नेकपा एमाले काभ्रेले जिल्लाका अधिकांश वडाहरुको अधिबेशन सम्पन्न भएको जनाएको छ । अधिबेशन सम्पन्न गर्न जिल्ला स्तरीय नेताहरुले सहभागीता जनाएका थिए भने केहि वडाहरुमा केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, उप सचिव इन्द्र तामाङ लगायतले सम्बोधन गर्नु भएको थियो । धुलिखेल नगरपालिका वडा नम्वर ६ र ७ को वडा अधिबेशन उद्घाटन पछिको सभामा बोल्दै पुर्व मन्त्री एवं केन्द्रिय सदस्य गोकुल बास्कोटाले माधव नेपाल र प्रचण्ड प्रति आक्रोश पोख्दै माधव नेपालहरुको यात्रा मरुभुमिमा पोखरी खोज्दै हिडेको उँट जस्तै भएको बताउनु भयो । प्रचण्ड महिषासुर भएको उहाँको टिप्पणी थियो । ‘माधव नेपाल र उनको पार्टी छदमभेषी कम्युनिष्ट हुन्, मकैबारीको कालो पोके मकै, धानखेतको सामा जस्तै हुन्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘महाधिबेशन देखि महाधिबेशनसम्म कुर्न नसक्ने माधव नेपालले पार्टी र जनता प्रति अपराध गरेका छन् । यसको बदला एमालेले लिन्छ, लिन्छ ।’ एमालेको सरकार बने पनि अदालत र न्यायाधिशले सरकार ढालेको भन्दै पुर्व मन्त्री बास्कोटाले देश बनाउन र देशको समृद्धीको लागि नेकपा एमालेको नेतृत्व विना सम्भव नभएको बताउनु भयो ।
‘फेरि पनि एमालेले दुई तिहाई नजिक परिणाम ल्याउँछ, विकास र समृद्धिको एजेण्डा मात्रै होईन आधार पनि तयार गरेको छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘माओवादीको पतन अनिवार्य छ, महिषासुर हुन् प्रचण्ड ।’ कर्कलो काट्न बन्चरो प्रयोग गर्नु नपर्ने बताउँदै पूर्व मन्त्री बास्कोटाले माओवादी र समाजबादीलाई जनताले नै सकाउने बताउनु भयो । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले विचार, संगठन मजबुत बनाउँदै विगतमा भन्दा धेरै जनमत हासिल गर्ने बताउनु भयो । ‘समाजको रुपान्तरणका लागि नेकपा एमालेको विकल्प छैन’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘एमालेकै नेतृत्वमा मात्रै काभ्रेको विकास र समृद्धि शुरु भएको छ ।’ धुलिखेल नगरपालिका प्रमुख समेत रहनु भएका अध्यक्ष ब्याञ्जुले धुलिखेलको गरिबी न्यूनीकरणमा चार वर्षको अवधीमा ७२ प्रतिशतबाट ९६ प्रतिशतमा पु¥याएको, एक घर एक घारा पूर्ण हुँदै गरेका, साक्षर, खुल्ला दिशामुक्त, बालमैत्री नगरका साथै साउथ एशियामा सबै भन्दा धेरै पार्क निर्माण गरी स्वस्थ शहर निर्माण भएको घोषणा हुँदै गरेको बताउनु भयो ।
उपप्रमुख एवं बागमती प्रदेश कमिटी सदस्य विमला शर्मा, नगर अध्यक्ष विनोद पराजुली, नेता निरोज खड्का, वडा कमिटी अध्यक्षहरु सुवास श्रेष्ठ र रमणकुमार श्रेष्ठ लगायतले एमालेको नेतृत्वमा मात्रै धुलिखेलका विकास सम्भव भएको बताउनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले केहि वडा अध्यक्ष सहित अधिकांश स्थानमा विजयी हासिल गरेको थियो । धुलिखेल र श्रीखण्डपुरको प्राचीन शहर पुनर्निर्माण, सम्पदा र संस्कृतिको संरक्षणका साथै पूर्वाधारयुक्त नगरपालिका निर्माणमा नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । शनिबार नै जिल्लाका अधिकांश वडाहरुमा अधिबेशन सम्पन्न भएका छन् । अधिकांश वडाहरुमा सर्वसम्मत नेतृत्व र वडा प्रतिनिधि परिषदका प्रतिनिधिहरु छनौट भएको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । हरेक वडामा भएको अधिबेशनमा एमालेको एकताप्रति उत्साहका साथ सहभागिता भएको एमालेले जनाएको छ ।





