एउटा सन्त जीवनको अन्तिम चरणमा मृत्युशैयामा पल्टिरहेका थिए । मर्नुभन्दा अगाडि उनलाई कसैले सोध्यो कि तपाईंले को सँग ज्ञान सिक्नुभयो ? सन्त भन्छ यो एकदमै कठिन प्रश्न हो । कस–कसको नाम लिउ मैले ? जीवनमा कुनै पनि क्षण यस्तो रहेन कि मैले कसै न कसैबाट कुनै न कुनै कुरा सिकेको नहोस् एकपटक कतै जानको लागि बाटोमा निस्केको थिएँ, एउटा सानो बच्चा हातमा बलिरहेको दियो लिएर कतै जाँदै रहेछ । मैले उक्त बच्चालाई प्रश्न गरें कि– “बाबु, के तिमीले भन्न सक्छौ कि यो दियोमा जुन ज्योति बलिरहेको छ त्यो कहाँबाट आएको हो ? मैले सोचेको थिएँ कि आखिर सानो बच्चा न हो, प्रश्न सुनेरै अचम्मित हुनेछ, यो अबोध बालकले के जवाफ देला ? तर त्यो बच्चाले जुन जवाफ दियो, त्यो जवाफ देखेर म आफै अचम्ममा परें । बच्चाले सास तानेर दियोमा फुक्यो अनि बलिरहेको दियो निभाई दियो । त्यसपछि म तिर फर्केर भन्यो कि अब तपाईं नै भन्नुहोस्, दियोको ज्योति कहाँ गयो ?
मैले त्यो बच्चाको खुट्टा समातें, मैले एउटा गुरु भेट्टाएको थिएँ । एउटा सानो बच्चाबाट मैले यो ज्ञान प्राप्त गरें कि कसैलाई पनि यो सानो छ त्यसैले यसले केही जान्दैन भनेर ठान्नु गलत रहेछ । हरेक व्यक्तिमा केही न केही रहस्य लुकेको हुँदोरहेछ, हरेक व्यक्तिबाट केही न केही नयाँ कुरा जन्मिदो रहेछ । केबल उमेर कम हुँदैमा कसैलाई सानो ठान्नु भुल हुँदोरहेछ । मसँग कुनै उत्तर थिएन । त्यसपछि मैले थाहा पाएँ कि जुन प्रश्न मैले गरेको थिएँ, त्यो प्रश्न नै अज्ञानपूर्ण रहेछ । अनि मैले यो पनि बुझें कि जहाँसम्म त्यो प्रश्नको उत्तरको सम्बन्ध छ, म पनि त्यति नै बच्चा हुँ जति त्यो बच्चा थियो । मेरो अग्रज हुनुको भ्रम टुटिसकेको थियो र त्यो भ्रम टुट्नु एउटा अद्भुत शिक्षा थियो, जुन एउटा सानो बच्चाले मलाई दिएको थियो । यो अर्थमा ऊ मेरो गुरु भएको थियो । म एउटा गाउँको चौतारीमा बसिरहेको थिएँ । अचानक एउटी स्त्री कतैबाट दौडिएर आइन् । उनका वस्त्रहरु अस्तव्यस्त थिए । उनले केही ओढेकी पनि थिइनन् । उनका गोप्य अङ्गहरु पनि राम्रोसँग छोपिएका थिएनन् । त्यस्तो नाङ्गो–भुतुङ्गो अवस्थामा आएर उसले मलाई हेरेर सोधी के तपाईंले कुनै मान्छेलाई यताबाट गएको देख्नुभो...? मैले ऊ तर्फ नहेरेर अर्कोतिर मुन्टो फर्काउदै भने असभ्य आइमाई पहिला आफ्नो वस्त्र ठिक गर, त्यसपछि जे जे सोध्नुछ सोध । ती स्त्रीले भनिन माफ गर्नुस्, तपाईंको भेषभुषा र व्यक्तित्व हेर्दा मलाई लाग्यो कि तपाईं एउटा सन्त हुनुहुन्छ, भगवानको भक्त हुनुहुन्छ, भगवानको सेवक हुनुहुन्छ । मेरो प्रेमी यहि बाटोबाट आउँदैछ, म उसलाई खोज्न निस्केकी हुँ । वर्षौं पछि ऊ यताबाट आउँदैछ भन्ने थाहा पाए पछि म उसको प्रेमको कल्पनामा यति डुबेछु कि मलाई वस्त्रको मात्र हैन आफ्नै शरीरको समेत परवाह रहेन । मेरो तन र मन दुबै उसको प्रेममा यसरी मग्न भएछ कि मलाई यो संसारको कुनै कुराले ध्यानाकर्षण गर्न सकेन तर तपाईं भगवानको भक्ति र साधना गर्ने एउटा सन्त भएर पनि भगवानको प्रेममा मग्न हुन सक्नु भएन । साधना गर्नुको अर्थ भगवानको प्रेममा डुब्नु हो, भगवानको कल्पनामै मग्न रहनु हो ताकी संसारिक माया मोह भन्दा टाढा रहन सकियोस् र कसैको बस्त्र वा अङ्ग नदेखियोस् ।
उनको कुरा सुनेपछि म झसङ्ग भएँ । तुरुन्तै उनको पाउ समातें र माफी मागें । मैले उनलाई भने कि तिम्रो प्रेम मेरो भन्दा निकै गहिरो रहेछ । मैले सोंच्ने गर्थें कि म परमात्माको प्रेमी हुँ, तिमीले पुष्टि गर्दियौ कि हैन रैछु, म भ्रममा रहेछु । जस्लाई अरुको वस्त्र र नाङ्गो शरीर देखापर्छ, त्यो कसरी परमात्माको प्रेमी हुनसक्छ ? जो परमात्माको प्रेममा त्यति पनि डुब्न सकेन जति एउटा स्त्री आफ्नो प्रेमीको प्रेममा डुब्न सक्छिन् ! त्यसदिन मैले बुझें कि नाङ्गा बाबा र अघोरी बन्न पनि त्यति सजिलो रहेनछ । वस्त्र खोलेर नाङ्गिनु र शरीरमा खरानी घस्नु मात्र नाङ्गा बाबा हुनु हैन रहेछ । वास्तविक नाङ्गा बाबाहरुले काम, क्रोध, लोभ, मोह र संसारिक सुख सुबिधा त्यागेर संसारको कुनै पनि कुरामा मन भड्किनबाट रोक्न सक्नुपर्दो रहेछ । त्यसैले ती नारी मेरो गुरु बनिन् । एकपटक भड्किएर मध्यरातमा एउटा गाउँमा पुगें । चकमन्न रातमा गाउँका सबै मानिसहरू सुतिसकेका थिए । म चाहिँ बासको खोजीमा भौंतारिदै हिडिरहेको थिएँ । एउटा ब्यक्ति एउटा घरको छेउमा भित्तामा अडिएर बसिरहेको देखें । मलाई त्यो व्यक्ति कुनै चोर वा लुटेरा हुनसक्छ भन्ने लाग्यो । त्यस्तो अन्धकार रातमा अर्काको घरको भित्तामा टाँसिएर त्यसरी अरु को बस्न सक्छ र ? मैले त्यो ब्यक्ति चोर वा लुटेरा नै हो भन्ने ठानें । तर त्यो व्यक्तिले मलाई सोध्यो के तपाईं बाटो बिराएको एउटा बटुवा हो ? आउनुस्, मेरै घरमा बस्नुस् । रातीको पाहुना देवता समान भन्छन् । अब त रात निकै गहिरो भैसक्यो । धर्मशालाका ढोकाहरु पनि बन्द भैसके । उसले मलाई आफ्नो घरमा लिएर गयो । मेरो सुत्ने बन्दोबस्त गरिसकेपछि भन्यो कि म जान्छु, तपाईं आराम गर्नुस् । रातीमा नै मेरो ब्यवसाय चल्ने गर्छ । मैले सोधें के हो तिम्रो व्यवसाय ? उसले भन्यो एउटा परमात्माको साधकसंग झुठो बोल्न सक्दिनँ, म एउटा गरीब चोर हुँ । त्यो चोर त गयो तर म आश्चर्यचकित भएँ । यत्तिको सत्य म पनि बोल्न सक्ने थिइनँ । मेरो मनमा पनि कैयौं पटक चोरी गर्ने सोंच नआएको हैन । मेरो मनमा पनि कस्ता कस्ता ब्यभिचारहरु नउब्जेका कहाँ हुन र ? तर मैले कहिल्यै कसैसँग भन्न सकिनँ । यति सरल त म पनि थिइनँ जति त्यो चोर सरल रहेछ । जब रात पुरै बित्यो, बिहानीपख चोर फर्केर आयो । बिस्तारै बिस्तारै पाइला बढाउदै अगाडी सर्यो ताकी मेरो निन्द्रा नखुलोस । केही भेट्यौ त ? केही ल्यायौ । चोरले भन्यो छैन, आज त केही पनि हात लागेन । खैर, केही छैन, भोलि फेरि कोसिस गरुँला । चोर खुशी नै थियो, निराश थिएन ।
म तीस दिनसम्म उसको घरमा पाहुना बनेर रहेँ । उसले भन्थ्यो तपाईजस्तो परमेश्वरको साधकको सेवा गर्न पाउनु मेरो भाग्य हो । मैले जीवनमा चोरी गरेर जुन पापकर्म गरेको छु, तपाईंको सेवा गरेर मेरो यमलोकको सजायँ अलिकति कम हुन्छ कि ? उसको यस्तो अनुरोधलाई टार्न नसकेर म बसेको थिएँ । ती तीस दिनहरूमा मैले देखें कि प्रत्येक रात उ चोरी गर्न जान्थ्यो तर प्रत्येक बिहान उ खाली हात नै फर्कन्थ्यो । हरेक दिन बिहान मैले उसलाई केही भेट्टायौ भनेर सोधेँ । हरेक पटक उसले जवाफ दिइरह्यो । छैन, आज त केही भेट्टाउन सकिनँ । खैर, ठिकै छ, भोलि फेरि कोशिस गरुँला । एक महिना पछि म उसको घरबाट निस्किए । त्यसपछि जब म परमात्माको खोजीमा गहिरो तरिकाले डुब्न थालें र कठोर साधना गर्न थालें तर परमात्माको कुनै बिन्दु, संकेत, कुनै छेउ–किनार भेट्टाउन नसकेर थकित र निराश हुन्थें । घरीघरी त लाग्थ्यो कि यो सबै चक्कर छोडिदिउ, यो खोज यहीँ अन्त्य गरुँ, यो दौडको यहीँ विश्राम दिउँ तब मलाई त्यो चोरको सम्झना आउथ्यो जो दिनदिनै खाली हात आउथ्यो तर कहिल्यै निराश हुन्थेन । भोलि फेरि कोशिस गरुँला भन्थ्यो र फेरि अर्को दिन प्रयास गरिरहन्थ्यो । मलाई त्यै चोरको हिम्मत र विश्वासले हौसला प्रदान ग¥यो, त्यसैको सम्झनाले मलाई निराश हुनबाट जोगायो । जुन दिन मैले परमात्माको ज्योति भेट्टाएँ, त्यो दिन मैले आफ्नो हात जोडें र त्यो चोरको लागि प्रणाम गरें । यदि त्यो रात मसंग त्यो चोर नभेटिएको भए शायद म परमात्माको ज्योतिको दर्शन पाउनुभन्दा पैले नै निराश भैसकेको हुन्थें होला ।
जीन्दगी चारैतिरबाट प्राप्त हुने ठूलो शिक्षा हो, चारैतिर सत्य हो । जिन्दगी चारैतिर उभिएको छ दिनदिनै प्रतीक्षा गरेर, तर हाम्रो आँखाहरु बन्द छन् । अनि हामी सोध्छौंः सत्संग गर्न कहाँ जाने ? हामी सोध्छौं कस्को चरणस्पर्श गर्ने ? कसलाई गुरु बनाउने ? जबकी यता जिन्दगी स्वयं उपस्थित भैरहेको छ सबथोक लुटाउन, सबै कुराको रहस्य खोल्न तर यतातिर हाम्रो आँखा तथा ह्दय दुबै बन्द छ्न् । मैले यो भन्दिन कि सत्संग गर्न नजानुस्, तर आफ्नो हृदय यस्तो बनाउनुस् कि चौबीस घण्टा सत्संग भैजाओस् । जिन्दगीमा सबै कुराहरू यस्ता छ्न कि जसबाट सिक्न सकिन्छ, पाउन सकिन्छ, जान्न सकिन्छ । तर, कुनै दृष्टि खुलोस्, कुनै अन्तर्दृष्टि खुलोस । मान्छे आज पनि मैले भोगेका यि भनाईहरु उतिक्कै सान्र्दभिक छन् । मान्छे सुखका लागि छट्टपट्टिएका छन् । सुख छ तर भेट्टाउन सक्दैनन । आफ्ना सुखहरुलाई मान्छे बाँड्न सक्दैन । दुःख भयो भने आत्तिन्छ । हरेक मान्छेका आफ्ना दुःख सुख हुन्छन् । तर पनि मान्छेले निरन्तर सिक्ने शिक्षा र भोगाईलाई अनुभव बनाउँदै जीवन समृद्ध बनाउनु पर्छ । प्रविधिको विकाससँगै ब्यक्तिले आफुले आफैलाई बिर्सिसकेको छ । परिवारका सदस्यहरु विर्सिसकेको छ ।
गोपाल पाल्पाली
आचार्य





