2026 August 25/ 01:48: 23pm

यतिखेर महिला हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेको छ। अभियान संचालन भईरहँदा पनि महिलाहरु माथी हुने हिंसाका घटनामा न्यूनीकरण हुन सकेको छैन। महिलाहरु माथी हुने हिंसा न्यूनीकरण गर्न हरेक वर्ष मनाईने अभियानले चेतना भर्ने काम भए पनि घर भित्रबाटै हुने हिंसालाई कम गर्न ब्यक्ति स्वयम् जिम्मेवार बन्नु र बनाईनु जरुरी छ। ब्यक्तिले जबसम्म आफूबाट गरिने अपराधपूर्ण हिंसा रोक्छु भनेर कसम खाँदैन वा हिंसा रोक्न सक्दैन तबसम्म अरुले भनेको र कानूनले कारवाही गरेको ब्यर्थ सावित हुन पुग्छ। प्रहरी कार्यालयमा होस् वा स्थानीय न्यायिक समितिमा दर्ता भएका उजुरीहरु हुन्। जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु हुन् वा आत्महत्याका घटनाहरु हुन्। जर्बजस्ती करणीका घटनाहरु हुन् वा सम्पत्ति लेनदेनका मुद्दाहरुमा होस् हरेक स्थानमा महिलाहरु माथी हिंसा हुने गरेको तथ्यांकले देखाउने गरेको छ। पछिल्लो समय आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्ने कानूनी ब्यवस्था भए पनि अनुसन्धान सहि हुन नसक्दा, शक्तिका आधारमा अनुसन्धान हुँदा निर्दोषहरुले ज्यान गुमाउनु परिरहेको छ।
    प्रहरीले अपराध न्यूनीकरण र नियन्त्रणका लागि विशेष टोली परिचालन गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको मात्रै तथ्याङ्क हेर्ने हो भने पनि घरेलु हिंसा पछि आत्महत्या गर्ने क्रम बढिरहेको छ। जिल्लामा तीन वर्षमा २३ जनाले आत्महत्या गरेको भए पनि पछिल्लो आर्थिक वर्षमा ११ जनाले आत्महत्या गरेका छन्। जिल्लामा दर्ता हुने महिला तथा बालबालिका सम्बन्धी अपराध सम्बन्धी विशेष घटनाहरु घरेलु हिंसा, आत्महत्या, बाल विवाह, यौनजन्य अपराध, साइबर अपराध लगायत छन्। सबैभन्दा धेरै आत्महत्याका घटना छन्। आत्महत्या गर्ने मध्येको नेपाल संसारभर सातौं स्थानमा पर्ने डब्लुएचओले जनाएको छ। त्यसमध्ये नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन्। काभ्रेमा महिला भन्दा धेरै पुरुषले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ। नेपालमा बर्षेनि औसत ८,६४० जना मानिसले आत्महत्या गर्ने गरेका छन्। डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो। कष्टदायक वैवाहिक जीवन, घरेलु झै–झगडा, परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, मद्यपान तथा दुव्र्यसन लगायतले आत्महत्या गरिरहेका छन्। तीन वर्षमा २ सय ६ जना पुरुषले आत्महत्या गरेका छन् भने १ सय ४६ जना महिलाले आत्महत्या गरेका छन्। विवाहित २ सय ८७ र अविवाहित ८७ जना छन्। बालक ७ जना, बालिका १५ जनाले आत्महत्या गरेका छन्। बालबालिकाहरुले आत्महत्या गर्न थालेपछि प्रहरीले विद्यालय स्तरमै जनचेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ। 
    कोभिड १९ को महामारी तथा अन्य विविध कारण पनि महिला माथि हिंसा भईरहेको छ। १६ वर्ष मुनिका १६ जना र ६० वर्ष भन्दा माथीका ३३ जना ब्यक्तिहरुलाई परिवारको संरक्षण नभएका कारण आत्महत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अपराधको महत्वपूर्ण कारण बाल विवाह सामाजिक अवस्था, यौनजन्य अपराध रहेका छन्। पछिल्लो समय बालयौन दुब्र्यवहार, जर्बजस्ति करणी, सार्वजनिक स्थलमा हुने यौन दुब्र्यवहार, घरेलु हिंसा सम्बन्धि घटना भईरहेका छन्। घरेलु हिंसाकै कारण बर्षेनि महिलाहरुले ज्यान गुमाउनु परेको छ। स्थानीय सरकार, न्यायिक समिति तथा जनप्रतिनिधिको प्रयासले पनि घरेलु हिंसा नियन्त्रण छैन। सबै क्षेत्र महिला हिंसा रोक्न सक्रिय हुनु जरुरी छ।