तीन वर्षमा २७ पैदलयात्रीको निधन
बनेपा/ब्यापारीक नगरी बनेपाको फुटपाथ ब्यवसायीको कब्जामा छ । सडकमा ब्यवसाय गर्ने तर घरधनीहरुले भाडा असुल्ने गरेकाले पैदल यात्रुहरु जोखिममा पर्ने गरेका छन् । नगरपालिकाले पटक पटक फुटपाथ खाली गराउन गरेको प्रयास निरर्थक देखिएको छ । ट्राफिक प्रहरी र सडक विभागको वेवास्ताका कारण पैदलयात्रुले सास्ति ब्यहोरेका छन् ।
तिहार, दशै तथा अन्य चाडपर्व होस् वा नियमित अवस्थामा समेत बनेपाको फुटपाथ ब्यवसायीकै कब्जामा हुने गरेको छ । स्थानीय तहको निर्वाचन भए लगत्तै नगरका जनप्रतिनिधिहरु, प्रहरी र स्थानीयले फुटपाथ हटाउन गरेको प्रयास सफल भएन । फुटपाथका लागि निर्माण गरिएको सडक खण्डमा पनि ब्यवसायीहरुले कब्जा गरेपछि पैदल यात्रुहरु संकटमा छन् । विशेषगरी फुटपाथ अघि रहेका घरधनीहरुले भाडा लिएरै फुटपाथमा पसल राख्न लगाएका छन् । नगरपालिकाले बनेपाको सडक चौडा बनाउँदै कालोपत्रे गर्न शुरु गरे पनि फुटपाथ कब्जा गर्ने क्रम नियन्त्रण हुन सकेको छैन । ब्यवसायीसँगै सडक अतिक्रमण गरी भाडा लिने निजी यातायात ब्यवसायी पनि हुन् । भाडामा सवारी साधन लगाएर सडक अतिक्रमण गर्ने ब्यवसायीहरुलाई बसपार्कमा ब्यवस्थापन गरे पनि अटेर गरिरहेका छन् । ट्राफिक प्रहरीले पनि उनिहरुलाई हटाउने प्रयास गरेको छैन । ट्राफिक प्रहरीले बनेपा नालादोवाटो करुण मार्ग, बनेपा पनौती सडकलाई एक तर्फी पार्किङ्गको ब्यवस्थापन गरेको भए पनि फुटपाथ अतिक्रमणले अस्तब्यस्त देखिएको छ ।
ट्राफिक प्रहरीकै तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ४३ वटा सवारी घटनामा ८९ जना पैदल यात्रु घाईते भएका छन् । ९४ जना यात्रु घाईते हुँदा झण्डै त्यति नै संख्यामा पैदल यात्रु घाईते भएका छन् । २ सय ६ वटा घटनामा मुद्दा दर्ता नै नभई मिलापत्र भएको छ भने ३७ वटा मुद्दा दर्ता भएका थिए । दुर्घटनामा सवारी साधनका चालक र सहचालक ८३ जना घाईते भएका थिए भने ७ जना पैदल यात्रुको निधन भएको छ । ६ जना यात्रुको निधन भएको छ । १७ जना चालक सहचालकको निधन भएको छ । तीनवर्षको तथ्याङ्कमा ६ सय १० वटा घटनामा ५२ जना चालक सहचालकको निधन भएको छ भने ५६ जना यात्रुले ज्यान गुमाएका छन् । त्यस्तै २७ जना पैदल यात्रुले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । १ सय ५१ जना चालक सहचालक, ३ सय ८९ जना यात्रु र १ सय ९२ जना पैदल यात्रु घाईते भएका छन् । १ सय ४७ वटा मुद्दा दर्ता भए भने ४ सय ६३ वटा मुद्दा दर्ता नभई मिलापत्रमा टुङ्गिएका छन् । पैदलयात्रुको निधनमा सरोकारवालाहरुको चासो कम देखिएको छ ।





