तीन पुर्पक्षमा, अन्य फरार
बनेपा/आफै मृगौला विक्री गरी अन्य ब्यक्तिहरुलाई समेत ललाई फकाई छिमेकी देश भारत पु¥याई मृगौला विक्री गर्न लगाउने समुहका तीन ब्यक्तिलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्ष राख्न आदेश दिएको छ । साथै उक्त कार्यमा संलग्न अन्य ब्यक्तिलाई तत्काल पक्राउ गरी अनुसन्धानका लागि आदेश दिएको छ ।
जिल्ला न्यायाधिश महेन्द्रराज काफ्लेको इजलाशसले असोज २० गते प्रहरीले संकलन गरेका तत्कालका प्रमाणहरुबाट कसुरदार हुन भनि मान्न सकिने विश्वसनीय आधार देखिएको र अभियोग दावी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) क को अवस्था विद्यमान भएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पक्राउ परेकाहरुलाई थुनुवाका लागि पुर्पक्ष गर्ने आदेश दिएको थियो । प्रहरीले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ को दफा १३ र २३ तथा संगठित अपराध निवारण ऐन २०७० को दफा ३ (क) बमोजिमको परिभाषित कसुर अनुसार ऐनको दफा ९ (क) बमोजिमको मुद्दा दर्ता गरेको थियो । सोहि अभियोग अनुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकले थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुन्न आदेश गरेको हो ।
काभ्रेपलाञ्चोक लगायतका विभिन्न जिल्लाका विपन्न, दलित तथा गरिबको रेखामुनी रहेका ब्यक्तिहरुको मृगौला छिमेकी देश भारतका विभिन्न अस्पतालमा लगेर विक्री हुँदै आएको छ । बनेपा नगरपालिका ५ का एक युवकलाई ललाई फकाई भारतको कन्दनपुर ठिकुरीया ग्रिन पार्क भन्ने स्थानमा रहेको एमआरआई अस्पतालमा पु¥याई काठमाडौं घर भएका प्रदिप बैद्यलाई मृगौला विक्री गराउने भुम्लु गाउँपालिका ८ का माईला भन्ने कुमार परियार, पाँचखाल नगरपालिका वडा नम्वर ११ का कुमार भन्ने राजकुमार परियार र काठमाडौ कपनमा डेरा गरी बस्ने सुमन दोङ्ग भन्ने सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । २०७७ फागुन १७ गते रविओपी घर भएका युवा सहित अन्य चार जनालाई सोहि अस्पताल पु¥याएको भए पनि पक्राउ परेकाहरुले बयानमा खुलाएका छैनन् । उक्त समुहमा नाम खुलेका तर पहिचान नभएका प्रदिप भन्ने प्रदिपमान बैद्य र प्रदिप बैद्यको श्रीमती कल्पना श्रेष्ठ, दिपक घिमिरे, श्याम घिमिरे, दिलिप तामाङ र राज भन्ने ब्यक्तिलाई पक्राउ पुर्जी जारी गर्न र एकिन विवरण खुलेका बखत कानुन बमोजिम हुने गरी अनुसन्धान गरी अदालत बुझाएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले जानकारी दिनुभयो ।
पक्राउ परेका मध्ये माईला भन्ने कुमार परियारले दुई वर्ष पहिला भारतको कलकत्तामा ५ लाख रुपैयाँमा किड्नी विक्री गरिसकेका थिए भने राजकुमार परियारले ५/६ वर्ष अघि काठमाडांैमा मजदुरी गरेर पेट पाल्न नसक्ने भए पछि भारतको मुकुन्दपुर मेडिका भन्ने अस्पतालमा पुगेर बायाँ पट्टिको मृगौला विक्री गरी ५ लाख रुपैयाँ लिएका थिए । त्यस्तै चार वर्ष अघि सुमन तामाङले पनि भारतमा पुगी नक्कली नाता मामा पर्ने कागजात तयार गरी ५ लाख रुपैयाँमा विक्री गरेका थिए । मृगौला विक्री गराउने गिरोहले सरकारी छाप दस्तखत किर्ते गरी नाता प्रमाणित गरी विभिन्न माध्यमबाट भारतका अस्पताल पु¥याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक राजन कोईरालाले बताउनु भयो । बनेपाका युवालाई माईला भन्ने कुमार परियारले राजकुमार परियार मार्फत काठमाडौ पु¥याएका थिए । काठमाडौंबाट सुमन तामाङले बुटवलमा हुने दिपक घिमिरेलाई बुझाएका थिए । दिपक घिमिरेले दिलिप तामाङलाई भेटाए । २०७७ फागुन २२ गते माईला भन्ने कुमार परियार कलंकीबाट घर फर्किएका थिए भने कलंकीबाट राजकुमार परियार, दिलिप तामाङ र सुमन तामाङले बस मार्फत काँकडभिट्टबाट कलकत्ता पु¥याएका थिए । कलकत्तामा उनिहरुले नै काठमाडांै घर भई मृगौला ट्रान्सप्लान्टका लागि बसिरहेका प्रदिपमान बैद्य र निजको श्रीमती कल्पना श्रेष्ठको जिम्मा लगाएका थिए । त्यो बापत सुमन लगायतले १/१ लाख रुपैयाँ लिएको बयानमा स्विकारेका छन् । प्रहरी अनुसन्धानले नेपालबाट दैनिक मृगौला विक्रीका लागि नागरिकहरु भारत पुग्ने तर पीडितहरुले सूचना नदिएका कारण थप कारवाही र रोकथामका लागि कठिन देखिएको छ । तस्करीमा मृगौला विक्री गर्ने ब्यक्तिहरु आफै सक्रिय भएकाले पीडित र पीडक स्वयं हुने भएकाले प्रहरीकोमा उजुरी नपर्ने गरेको प्रहरीले बताएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट परिवार धान्नकै लागि कोरोना संक्रमणको अवस्थामा पनि मृगौला विक्री गर्न जानेहरुको संख्या थपिदै गएको पीडितहरुले बताएका छन् ।





