६ गते वडा, ९ गते पालिका अधिबेशन
लक्ष्मण तिमल्सिना
बनेपा
आगामी कार्तिक ६ गते शनिबार देशभर हुने एमालेको वडा अधिबेशनको तयारी काभ्रेमा पनि सकिएको छ । हिजो बुधबार बसेको जिल्ला कमिटीको बैठकले वडा, गाउँ र नगर अधिबेशनको तयारीका लागि जिम्मेवारी तोकेको हो । अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्देशन दिनु भएको थियो ।
बुधबार बसेको बैठकले सबै वडाका संगठति सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको अनुमोदन गरेको छ । यो अधिबेशनमा २५ हजार भन्दा धेरै संगठित सदस्यले भाग लिने बताईएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुका अनुसार केहि वडामा सम्पन्न अधिबेशन पनि असोज ६ गते नै घोषणा हुनेछ भने बाँकी सबै वडामा एकै दिन अधिबेशन सम्पन्न हुनेछ । ६ गते अधिबेशन सम्पन्न भए लगत्तै नगर र गाउँ कमिटीको अधिबेशन हुनेछ । वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर र गाउँ कमिटी चयन गर्नेछन् । पनौती ९, बनेपा ७ र ११, रोशी ६ र नमोबुद्ध ३ मा भने यस अघि नै वडा अधिबेशन सम्पन्न भई सकेका छन् । नयाँ विधान अनुसार एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव २ जना सहित ३१ सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । १३ वटै पालिका र १ सय ३५ वटै वडामा सर्वसम्वत पदाधिकारी चयनको तयारी गरिएको छ । अधिबेशनका लागि सबै वडा र पालिकामा प्रतिनिधि खटाईएको छ । जिल्ला निर्वाचन आयोगले सबै स्थानको निर्वाचनका लागि आवश्यक ब्यवस्थापन गर्नेछ ।
यस अघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा घोषणा पछि अधिवेशन नभएका कारण एकै पटक कात्तिक ६ गते देश भरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिने गरि तयारी गरिरहेको छ । काभ्रेका केहि वडाहरु जुममा सहभागि हुनेछन् । एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यस भन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् । यो अधिबेशनमा प्यानलगत प्रतिस्पर्धालाई निषेध गरिएको छ भने ब्यक्तिगत प्रतिस्पर्धालाई खुल्ला गरिएको छ । अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठक सचिव नारायण पाण्डेले सम्पन्न गर्नु भएको थियो ।





