शंखु, धुलिखेल/गौरीशंकर साना किसान कृषि सहकारी संस्था लिमिटेड धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । सहकारी स्थापना, एकीकरण तथा संचालक र कर्मचारीको जिम्मेवारीमा रहेर सेवा पु¥याउनु भएका तथा सञ्चारमाध्यमको माध्यमबाट सहकारी गतिविधिमा उल्लेख्य योगदान पु¥याएकोमा नेपाल पत्रकार महासंघ काभ्रेका निर्वतमान अध्यक्ष, चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनालाई सम्मान गरेको छ । संस्थाको एकिकरण पछिको प्रथम तथा संस्थाको दशौ बार्षिक साधारण सभामा उक्त सम्मान गरिएको हो ।
नेपाल समाचारपत्रकर्मी, प्राईम एफएम १०४.५ मेगाहर्ज तथा जनआस्थामा कार्यरत तिमल्सिनालाई बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद् चन्द्र लामा र संस्थाका अध्यक्ष सिताराम भट्टराईले सम्मानपत्र, दोसल्ला सहित सम्मान गर्नु भएको थियो । २०७७ असोज २४ गते गौरी शंकर र साना किसान कृषि सहकारी बीच एकिकरणका लागि कार्यदल गठन भई २०७७ कार्ति ८ गते नयाँ संचालक समिति गठन गरेको थियो । २०७७ माघ १० गते विशेष साधारण सभाले एकिकरणको प्रस्ताव पास गरे सँगै बागमती प्रदेश भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धुलिखेल नगरपालिका वडा नम्वर १० र १२, पनौती नगरपालिका वडा नम्वर ९ र १०, नमोबुद्ध नगरपालिका वडा नम्वर ११ कार्यक्षेत्र रहने गरी २०७७ चैत्र २२ गते मान्यता प्रदान गरेको अध्यक्ष सिताराम भट्टराईले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्त्यसम्मका संस्थाको शेयर पुँजी ६९ लाख ७४ हजार ६ सय रहेको छ भने ८ करोड २७ लाख ९५ हजार ५ सय ८० रुपैया बचत र विभिन्न कोषहरुमा ६८ लाख २० हजार १ सय ४२ रुपैया समेत गरी ९ करोड ६५ लाख ९० हजार ३ सय २२ रुपैया बचत रहेको छ । सोहि सभामा बोल्दै पूर्व मन्त्री चन्द्र लामाले कृषिमा यान्त्रीकरण र आधुनिकिरणमा जोड दिएको बताउनु भयो । ‘शंखु धार्मिक, कृषिका लागि ब्यवसायीक र पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न पूर्वाधार निर्माणको कार्य भईरहेको छ’–पूर्व मन्त्री चन्द्र लामाले बताउनु भयो–‘विद्यालय, बृद्धाश्रम, खानेपानी, सडक, पुल लगायत कृषिमा थप नयाँ कार्यक्रमका लागि बजेट विनियोजन भईरहेको छ ।’ सुन्तलाको पकेट क्षेत्र भुकम्प पछि क्षति पुगेकाले त्यसको संरक्षण तथा प्रबद्र्धनका लागि बागमती प्रदेश सरकारको तर्फबाट भएको पहल र आगामी दिनमा सहकारीको भवन निर्माणमा गरिने योगदानमा कृयाशिलता रहने पूर्व मन्त्री लामाले बताउनु भयो । सहकारीले घर घरमा समृद्धि ल्याउन सफल भएकाले सहकारीका कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै उत्पादन भएका कृषि उपजको बजारीकरणमा सहजिकरण गर्ने लामाले बताउनु भयो । लाकुरी भन्ज्याङ्ग दाहालटार कटुञ्जेबेशी सडक निर्माण तथा शंखुमा अन्य पूर्वाधारमा प्रदेश सरकारको तर्फबाट बजेट विनियोजन गरिरहेको उहाँले बताउनु भयो ।
सहकारीले सहकारीका सदस्यहरुका लागि सिचाई मर्मत, कृषि यान्त्रीकरणका लागि अनुदान, पिठो पिस्ने मेशिन, ट्रयाक्टर, पम्प तथा कुटानी पिसानीका मेशिनहरु उपलब्ध गराउँदै आएको छ । सहकारीका सदस्यहरुले लिएको ऋणको त्रिपक्षीय विमा, सोलार ड्रायर, पशुपालन र कृषि कर्जाका लागि ब्याज अनुदानका लागि सम्झौता, कृषकहरुलाई तालिम, सहकारी ब्यवस्थापन तालिम उपलब्ध गराएको अध्यक्ष सिताराम भट्टराईले बताउनु भयो । चालु वर्षमा तरकारी संकलन केन्द्र स्थापना, पशुपालन तथा तरकारी खेति तालिम, वित्तिय साक्षरता तालिम, पशुविमा कार्यक्रमलाई दिगो, सुलभ र सरल बनाउने, कृषि यान्त्रीकरण सबै सदस्यहरुको घर घरमा पु¥याउन पहल गर्ने, अन्तर समुह गोष्ठी संचालन, अवलोकन भ्रमण, सिचाई कार्यक्रम सचालन गर्ने अध्यक्ष भट्टराईले बताउनु भयो । कार्यक्रममा पशुपालनका लागि १ करोड ५० लाख, कृषिका लागि १ करोड, ब्यवसायीक कृषिका लागि १ करोड ५० लाख र लघु कर्जाका लागि १ करोड गरी ५ करोड रकम साना किसान सँग माग गरी सदस्यहरुलाई वितरण गर्ने उहाँले बताउनु भयो । संस्थामा १ हजार ५ सय ६० सदस्य छन् । संस्थाले ६ करोड ७६ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।
सभामा उपाध्यक्ष सुवर्ण श्रेष्ठ, लेखा समिति संयोजक राधाकृष्ण फैजु, ऋण समिति संयोजक चन्द्रमान तामाङ लामा र प्रवन्धक प्रकाशकुमार श्रेष्ठले सहकारीका गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा वडा अध्यक्ष हर्कबहादुर तामाङ, नमोबुद्ध माविका संस्थापक सत्यनारायण श्रेष्ठ, पूर्व अध्यक्ष रुद्रहरी सापकोटा, शिव आचार्य, पूर्व संचालकहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





