धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दरवन्दी अनुसारका न्यायाधीश नहुँदा मुद्दाको चाप बढेको छ । कोरोना भाईरस, सर्वाेच्च अदालत तथा जिल्ला अदालतमा कानुन ब्यवसायीहरुको हड्ताल तथा न्यायाधीश सरुवाका कारण अदालतमा मुद्दाको चाङ लागेको हो ।
ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह भन्ने मान्यतालाई अदालतले आत्मासाथ गर्दै छिटो न्याय दिने प्रयास न्यायाधीशकै कारण असम्भव जस्तै देखिन थालेको छ । ‘साउन देखि एक जना न्यायाशीश नभएका कारण मुद्दाको चाप बढेको छ’–श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘अदालतमा दर्ता भएका मुद्दाको संख्या अनुसार जिल्ला अलालत काभ्रेपलाञ्चोकमा पाँच जना न्यायाशीश आवश्यक छ तर तीन जनाको दरवन्दीमा पनि एक जना न्यायाशीशको दरवन्दी साउन महिना देखि खाली छ । त्यहिकारण मुद्दाको चाप बढिरहेको छ ।’ सर्वाेच्च अदालतले तत्कालिन जिल्ला न्यायाधीश सुर्यप्रसाद पराजुलीका स्थानमा मोहनराज भट्टराईलाई सरुवा गरे पछि पराजुली काजमा ललितपुर जानु भएको थियो । पराजुलीका स्थानमा नयाँ न्यायाधीश नपठाएका कारण अदालतमा मुद्दा प्रभावित बनेका हुन् । तीन जना न्यायाधीश दरवन्दी भएको जिल्लामा दुई जना न्यायाधीशले मात्रै मुद्दा हेर्दा सेवाग्राहिहरुले समयमै न्याय पाउन कठिन भएको हो ।
‘विहिबार एकैदिन एकजना न्यायाधीशलाई ४३ वटा मुद्दाको पेशी सूची थियो’– श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘अहिले अदालतमा १ हजार ४ सय ५७ वटा मुद्दा छन् । दुई वर्ष नाघेका १ सय ९४ वटा मुद्दा अझै फछ्र्याैट हुन सकेको छैन ।’ दुई वर्ष नाघिसक्दा समेत मुद्दाको फैसला नभएका कारण सेवाग्राहिहरु मर्कामा परेका छन् । अदालतमा दैनिक हुने पेशीमा समेत ति मुद्दाहरुले प्राथमिकता पाउन सकेका छैनन । कानुनत एकजना न्यायाधीशले जिल्ला अदालतमा बार्षिक २ सय ५० वटा मुद्दा हेर्न पर्ने ब्यवस्था छ । काभ्रेमा झण्डै एकजना न्यायाधीशले बार्षिक एक हजार जति मुद्दा हेर्नु पर्छ । यतिखेर सर्वाेच्च अदालत आफै संकटमा छ । सर्वाेच्च अदालतले जिल्लाको समस्या सुल्झाउन पहल गरेको भए पनि सम्भव भएको छैन । न्यायाधीश सरुवा, बढुवा र नियुक्तिको काम समेत त्यहि आन्दोलनका कारण ठप्प भएको छ । सेवाग्राहिहरुले कानुन ब्यवसायीहरुको आन्दोलनका कारण पनि समयमै न्याय पाउन सकेका छैनन । दैनिक १२ बजेसम्म भएको आन्दोलन, कोभिडका कारण केहि समय नियमित मुद्दाको सुनुवाई स्थगित र न्यायाधीश अभावका कारण मुद्दाको चाप बढेको हो । तीनवटा इजलास रहेको काभ्रेमा दुईवटा संचालनमा छन् भने तीन नम्वर इजलास बन्द छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षमा १ हजार २ सय २२ थान मुद्दा जिम्मेवारी सरेको थियो । यो वर्ष ४ सय ५४ वटा मुद्दा फछ्र्याैट भएका छन् । चालु वर्षको पौष पहिलो सातासम्म जिल्लामा १ हजार ९ सय ११ थान मुद्दा थिए । अदालतमा डेड वर्ष कटेका १ सय ५३ थान, डेड वर्षसम्मका २ सय २ थान, एक वर्षसम्मका ३ सय ६५, ६ महिना भित्रका ५ सय ४३ थान मुद्दा फछ्र्याैट हुन बाँकी छन् । चालु वर्षको पौष पहिलो सातासम्म १ हजार ४ सय ५७ थान मुद्दा फछ्र्याैट हुन बाँकी रहेको श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले बताउनु भयो ।





