डाईलोसिस केन्द्र र सरुवा रोग नियन्त्रण अस्पताल बनाउने नगरपालिकाको तयारी
धुलिखेल/काभ्रेको धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रे भन्ज्याङ्गमा १५ शैयाको अस्पताल निर्माण शुरु भएको छ । ९ रोपनी क्षेत्रफलमा निर्माण शुरु भएको अस्पतालको म्याट फाउण्डेशनको ढलान शुरु भएको छ । भुकम्प प्रतिरोधी भवनको गुणस्तर तथा भईरहेको कामको नगरपालिकाको टोलीले अनुगमन गरेको छ ।
अस्पताल निर्माणको नगरपालिका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, प्राविधिक, वडा अध्यक्षहरु, स्थानीयहरुले अनुगमन गरेका छन् । ६५ सेमी मोटाईमा अस्पतालको म्याट फाउण्डेशनको ढलान गरिएको छ । जमिन तहको ६५ सेमी मोटाईको ढलानको क्षेत्रफल ४ सय १५ घन मिटर छ । दुईवटा ब्लकमा निर्माण हुने भवनको १ हजार ४ सय १० घनमिटर छ । ब्लक ए मा ८ सय घनमिटरमा तीन तल्ला ढलानको पूर्वाधार निर्माण हुनेछ । ६ सय घनमिटरको दोश्रो ब्लकमा साढे २ तल्लाको भवन निर्माण हुनेछ । धुलिखेल नगरपालिकाले शुरु गरेको स्वास्थ्य शहर निर्माण अभियानमा उक्त अस्पतालले महत्वपूर्ण योगदान गर्नेछ ।
‘काभ्रेभञ्ज्याङ्गमा निर्माण शुरु भएको १५ शैयाको अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालका रुपमा विकास गर्ने र डाईलोसिस गर्नु पर्ने विरामीहरुका लागि त्यहि अस्पतालबाट सेवा दिने गरी ब्यवस्थापन गर्न तयारी गरेका छौ’ं– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘सरुवा रोग नियन्त्रण र विभिन्न रोगबाट संक्रमित ब्यक्तिहरुको डाईलोसिस गर्ने केन्द्रका रुपमा उक्त अस्पताललाई अघि बढाईने छ ।’ स्वस्थ नगर, आरोग्य शहरका रुपमा धुलिखेललाई विकास गर्न उक्त अस्पतालले थप मद्दत पुग्नेछ ।
विपी राजमार्गमा हुने सवारी दुर्घटना तथा सोहि राजमार्ग हुँदै विभिन्न जिल्लाबाट आएका विरामीहरुको उपचार समेत पहिलो चरणमा सोहि अस्पतालमा गर्न सकिनेछ । धुलिखेल नगरपालिकाको वडा नम्वर ८,९, १० र ११ साथै नमोबुद्ध नगरपालिकाका केहि वडाका नागरिकहरु अस्पतालको सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशका ७ सय ५३ वटै स्थानीय तहमा शुरु गरेको अस्पताल निर्माण कार्यले धुलिखेल नगरपालिकामा सार्थकता प्राप्त गर्दैछ । सरकारले विनियोजन गरेको बजेट तथा अस्पताल संचालनका लागि दरबन्दी समेत नेपाल सरकारले नै ब्यवस्थापन गर्नेछ । स्थानीय सरकारलाई थप दायित्व नपर्ने गरी अस्पताल संचालनको मापदण्ड स्विकृत गरेको केपी ओली नेतृत्वको सरकारले शुरु गरेका अस्पतालहरु धेरै स्थानमा निर्माण हुन थालेका छन् ।
नगरपालिकाले उक्त अस्पताल निर्माणका लागि झण्डै २२ करोड इस्टमेट गरेको छ । २०७८ असार १४ गते निर्माण सम्झौता गरेको निर्माण कम्पनी ड्रागन कमलजिन शिवालय जेभीले २०८० असार १४ भित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । भ्याट बाहेक ११ करोड ४२ लाख ३७ हजार ८ सय ६१ रुपैयामा सम्झौता गरेको उक्त भवनहरुको निर्माण समयावधी अगावै सम्पन्न हुने निर्माण ब्यवसायीले बताएका छन् ।





