2026 August 25/ 02:41: 39pm

पनौती/बाह्रबर्षे तीर्थयात्राका रुपमा लाग्ने पनौतीको मकर मेला कोरोना भाईरसको संक्रमणका बाबजूद निर्धक्क स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत माघ १ गते देखि शुरु भएको छ । सहभागी भक्तालुजनहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड नअपनाई मेलामा सहभागी भईरहेका छन् । कोभिडको माहामारी बढिरहेका बेला स्नान गर्न आउनेहरुको घुँईचो लागेको छ ।
    स्थानीय प्रशासनले मेलामा २५ जना भन्दा धेरै सहभागी नहुन आदेश जारी गरेको छ । तर सर्वसाधारणहरु त्यसको परवाह नगरी मेलामा निर्धक्क सहभागि भईरहेका छन् । माघ १ गते देखि २९ गतेसम्म एक महिनासम्म मकर मेला लाग्ने गरेको छ । नेपालमा एक मात्र स्थान उत्तरप्रयागका रुपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजनहरु मेला भर्न आउने गरेका थिए ।
    सत्ययुगमा देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहिल्यासँग छल गरेर अनुचित यौनसम्वन्ध कायम गरेपछि गौतम ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए । उनी पापबाट मुक्त भएका थिए भन्ने लोक आख्यान छ । त्यहि किंवदन्तीका आधारमा पनौतीमा हरेक १२ वर्षमा एक महिना त्रिवेणी धाममा मेला लाग्दै आएको छ । त्रिवेणी धाममा आई स्नान गर्दा आफुले जीवनमा गरेका हरेक पापबाट मुक्त भईन्छ भन्ने विश्वास जनमानसमा रहेको ईतिहासका जानकार सुर्यप्रसाद लाकोजुले बताउनु भयो ।
    महाभारतका प्रमुख पात्रहरु पाँचपाण्डवकी पत्नी द्रौपदीको मन्दिर पनौतीमा रहेको छ । प्राचीन समयमा इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव आदी देविदेवता र महापुरुषहरु पनौतीलाई तपोभुमि मानेर पनौतीमा आउने गरेको जनश्रुती रहेको छ । जगदगुरु शंकराचार्य, बन्धुदत्त, राजा मानदेव, हरिसिंहदेव, नरेन्द्रदेव, पृथ्वीनारायण शाह, बेलायती युवरात्री डायनाजस्ता ब्यक्तित्वहरु पनौतीमा आई पनौतीका बारेमा प्रशंशा गरेको ऐतिहासिक दस्तावेज रहेको लाकोजुले बताउनु भयो ।
    मकर मेलामा पद्मावती, लिलावती र गुप्त रुपमा बहने रुद्रावतीको सँगम रहेकाले त्रिवेणीको संगममा स्नान गर्ने चलन छ । स्नान लगत्तै इन्द्रेश्वर महादेवको दर्शन गरी गोरखनाथ डाँडामा गई दर्शन गर्ने गरिन्छ । भक्तजनहरुको घुईचोका कारण पनौतीबाट कोराना भाईरसको थप संक्रमण फैलन सक्ने चिन्ता स्थानीयहरुले ब्यक्त गरेका छन् ।