देवीटार, महाभारत/महाभारत गाउँपालिका भित्र निर्माण शुरु भएका अन्य प्रहरी चौकीहरु निर्माण सम्पन्न भए पनि गाउँपालिकाको केन्द्रमै रहेको प्रहरी चौकी निर्माण सम्पन्न हुन सकेको छैन । प्रहरीको भवन अलपत्र पार्ने निर्माण ब्यवसायीको लार्पवाहिले नागरिकहरुले सेवा पाउन समेत कठिनाई भएको छ ।
२०७६ असोज १३ गते सम्पन्न हुनु पर्ने ईलाका प्रहरी कार्यालय देविटार अझै निर्माण सम्पन्न हुन नसकेको हो । शुरुमा १५ प्रतिशत म्याद थप गरी निर्माण शुरु गरिएको भए पनि उक्त अवधिमा पनि निर्माण सम्पन्न नभए पछि ६ महिना म्याद थप गरिएको थियो । पुनः ६ महिना म्याद थप हुँदा पनि उक्त भवन निर्माण ब्यवसायीकै लार्पवाहिका कारण सम्पन्न भएको छैन । कोभिड र बर्षातलाई कारण देखाउँदै पुनः २०७८ चैत्र मसान्तसम्म म्याद थपको निर्णय भएको छ । अन्तिम पटक थप भएको अवधीमा कार्य सक्ने गरी ठेकेदारलाई ताकेता गरिएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । ‘उक्त अवधीमा काम सक्न भनेका छौं’–एसपी खत्रीले भन्नुभयो–‘काम सक्ने अवस्था देखिएन भने कानुनी कारवाही शुरु गछौं ।’
बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै जिल्लामा रहेका प्रहरी चौकीहरु तथा प्रहरीका प्रशासनिक भवन निर्माण गर्न विनियोजन गरेको बजेट देविटार ईलाका प्रहरी कार्यालय निर्माणका लागि प्रयोग गरिएको थियो । कित्ता नम्वर ६९१ को १ रोपनी ४ आना ३ पैसा ३ दाम जमिन साविक बनखु गाविस ४ हाल महाभारत गाउँपालिका वडा नम्वर ६ स्थित गाउँपालिकाले २०७५ माघ ६ गते खरिद गरी प्रहरी कार्यालयलाई अनुदानमा उपलब्ध गराएको थियो भने कित्ता नम्वर ४ मा रहेको ९ आना २ पैसा १ दाम र ४ आना ३ पैसा २ दाम जग्गा अनुदानमा २०७६ माघ १५ गते सेलमान तामाङले निशुल्क उपलब्ध गराउनु भएको थियो । प्रहरी कार्यालयका लागि २ रोपनी ८ पैसा ६ दाम जमिन निशुल्क उपलब्ध गराईएको थियो । स्थानीयहरुले प्रहरी कार्यालयको आवश्यकता महसुस गरी निशुल्क उपलब्ध गराएको जग्गामा निर्माण हुने भवनबाट नागरिकहरुले प्राप्त गर्न सक्ने सुरक्षाको प्रत्याभुती प्रमुख उदेश्य छ । ५ करोड ८४ लाख ७५ हजार ५ सय ८६ रुपैयामा ठेक्का सम्झौता गरेको किरातेश्वर आर एण्ड सी जेभी गोकर्णेश्वर ६ काठमाडौका प्रोपाईटर यनप्रसाद अधिकारीले निर्माणको जिम्मेवारी प्राप्त गरेका थिए । आफुले प्राप्त गरेको जिम्मेवारीलाई उनले पेटी ठेकेदारका रुपमा स्थानीय ब्यवसायी समेत रहेका राजनीतिक दलका नेता गुमानसिंह लामालाई ठेक्कामा दिएका थिए । नागरिकहरुको सहभागिता र आवश्यकताका आधारमा शुरु गरिएको परियोजना समयमै सम्पन्न नहुँदा स्थानीयहरु चिन्तित छन् भने राज्यको रकम दुरुपयोग भईरहेको छ ।
भवन सम्पन्न नभएकाले प्रहरी कार्यालय अहिले ब्यक्तिको नीजि घरमा भाडा तिरेर बसिरहेको छ । एउटा सानो घरमा दुईवटा कोठा छन् । ५ फिट अग्लो ढोकामा दैनिक प्रहरीहरुको टाउको ठोक्किने गरेको छ । मासिक १० हजार रुपैया भाडा तिरेर बसिरहेको प्रहरीको ब्यारेक छैन । हतियार राख्ने सुरक्षित स्थान छैन । महिला र पुरुषका लागि अलग अलग बस्ने स्थान छैन । कार्यालय समेत सचालन गर्न कठिन परिस्थिती छ । अब बन्ने भवनमा महिला पुरुषका लागि अलग अलग ब्यारेक हुनेछ । हिरासत कक्ष पनि महिला पुरुषका लागि अलग अलग हुनेछ । ४० जना प्रहरी दरबन्दी रहने कार्यालयमा प्रहरी बस्ने आवास हुनेछ । कार्यालयमा अधिकृतहरुका लागि अलग अलग कोठाहरुको ब्यवस्था हुनेछ । क्यान्टिन र अपाङ्गमैत्री शौचालय हुनेछ । लेखा शाखा सहित बजेटको कार्यान्वन गर्ने निकाय समेत हुनेछ । महाभारत र खानीखोला सहित रोशी गाउँपालिकाका केहि भागहरुमा समेत प्रहरीले सुरक्षाको प्रत्याभुती नागरिकहरुलाई दिनेछ । समयमै परियोजना सम्पन्न गर्न ठेकेदारले आनाकानी गरेकाले पटक पटक जिल्ला प्रहरी कार्यालय काभ्रेले निर्देशन दिएको छ । लिखित तथा मौखिक निर्देशन दिँदा पनि ठेकेदारले विभिन्न कारण देखाउँदै ढिलाई गरेको हो । वर्षात्का कारण सडक बन्द हुँदा र कोभिडका कारण समयमै काम सम्पन्न नभएको बताए पनि ठेकेदारले ठेक्का बेचेका कारण निर्माण समयमै सम्पन्न हुन नसकेको इलाका प्रहरी कार्यालय देविटारका प्रमुख प्रहरी निरिक्षक गिरिराज भण्डारीले बताउनु भयो ।
जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले अन्तिम समयमा थपिएको म्याद भित्र निर्माण सम्पन्न नगरे थप कानुनी कारवाही गर्ने चेतावनी दिनु भएको छ । पटक पटक म्याद थप गर्दा समेत निर्माण सम्पन्न नगर्ने ब्यवसायीलाई कालो सूचीमा राखेर कारवाही गर्ने तयारी गरिएको छ । नागरिक, प्रहरी स्वंयम र राज्यले परियोजना समयमै सम्पन्न नहुँदा आर्थिक, ब्यवहारिक र प्रशासनिक कठिनाई ब्यहोरेका छन् ।





