बनेपा/बनेपा नगरपालिकाको आयोजनामा किशोरीहरुसँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ दिने जीवन उपयोगी तालिम शुरु भएको छ ।
नगरपालिकाको वडा नम्बर ५ मा भएको उक्त कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । उपप्रमुख सापकोटाले किशोरीहरुलाई जिवन उपयोगी तालिम प्रदान गरिएको बताउनु भयो । उनिहरुलाई दशवटा जीवन उपयोगी तालिम, किशोरी अबस्थामा हुने शारिरीक परिवर्तन, यौन दुव्र्यवहार, बाल विवाह सम्बन्धी, किशोरी समुह गठन गरिएको बताउनु भयो । उक्त बाल क्लबमा सामान्य बचत गर्ने बानी बसाली प्रत्येक महिना बैठक बसी किशोरीहरुलाई परेको समस्याका बारेमा छलफल गर्ने गरिएको बताउनु भएको थियो । नगरलाई बाल मैत्री घोषणा गर्नका लागी तिब्र अनुसूचक पूरा गरी ५ वटा वडालाई छिटै बालमैत्री वडा घोषण गर्ने सापकोटा दाहालले बताउनु भयो ।
तालिममा वडा नम्बर ५ मा २५ जना किशोरीको समूह बनाईएको थियो भने किशोरीहरुलाई प्रशिक्षण महिला विकास शाखा अधिकृत बिजया सुवेदी र महिला विकास निरिक्षक निर्मला कार्कीले प्रदान गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारीले वडालाई बाल मैत्री वडा घोषणका लागी अन्तिम चरणमा पुगेको बताउनु भयो । बालमैत्री वडाका लागि सम्पूर्ण सुचकहरु पूरा गरि प्रत्येक महिना बाल क्लबहरुको बैठक राखिएको, टोल टोलमा बालक्लब गठन गरिएको अधिकारीले बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । त्यसैगरी बनेपा नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुसँग उपप्रमुख कार्यक्रम अन्तर्गत ३ दिने जीवन उपयोगी तालिम सम्पन्न भएको छ । तालिममा ३१ जना किशोरीको समूह गठन गरिएको छ ।





