2026 August 25/ 01:48: 29pm

५० हजार नागरिक उतार्ने तयारी
    धुलिखेल/नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनमा घर घर चुल्हे निम्ता वितरण गरी उद्घाटन सभामा ५० हजार नागरिक उतार्ने तयारी गरिएको छ । एमालेका १ सय ३५ वटा वडा कमिटी, जनवर्गिय संगठन तथा काभ्रे काठमाडौ सम्पर्क मञ्चबाट समेत गरी ५० हजार एमालेका कार्यकर्ता, शुभचिन्तक र एमाले प्रति सद्भाव राख्ने नागरिकहरु सहभागि गराउने गरी तयारी शुरु गरिएको एमालेले जानकारी दिएको छ । 
    एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले अधिबेशनका लागि सबै उप समितिहरु कृयाशिल रहेको जानकारी दिनुभयो । कृयाशिल उप–समिति मार्फत अधिबेशनको प्रचार प्रसार र उद्घाटनमा सहभागी गराउने गरी जनपरिचालन शुरु भएको छ । बनेपामा आयोजित जनपरिचालन उप–समितिले सबै जनवर्गिय संगठन र पालिका कमिटी मार्फत नागरिकहरुको सहभागिता गराउने गरी तयारी गरिएको छ । एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु रेशम लामा र रुकमणी राना, बामगती प्रदेश उपाध्यक्ष रामहरी सुवेदी, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, जनपरिचालन उप समितिका संयोजक कञ्चन अधिकारी, प्रचार प्रसार समितिका संयोजक इन्द्र तामाङ लगायतले मन्तब्य राख्नु भएको थियो । सहभागिहरुले उद्घाटन सभामा धेरै भन्दा धेरै नागरिकहरु सहभागि गराउने गरी तयारी गर्ने बताएका थिए । 
    पौष २३ गते हुने एमाले काभ्रेको दशौं अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । धुलिखेलको रंगशालामा विहान १० बजे हुने अधिबेशनका लागि एमाले काभ्रेले गठन गरेका विभिन्न समितिहरुले तयारीलाई तिब्र बनाएका छन् । प्रचार–प्रसार उप–समितिले प्रचारको कार्य तिब्र बनाउँदै घर घर पार्टीले अधिबेशनमा सहभागि हुन आब्हान गरेको चुल्हे निम्तो वितरण गर्ने अभियान शुरु गरेको छ भने जनपरिचालन कमिटीले अधिबेशनको उद्घाटन सत्रमा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता ब्यापक बनाउन तयारी शुरु गरेको छ । पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुले तयारीलाई तिब्र बनाईएको बताएका छन् । शनिबार जिल्लाका सबै पालिकाका वडाहरुमा एकै साथ सर्वसम्वत प्रतिनिधि छानिएका छन् । झण्डै १ हजार ५ सय प्रतिनिधि विभिन्न क्षेत्रबाट सहभागि हुने एमाले काभ्रेको अधिबेशनका लागि नागरिकहरुले समेत उत्साहजनक रुपले सहभागिता जनाउने बताएका छन् । अधिबेशनका लागि पार्टी जिल्ला कमिटीको बैठकले प्रतिनिधी तथा पर्यवेक्षक छनौट मापदण्ड र क्षेत्र अधिवेशनमा पार्टीले भुगोल र जनसंगठनको मापदण्ड अलग अलग तोकेको थियो । भूगोलतर्फ पालिकाका वडामा रहेका संगठित सदस्यहरुबाट वडा तहमा प्रतिनिधी छनोट गर्ने निर्णय गरेको थियो । प्रतिनिधी छनोट गर्दा वडामा रहेका संगठित सदस्यबाट दलित संगठित सदस्य छुट्याइ कायम रहेका सदस्यमध्ये पहिलो ४५ जनासम्म संगठित सदस्यबाट १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने र त्यस भन्दा बढि प्रत्येक ४५ जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय अनुसार कार्यान्वयन भएको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एकजना महिला अनिवार्य हुनुपर्ने अर्थात् वडामा छनौट हुने कुल प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको थियो । वडामा रहेका दलित संगठित सदस्य मध्ये २० जना सम्म संगठित सदस्यबाट १ महिला सहित २ जना प्रतिनिधी निर्वाचित गर्ने र सो भन्दा बढी प्रत्येक २० जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको थियो । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल दलित प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको छ । 
    सबै पालिका कमिटीबाट कम्तिमा ३ महिला सहित ७ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तय भएको छ । जनसंगठन तर्फको अलग्गै मापदण्ड तोकिएको थियो । अनेरास्ववियू, अनेमसंघ, युवासंघ, अनेकिमहासंघ, मुक्ति समाज, जिफन्ट र पेशागत महासंघबाट कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड अनुसार प्रतिनिधि छनौट भएका छन् । राजसाँमहासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, नेपाल बुद्धिजीवी परिषद्, प्रगतिशील पेशागत कानून ब्यवसायी संगठन, नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा सैनिक संगठन, नेपाल राष्टिय उद्योग ब्यवसाय महासंघ, आदीवासी जनजाति महासंघ, मानव अधिकार यलाएन्स, राष्टिय स्वास्थ्यकर्मी संघ र प्रगतिशील ईन्जिनियर्स यसोसिएसनका जिल्ला कमिटीबाट कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित भएका छन् । त्यस्तै जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु प्रतिनिधि रहनेछन् भने जिल्ला निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार परिषदबाट छनोट हुने १५ जना प्रतिनिधीहरु, पार्टीको जिल्ला तहका प्रत्येक विभागबाट १ जनाका दरले प्रतिनिधि रहनेछन् । प्रतिनिधी बाहेकका जिल्ला सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरु पर्यवेक्षक रहनेछन् । काभ्रे काठमाण्डौ सम्पर्क मञ्चबाट प्रत्येक प्रदेश सभा क्षेत्रबाट ४ जनाका दरले १६ जना पर्यवेक्षकको ब्यवस्था गरिएको छ । 

चयन भए १३ सय प्रतिनिधि 
यि हुन् एमाले निकट पत्रकार

    नेकपा एमालेको १० औ जिल्ला अधिबेशनका लागि जिल्लाभरबाट १३ सय प्रतिनिधि चयन भएका छन् । चयन भएका मध्ये झण्डै २० जना पत्रकार छन् । प्रेस चौतारी काभ्रेमा आबद्ध पत्रकारहरु निर्विरोध प्रतिनिधि चयन भएका छन् । पत्रकार महासंघमा समत आबद्ध दुई पत्रकार नगर प्रमुख भएसँगै पत्रकार महासंघबाट उहाँहरुले राजीनामा दिनु भएको थियो । ति मध्ये धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु नेकपा एमालेको अध्यक्ष समेत रहनु भएको छ भने टिपी शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाको प्रमुख हुनुहुन्छ । 
    प्रेस चौतारीका संस्थापक अध्यक्ष सुरेश हुमागाई पनौती नगर कमिटी अध्यक्ष हुनु भएको छ । उहाँ एमालेको दशांै जिल्ला अधिबेशनको प्रतिनिधि हुनुहुन्छ । त्यस्तै पूर्व अध्यक्ष दयाराम महत धुलिखेल नगर कमिटी अध्यक्ष हुनुहुन्छ । उहाँ पनि प्रतिनिधि छनौट हुनु भएको छ । पूर्णचन्द्र सिग्देल यसअघि नै निर्वाचित जिल्ला निर्वाचन कमिटीमा भएकाले स्वतः प्रतिनिधि हुनुहुन्थ्यो । पूर्व अध्यक्ष नवराज बजगाई नयाँ गाउँ मण्डन देउपुरबाट प्रतिनिधि हुनु भएको छ । उहाँले एमाले जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । श्याम सापकोटा पनि बनेपा नालाबाटै प्रतिनिधि चयन हुनु भएको छ । उहाँले पनि जिल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । पवित्रा भुर्तेल यस अघि नै जिल्ला सदस्य हुनुहुन्छ । 
    रमेश न्यौपाने धुलिखेल ८ बाट प्रतिनिधि बनेका छन् । उनि प्रेस चौतारीका सदस्य छैनन् । पत्रकार महासंघको निर्वाचनमा हरेक वर्ष उनि नेपाली काँग्रेससँगको साँठगाँठमा उम्मेदवार बन्ने गरेका छन् । अघिल्लो पटक महासंघमा उपाध्यक्षमा विजयी हुँदा पनि न्यौपाने नेपाली काँग्रेस निकट प्रेस युनियनबाट उम्मेदवार बनेका थिए । यो पटक पनि प्रेस युनियनकै टिममा सहभागी भई एमाले निकट प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार बनेका नवराज बजगाई हराउ अभियानमा सक्रिय थिए । त्यसैकारण उनलाई चौतारीले कारवाही गरेको थियो । केशवराज पौडेल पनि वडाबाटै प्रतिनिधि बनेका छन् । दिपेश घिमिरे, हेमराज हुमागाई, गणेश आचार्य, सरस्वती श्रेष्ठ, हरिश्चन्द्र घिमिरे पनि प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी काभ्रेले भने अध्यक्ष भुवन रायमाझी र सदस्यहरु सरिता सापकोटा र सजना आचार्यलाई सर्वसम्मत प्रतिनिधिका रुपमा पठाएको छ । एमालेले यो पटक जिल्लामा पनि इलेक्ट्रिक भोटिङ्ग मेशिनबाट मतदान गराउँदैछ ।