2026 August 26/ 03:11: 03pm

    बनेपा/बनेपा नगरपालिकाका विभिन्न योजनाहरुको निरिक्षण गर्दै नगर प्रमुख लक्ष्मी नरसिं बादेले उपभोक्ता तथा ठेकदार मार्फत दुबै कामहरु समयमा सम्पन्न गर्न आग्रह गर्नु भएको छ । 
    काम गर्ने समय कम भएकाले यो वर्ष कार्तिक मसान्त भित्र ७० प्रतिशत योजना सम्झौता गरिसक्ने र फागुन भित्र योजना सम्पन्न गर्ने लक्ष्य लिएको उहाँले बताउनु भयो । खानेपानी, सडक, स्वास्थ्य चौकी लगायतका कामहरु सम्पन्न हुन लागेको बताउदै नगरका गौरवका आयोजनाहरु अन्तिम चरण पुगेको उहाँले बताउनु भयो । बनेपा नगरलाई आन्तरिक पर्यटक स्थलका रुपमा विकास गर्न चण्डेश्वरी मन्दिर देखी गोसाईथान सम्म १६ सय सिँढी निर्माण, बनेपा ११ को शान्ति पार्क, १० मा फिल्म सिटी, पद मार्ग बनेपा ९ को मगर गाँउमा बुद्धको मुर्ति तथा पार्क लगायतका योजना अन्तिम चरणमा पुगेको नगर प्रमुख बादेले बताउनु भयो । एकिकृत खानेपानी अहिले बनेपामा सञ्चालनमा आईरहेको, फोहोर ब्यबस्थापनलाई सहजीकरण गरिएको नगर प्रमुख बादेले बताउनु भयो ।  
    उपप्रमुख रेखा सापकोटा दाहालले नगर प्रदेश तथा संघ मार्फत सञ्चालनमा आएका योजनाहरुलाई नगरपालिकाले सहजीकरण गरी प्राथमिकतामा राखिएको बताउनु भयो । भौतिक विकास सँगै नगरले सामाजिक र आम नगरबासीहरुको आयस्तर उकास्नका लागी विभिन्न पेशागत तालिम प्रदान, कृषि औजार वितरण गर्दै आएको उपप्रमुख सापकोटा दाहालले बताउनु भयो । उपप्रमुख दाहालले नगर भित्रका आमाबाबु विहिन बालबालिकाहरुको नगरपालिका संरक्षक बनेको, अपाङ्ग तथा असहायहरुलाई नगद तथा सिपमूलक तालिम प्रदान गर्दै आएको, अति विपन्न बालबालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गरेको र नगरलाई छिट्टै बालमैत्री नगर घोषणको चरणमा पु¥याएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले योजना लगायतका विकासका कामहरुलाई गुणस्तरमा ध्यान दिएको बताउनु भयो । गतवर्ष कोरोनाका माहामारीमा समेत ९० प्रतिशत योजना सम्पन्न गरेको प्रमुख प्रशासकीय प्रमुख उप्रेतीले बताउनु भयो । नगरपालिकाको पहिलो दायित्व नगरबासीहरुलाई बचाउनु रहेकाले स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिई कोभिड डेडिकेटेड अस्पताल, क्वारेन्टाईन निर्माण गरीएको उहाँले बताउनु भयो । कार्यक्रममा अधिकृत शर्मिला बन्जाडे, ईन्जिनियर जय मानन्धर, प्राविधिक सन्जिब मानन्धर, नेकपा एमाले बनेपा ९ नम्बर वडा कमिटी अध्यक्ष विक्रम प्रजापति, समाज सेवी  मगंलमान प्रजापति लगाएतको सहभागिता रहेको थियो ।