीदेउराली गाउँपालिकाका २९ जना फरार छन् । सजायँ तोकिएका ब्यक्तिको खोजीमा प्रहरी परिचालन गरिएको छ । २९ मध्ये १३ जना बैकिङ्ग कसुर अभियोगमा कैद र जरिवना सुनाईएका ब्यक्ति छन् । तेमाल गाउँपालिकामा ४९ जना फरार छन् । २०५५ सालमा पुनरावेदन अदालत पाटनले फैसला गरेको कुटपिट मुद्दाका नारायणप्रसाद खरेलको सजायँ १ वर्ष ३ महिना १५ दिन कैद र ७ हजार ७ सय ५० जरिवना छ । मेच्छे गाविस ४ का साहिला तामाङलाई ज्यान मार्ने अभियोगमा ५ महिना कैद तोकिएको छ । उनि फरार छन् ।
    सदरमुकाम धुलिखेल नगरपालिका भित्र ८३ जना फरार छन् । धुलिखेलका सन्तोष पोखरेल बैकिङ्ग कसुरमा कैद सुनाईएका ब्यक्ति खुलेआम छन् । उनले ४ लाख ५ हजार जरिवाना र १६ हजार २ सय पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ । धुलिखेलकै रामेश्वर श्रेष्ठ, जनक तिमल्सिना पनि फरार छन् । नमोबुद्ध नगरपालिकाका ४८ ब्यक्ति फरार छन् । पनौतीका १ सय ४१ जना फरार छन् । सबैभन्दा धेरै फरार पनौतीमा छन् । पाँचखालमा ३३ जना फरार छन् । पाँचखाल, मण्डनदेउपुर लगायतका क्षेत्रबाट चेलीहरु लगेर बेचविखन गर्ने सरस्वती विश्वकर्मा २०५४ साल देखि फरार छिन् । मानव बेचबिखन सम्वन्धी मुद्दामा अदालतले उनलाई १ वर्ष ५ महिना २ दिन कैद सुनाएको थियो । २०५४ साल मंसिर ५ गते सुनाईएको उक्त फैसला अझै कार्यान्वयन हुन सकेको छैन ।
    बनेपा नगरपालिका भित्रका १ सय ११ जना फरार छन् । पनौती पछि दोश्रो धेरै फरार भएको क्षेत्र बनेपा हो । भारतले नाकाबन्दी लगाएको बेला पम्पमा नक्कली मेशिन जडान गरी उपभोक्ता ठगी गर्ने जनागालमा रहेको पेट्रोलपम्पमा संचालक पार्वती विष्ट अझै फरार छिन् । उनलाई अदालतले ४ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो । बनेपाका सागर भैल २०७५ साल मंसिर ३ गते भ्रष्टाचारजन्य कसुरमा दोषि ठहर भए । उनलाई कैद र ११ हजार जरिवाना तोकिएको छ उनि फरार छन् । बेथान्चोक गाउँपालिकाका १७ जना फरार छन् । २०४० साल चैत्र १४ गते साधारण चोरीमा बेथान्चोकका जसमान तामाङलाई १४ दिनको कैद सुनाईएको थियो । त्यतिबेलाको फैसला अझै कार्यान्वयन भएको छैन ।
मण्डनदेउपुर नगरपालिकाका ४७ जना फरार छन् । महादेवस्थान ८ घर भएका भरत सापकोटाले काठमाडौमा चमुण्डा निर्माण कम्पनी संचालन गरेका थिए । उनको कम्पनी मार्फत गरिएको कारोवारमा बैकिङ्ग कसुर गरेको अभियोगमा कैद र जरिवना सुनाईएको छ । महाभारत गाउँपालिकामा १७ जना फरार छन् । फोक्सिङ्गटार ३ घर भएका दावा तामाङलाई मानव बेचविखन तथा ओसार पसार अभियोगमा ११ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ । २०७० जेठ १४ गतेको फैसला कार्यान्वयन भएको छैन । उक्त मुद्दामा सोहि ठेगानाका ज्वाला भनिने रविलाल तामाङ पनि फरार छन् । रोशी गाउँपालिकामा ६० जना फरार छन् । भिमखोरी ८ का गुणराज लामाले बैदेशिक रोजगारका क्रममा ठगी गरेका थिए । २०७४ भदौ ८ गते बैदेशिक रोजगार न्यायाधिकरणले उनलाई कैद सुनाएको थियो । त्यस्तै रोशीकै मंगलटार ८ का शम्भु थापाले ठगी गरेको अभियोगमा काठमाडौ जिल्ला अदालतले २०५९ पुष ८ गते ५ वर्ष कैद र ५ लाख ४७ हजार ५ सय जरिवना सुनाएको थियो ।