बनेपा/बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लवले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधी भलिवल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकिय अधिकृत कविराज उपे्रेतीले विजयी टिमलाई पुरस्कार वितरण गर्नु भएको थियो । बेस्ट अफ फाईभमा खेलाईएको प्रतियोगितामा भलिबल प्रेमी काभ्रे टिम र बनेपा नगरपालिकाको टिम दुई÷दुई सेटमा बराबरी भएको थियो । अन्तिम १५ अंकको सेटमा भलिबल प्रेमी काभ्रेले बनेपा नगरपालिकाको टिमलाई १४ का विरुद्ध थप एक अंकको खेलमा १६ ल्याई विजयी भएको थियो । बनेपा नगरपालिकाको टिम उप विजेता बन्दै नगद २५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको थियो । तेश्रो खानिखोला गाउँपालिकाको टिम भएको छ भने चौथो पनौतीको दलिन्चोक युवा कलव भएको थियो । तेश्रोले १५ हजार र चौथोले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । बनेपा नगरपालिका वडाअध्यक्षहरु कृष्णप्रसाद दाहाल, बलराम अधिकारी, चन्द्र खड्का, रामबहादुर कुँवर, समाजसेवी रञ्नकुश रञ्जिकार, कर्मचारीहरु तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।
लायकु क्लबका अध्यक्ष विक्रम प्रजापतीका अनुसार प्रतियोगितामा जिल्ला भित्रका मण्डनदेउपुर, धुलिखेल, खानीखोला, पनौती, नाला, बेथान्चोक लगायतका क्षेत्रबाट विभिन्न टिमको सहभागिता रहेको छ । लिग कम नक–आउटका आधारमा खेलाईएको उक्त प्रतियोगितामा बनेपा नगरपालिकाले प्रशिक्षण दिएका युवा खेलाडीहरु समेत सहभागि थिए । बनेपा नगरपालिकाले भलिबल खेलका लागि प्रशिक्षण दिई खेलाडीहरु उत्पादन गरेको थियो । उत्पादित खेलाडी बनेपाको टिमबाट प्रतियोगितामा सहभागि भएका थिए । समापन कार्यक्रममा प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटाले खेलको विकासका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउँदै प्रशिक्षण हल, प्रशिक्षण र खेलाडीहरुको संरक्षणका लागि निरन्तर कार्य गरेको उहाँहरुले बताउनु भयो । कार्यक्रम लायकु क्लवका अध्यक्ष विक्रम प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो ।





