बनेपा/नेकपा एमालेको दशौं महाधिवेशनबाट नेकपा एमालेका नेता, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का संघीय सांसद एवं पुर्व मन्त्री गोकुल बास्कोटा अत्याधिक मत सहित विजयी हुनु भएको छ भने संघीय सांसद् नविना लामा निर्विरोध निर्वाचित हुनु भएको छ ।
बास्कोटाले यसअघि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो । सहमतिका लागि महाधिवेशनको बन्द सत्रले अध्यक्ष केपी ओलीलाई नामावली प्रस्ताव गर्न दिएको थियो । प्रस्तावित नामावलीमा नेता बास्कोटा केन्द्रिय सदस्यमा प्रस्तावित हुनुहुन्थ्यो । खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएका बास्कोटाले १७ सय १२ मत ल्याई विजयी हुनु भएको हो । काभ्रेको विकासका संवाहक बास्कोटा मन्त्री हुँदा पनि र नहुँदा पनि जिल्लाको विकासका लागि बजेट प्राप्त हुने क्रम रोकिएको छैन । बास्कोटाकै पहलमा जिल्लामा महत्वपूर्ण परियोजनाहरु संचालन भईरहेका छन् । बास्कोटाको केन्द्रिय राजनीतिमा सहभागितासँगै जिल्लाको विकास तथा पार्टी संगठन निर्माणमा थप सहज अपेक्षा गरिएको छ । यस अघि बास्कोटा काभ्रे जिल्ला इन्चार्ज हुनुहुुन्थ्यो ।
केन्द्रिय सदस्य खुल्ला तर्फको महिलामा निर्वाचित नविना लामा विद्यार्थी संगठनको पूर्व केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो भने उहाँ समानुपातिक तर्फबाट सांसद् पनि हुनुुहन्छ । काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुले केन्द्रिय सदस्यको आंकाक्षा राखेको भए पनि उम्मेदवारी दर्ता भएन । काभ्रेको प्रतिनिधित्व गर्दै थुप्रै ब्यक्तिहरु प्रतिनिधिका रुपमा सहभागि हुनु भएको थियो । महाधिवेशनबाट एमाले अध्यक्ष केपी ओली अत्याधिक मतका साथ पुनः निर्वाचित हुनु भएको छ ।





